आसन्न निर्वाचन राष्ट्र निर्माणको महत्वपूर्ण अवसर : राष्ट्रपति

काठमाडौं :
राष्ट्रपति बिद्यादेवी भण्डारीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई राष्ट्र निर्माणको महत्वपूर्ण अवसर भएको बताएकी छन् । स्वर्गीय नेता गणेशमान सिंहको १०३ औं जन्म जयन्तीको अवसरमा गणेशमान फाउण्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आम मतदातालाई आसन्न निर्वाचनलाई राष्ट्र निर्माणको महत्वपूर्ण अवसरको रुपमा लिन आहृवान गरेकी हुन् ।
सबै तहको निर्वाचन सम्पन्न भएपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने, संघीय लोकतन्त्र गणतन्त्र संस्थागत हुने र मुलुक आर्थिक–सामाजिक रुपान्तरणको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधानले निर्देश गरे अनुसार संविधान कार्यान्वयनमा दलहरु प्रतिवद्ध भएर अघि बढेकोमा खुसी पनि व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले स्वर्गीय गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको नेतृत्वदायी भूमिका नेपाल र नेपाली जनताको स्मृतिमा सदा ताजै रहने पनि उल्लेख गरिन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई ‘जन–आन्दोलन स्वर्ण पदक–२०७४’ बाट अभिनन्दनसहित विभूषित गरेकी थिइन् ।

Powered by Facebook Comments