अन्डरवल्र्ड चलाएर धम्की र गोली प्रहार, कहाँ छन् हत्याको जिम्मा लिने पुन ?

काठमाडौं । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरूले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्दै छ ।’ पुनका सहयोगीहरूले दिएको सूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन । सो समूहमाथि नौ महिनासम्म सार्थक
हस्तक्षेप हुन नसक्दा सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या भएको छ ।काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सो समूहका लोप्साङ तामाङले फोन गरी घटनाको जिम्मेवारी लिइसकेका छन् । केही महिनाअघि दावा लामामाथि गोली हानेको घटनामा पनि उनले फोन गरेर जिम्मेवारी लिएका थिए ।

घटना प्रकृति पनि भारतमा बसेर नेपालमा असुली आतंक मच्चाउँदै आएका मनोज पुनसँग मिल्दछ । सो समूहले केही महिनायता ठूला ठेकेदारहरूलाई धम्क्याउँदै गोली हानेर तर्साउने र पछि पैसा माग्ने गरेको छ । बुटवलमा पनि तिवारीको हत्यापछि व्यापारीहरूलाई धम्क्याउँदै करोडौँ पैसा असुलेका थिए ।सुरक्षाको दृष्टिकोणले गौचनलाई गोली हानी आपराधिक समूहका व्यक्ति सहजै भाग्न सफल हुनु पनि प्रहरीको गम्भीर त्रुटि हो ।

राजधानीको मुख्य क्षेत्रबाटै उनीहरू सहजै भाग्न सफल भए । कतिसम्म भने घटनास्थलमा प्रहरी करिब १५ मिनेटपछि मात्र पुगेको थियो । नजिकै सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको घरको सुरक्षामा खटिएका प्रहरीले पनि आक्रमणकारीलाई पक्राउ गर्न तदारुकता देखाएनन् । प्रहरी संगठनभित्रको चरम राजनीतिले पनि यस्तो घटना जन्माएको प्रहरी अधिकारीहरू बताउँछन् ।आजको नयाँ पत्रीकामा खबर छ

कहाँ छन् पुन ?

प्रहरीको अनुसन्धान पुनतर्फ नै केन्द्रित छ । भारतमा बसेर उनले नेपालमा धम्की र गोली प्रहारको शृंखला चलाउँदै आएका छन् । उनको प्रमुख उद्देश्य नै ‘अन्डर वल्र्ड’ चलाएर पैसा असुल्ने रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । भारतको गोवा, दिल्ली तथा बैंगलोरमा उनी ठाउँ फेरीफेरी बस्दै आएका छन् । इन्टरनेट कल मात्र प्रयोग गर्ने भएकाले उनलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ ।

पुनको समूहमा कुनै समय काठमाडौंमै गुन्डागर्दीमा संलग्न समीरमानसिंह बस्नेतसमेत छन् । रसियन युवतीसँग बिहे गरेका उनले भुटानको पासपोर्ट लिइसकेका छन् । उनले ठूलो सञ्जाल बनाइसकेका छन् । बस्नेतलाई पक्राउ गर्न सिआइबीले पटक–पटक विशेष टोली बनाए पनि सफल हुन सकेको छैन । सुरुमा डिएसपी रुगम कुँवर र पछि प्रवीण पोखरेलले अनुसन्धान गरेका थिए । तर, दुवैजनाको बीचमै सरुवा भएपछि अनुसन्धान प्रभावित भएको हो । प्रहरीले नै गम्भीरताका साथ पुनमाथि अनुसन्धान नगर्दा सोमबारको घटना भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

घरबाट निस्किएलगत्तै सडकमा गोली प्रहार

घरबाट निस्किएलगत्तै शान्तिनगरको प्रयागमार्ग चोकमा गौचन चढेको बा.१३च ४९४८ नम्बरको गाडीमा गोली प्रहार भएको हो । गाडी उनका चालक कुमार खत्रीले चलाएका थिए । मास्क लगाएका एक व्यक्तिले चालकतर्फको झ्यालमा इँटाले हानेपछि उनले गाडी रोकेका थिए । लगत्तै अर्का युवकले गौचनलाई ताकेर दुई राउन्ड गोली हानेका हुन् । गोली हानेपछि उनीहरू दौडँदै भागेको चालक खत्रीले बताएका छन् ।

उपचारका लागि सिभिल अस्पताल पु¥याउने क्रममा उनको मृत्यु भयो । गौचनको मुटु र फोक्सोमा गोली लागेको थियो । पैसा माग्दा नदिएपछि संगठित आपराधिक समूहले उनको हत्या गरेको प्रहरीले जनाएको छ । उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक पनि हुन् ।

न्यायाधीश बम हत्यापछिको हाइप्रोफाइल हत्या

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यापछि यो नै राजधानीमा भएको अर्को हाइप्रोफाइल हत्या हो । १८ जेठ २०६९ मा ललितपुरको युएन पार्कनजिकै बमको हत्या भएको थियो । यसबीच आपराधिक समूहबाटै योजनाबद्ध रूपमा हत्या भएको थिएन । यो घटनाले राजधानीको सुरक्षा अवस्था उदांगो बनाइदिएको छ भने सर्वसाधारणले असुरक्षित महसुस गरेका छन् ।

 

घटनालगत्तै लामालगायतलाई पनि फोन

– गौचनलाई गोली हानेको एक घन्टापछि निर्माण व्यवसायीसमेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आएको थियो । सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए । ‘मलाई नो कल आइडीबाट चारपटक फोन आयो,’ उनले भने, ‘एक करोड रुपैयाँ माग्दै उनीहरूले धम्क्याएका छन् ।’

– डेढ महिनाअघि पैसा माग्दै पनि आफूलाई फोन आएको लामाले बताए । लामा, रोशन दाहाल, मुकेश पन्तलगायतका व्यवसायीलाई समेत पैसा माग्दै धम्कीपूर्ण फोन आउने गरेको छ । यो घटनाले देशमा बस्नै डर लागेको लामाले बताए । धम्कीपछि उनले गृहमन्त्री जनार्दन शर्मा र आइजिपी प्रकाश अर्याललाई भेटेर जानकारी गराएका थिए ।

Powered by Facebook Comments