अन्तर्घातीलाई अब छाडिन्न : सभापति कोइराला

काठमाडौं :
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित अन्तर्घात गर्नेलाई कडा कारबाही गर्ने बताएका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०४ औँ जन्मजयन्तीका अवसरमा बिपी संग्रहालय समितिले सुन्दरीजलमा आयोजना गरेको बिपी कोइराला प्रजातान्त्रिक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने–‘अन्तरघात नभए अबका सबै निर्वाचनमा काँग्रेसको जित निश्चित छ, अन्तरघातलाई अब सहिन्न, कडा कारबाही हुन्छ ।’
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले बिपी कोइरालाले देखाएको बाटोमा हिँडे राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सबल हुने बताए । बिपीले विश्व समुदायमा साना देशका ठूला नेताको छवि बनाएको बताए ।
कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि, पर्यटन र जलस्रोतका सम्भावनालाई यथार्थतामा परिणत गर्नसके बिपीले देख्नुभएका सपना साकार हुने बताए । उनले भने–‘बिपीको नाममा धेरै संस्था खुलेका छन्, तिनले उपलब्धिमूलक काम गर्न सक्नुपर्छ, बिपी विचार केन्द्रको अभैm आवश्यकता छ ।’
कार्यक्रममा ‘बिपी कोइराला प्रजातान्त्रिक पुरस्कार’ सांसद एवं समाजवादी चिन्तक प्रदीप गिरीलाई प्रदान गरिएको थियो भने ‘प्रजातन्त्र सेनानी सम्मान’ पूर्वसांसद लेखनाथ न्यौपानेलाई प्रदान गरिएको थियो । दुवै पुरस्कारको राशि नगद रु एक–एक लाख र सम्मानपत्र छ ।
कार्यक्रममा सांसद दीपक खड्का, सम्मानित व्यक्तित्व पूर्वसांसद न्यौपाने, पूर्वसांसद एवं नेपाली काँग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेत, नेबि संघका अध्यक्ष नैनसिंह महर, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र संग्रहालयका अध्यक्ष परशुराम पोखरेल लगायतले बिपीको प्रजातान्त्रिक समाजवादी विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए ।

Powered by Facebook Comments