कहाँ चुक्यो हाम्रो मिडिया ?

binod-dhakal– विनोद ढकाल
आत्महत्या भनेको मान्छेले भगवानलाई भन्ने एउटा बाटो हो की भगवान तिमी मलाई नसिध्याऊ, म आफैं त्याग्न तयार छु । हरेक मान्छे अन्तिम अवस्थामा वा समस्यामा परेको खण्डमा भगवानलाई सम्झने गर्दछन् । हिन्दुहरु हे इश्वर१ भन्छन्, ख्रिष्टियनहरु हे प्रभु१ मुस्लिमहरु हे अल्लाह१ भन्छन् । यो हर मानव जीवनमा संकटका समयमा मुखमा र मनमा आउने दैवी शक्तिको प्रभाव र लगाव नै हो । तर, मान्छे जसरी संकटमा पर्दा भगवान सम्झन्छ, संकटमा पार्दा आत्मग्लानी गर्दैन । माफी र आफ्नो गल्ती स्वीकार्न तयार हुँदैन । यो पनि स्वभाव नै हो । अझ पत्रकारितामा त माफी भन्ने माग्नै हुन्न, सकभर आफ्नो गल्तीलाई पनि सही बनाउन प्रमाणहरुको साहरामा अघि बढ्नुपर्छ भनेर सिकाइन्छ । यदि गल्ती सावित हुने अवस्था छ भनेचाहीँ सामान्य ढंगले माफी माग्नुपर्छ भन्ने मान्यता स्थापित गरिएको छ ।
माफीको सन्दर्भ पत्रकारिता पेसासँग निक्कै सकसपूर्ण नै छ । पत्रकारिता विश्वासको आधार भएको पेसाका कारण त्रुटी हुनु भनेको जोखिम मोल्नु हो पनि भनिन्छ । सैद्धान्तिक रुपमा पत्रकारितामा त्रुटी निक्कै कम बनाइन्छ । पत्रकारिता सिकाउँदा नै सिकायतरहित समाचार, अन्तरवार्ता र फिचरहरू बनाउने तरिका पत्रकारिताका गुरूहरूले सिकाउँछन् । विश्वबजारमा पनि यहि मान्यतामा पत्रकारिता अडिएको छ । राष्ट्रको हितबाहेकमा पत्रकारिता सन्तुलित समाचार पस्कने पेसा हो । तर, अहिले त्यसो नभएको, हुन नसकेको र गराउने चेष्टा नभएका विभिन्न आधारहरु देखिन्छन् । हाम्रो सन्दर्भमा भन्ने हो भने मिडिया हाउसका असन्तुलित र अस्वस्थ्यकर प्रतिस्पर्धा, नक्कल समाचारीय सद्भाव अनि अति राष्ट्रवाद यसका कारक देखिन्छन् । अर्कोथरी कारक हो, गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैर सरकार संस्थाको मुद्दाका आधारमा प्रेरित पत्रकारिता ।
नेपालीहरू बहुसंख्यकका आधारमा जोडिएको सामाजिक सञ्जालमा केही दिन यता पत्रकारिता माथिको बहस नै चलेको थियो । सन्दर्भ हो– कञ्चन शर्मा रेग्मीको कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘सुमनसँग’को अन्तरवार्ताका क्रममा पेस गरिएका दलिलहरू । रेग्मीका दलिलहरू र अन्तरवार्ताकार अनुभवी पत्रकार तथा सम्पादक सुमन खरेलले खोज्न छुटाएको एउटा पाटोको विषय । सम्पादक सुमन खरेल अहिले वडो चिन्तामा छन् । उनले समाज परिवर्तनको पक्षमा ‘लो प्रोफाइल’मा रहेका पात्रहरूको आवाज राज्यसम्म पु¥याउने एउटा कार्यक्रम सुरु गरे । तर, उनलाई पहिलो गाँसमा माटो र दोस्रो गाँसमा ढुंगा लागिसकेको छ । पहिलो, तरकारीवालीका नाममा समाजिक सञ्जालमा प्रख्यात भएकी कुसुम श्रेष्ठको अन्तरवार्ता, जुन लो प्रोफाइल भन्न मिल्दैन । अनि, दोस्रोचाहीँ रेग्मीको अन्तरवार्ता जहाँ अन्तरवार्ताकारका केही कमजोरीले उजागर गरेका फरक पाटाका तथ्यहरू । सम्पादक खरेलले सामाजिक सञ्जालमार्फत रेग्मीका परिवारहरु मोहन रेग्मीलगायतका विचार ल्याउने पनि बताए तर विषयले नेटो काटेपछि । त्यहि अन्तरवार्ताका क्रममा या प्रशारण हुनुअघि यहि सूचना जारी गरिएको भए वा चनाखो भइदिएको भए, अहिले सामाजिक सञ्जालमा पत्रकारिताको विषयमा टिप्पणी उठ्ने थिएनन् । सम्भवतः यो आलेख पनि तयार हुने थिएन ।
रेग्मी प्रकरण विभिन्न मिडियाको बहस जस्तो भयो । कतै प्रश्न उठे, कतै उत्तर खसे । इन्टरनेट पुस्ता सम्भवतः यसमा जानकार नै छ । तर, यसमा उठाउन खोजेको प्रश्न के भने, इन्टरनेट पुस्ता सूचनामा तेज छ, तथ्यमा कमजोर पनि छ ।
जुन सम्पादकले अहिलेको पाठकलाई कमजोर, वेवकुफ र गणेशमानका जनता ठान्दछ, उसले पत्रकारिता नगरेको बेस हुन्छ । अहिलेको नेपाली पाठक नेपाली पत्रकारहरु भन्दा निक्कै तेज छन् । अझ सूचनाको हकमा त अहिलेको पुस्तासँग स्पर्धा हुनै सक्तैन । यद्यपि, सामाजिक सञ्जालमा रहेका नेपाली पाठकसँग एउटा कमजोरी रहेको छ । कुनैपनि मिडियामा आएको सूचनाको क्रसचेक नगरी त्यसको भनाईका आधारमा कसैको जीवनकै तिलाञ्जली हुनेगरी आउने प्रतिक्रिया । सामाजिक सञ्जाल पनि संयमित र भयभित हुन आवश्यक छ । नेपालमा विद्युतीय कानुन कमजोर भयो भन्दैमा हामीले आफ्नो नैतिकताको अवमुल्यन गरेर कसैको परिवार, उसको भविष्य र पर्नसक्ने भवितव्यलाई नजरअन्दाज गरेर हिँड्यौं भने हामीमा मानवता रहँदैन ।
अहिले विश्वमा सवैभन्दा शक्तिशाली बनिरहेको छ, नागरिक पत्रकारिता । सामाजिक सञ्जालमा छाएका सवैलाई लाग्दो यो मेरो नीजि भावना म लेखिरहेको छु । तर, त्यो एउटा भयानक शक्तिशाली पत्रकारिता हो । त्यो सूचनाको खेती हो । जसले एउटा विश्वसमुदायमा सूचनाको खेती गर्छ, त्यो पत्रकारिता नै हो । बस, त्यसका लागि पत्रकारिता पढ्न पर्दैन, कुनै अखबारमा काम गर्न पर्दैन र कुनै मिडियाप्रति जवाफदेही हुन पर्दैन । तर, आफ्नो आत्मा र विश्वसमुदायमा जवाफदेही हुनुपर्छ । एउटा सोसियल नेटवर्कमा हामीले प्रचार गरेको सानो गलत सन्देशले कसैको जीवन र मृत्युको निर्णयार्थ प्रभावकारी काम गरिरहेको हुन्छ भने हामी आफ्नो नैतिक चरित्रप्रति जवाफदेही हुनपर्छ । यदि त्यसो गर्ने हिम्मत र क्षमता राखिँदैन भने, हामी मास मिडियाबाट टाढा बसौं या मास मिडियामा गलत सूचना प्रवाहको बानीलाई नियन्त्रणमा राखौं, सकिन्छ भने सामाजिक धरातल र नैतिकताको जगमा उभिएर सक्रिय बनौं ।
सत्य कहिले पनि कमजोर हुँदैन । झूठका माथि अनेक झूठहरुको थाक लागिरहेको हुन्छ । तर, सत्य कमजोर नै सही सानो देखिन्छ तर अडिग । झूठको थाक यति अग्लो हुन्छ की त्यो थामिन नसकेर ढल्छ र सत्यभन्दा निक्कै तल्लो सतहमा पुग्छ । त्यसकारण सत्य र तथ्यको आधारमा मात्र नेपाली नयाँ पुस्ताले प्रतिक्रियावादी भएको राम्रो हुन्छ । लहड र हावाको वेगको आधारमा सामाजिक सञ्जालमा कमेन्ट र लाइकका लागि हतार गर्दा मानवीय संवेदनामा हामी कहिँ कतै चुकिरहेका छौं कि रु
समाजलाई अतिरञ्जित हुनेगरी भएका कर्ममा मैले पत्रकारहरुले सामाजिक रुपमा माफी मागेको देखेको छैन । न सुमन खरेलले मागे, न जीवराम भण्डारीले माफीका शव्द कोरेका थिए । मिडियाको उपयोग गर्दा भुल भएको विषयमा न दिक्षा चापागाइले गरिन् न कञ्चन रेग्मीले गरिन् । न रेग्मीका परिवारले गरे, न मोहन रेग्मीले नै जीवनको कालखण्डमा भएका एकाध गल्ती अगाडी सारेर माफीको चाहना गरे । सामाजिक सञ्जालमा मोहन रेग्मीको परिवारलाई नै डिप्रेशनमा पार्ने तस्विर सार्वजनिक गर्ने न सामाजिक अभियन्ताहरुले नै आफ्नो गल्तीको पश्चाताप गरे । यी सवै घटनाहरुले के देखाउँछ भने हामी नैतिक रुपमा अर्काको चरित्रमा प्रश्न उठाउन तयार छौं तर आफ्नो गल्तीमा सामान्य आत्मग्लानी गर्ने चरित्रको निर्माण गर्न सकेका छैनौं । हामी दुनियाँभरी व्यवाहार परिवर्तनको शिक्षाको कुरा गर्छौं, हामीमा ज्ञानको तह भएपनि विचार, संश्लेषण गरी व्यवाहार परिवर्तन गर्नसक्ने आत्मशक्ति कमजोर बनिसकेको छ ।
यसकारण हामी पत्रकार, हाम्रो पत्रकारिताको विषयमा दुनियाँले उठाएको प्रश्नमा अनुत्तरित हुन सक्तैनौं त्यसको जवाफदेहिता नै हाम्रो पेसागत धर्म हो, नेतिकता हो । विश्वसमाजमा हाम्रा कर्महरु गलत छन् भने त्यसलाई गलत भनी माफी माग्नुपर्छ । सूचनाको सानो गल्तीका कारण हामीले मानव जीवनमा भोग्न बाध्य बनाएका अमानविय व्यवाहारको दोषी बन्ने कि नबन्ने रु जिम्मा लिने कि नलिने रु अनि, एउटा सरल र व्यापक समाज बनेको विश्वसमुदायको साझा घर सामाजिक सञ्जालमा सक्रिय पुस्ताले तथ्यलाई तोडमोड गरी कसैको जीवनलाई सिध्याउने खेल बन्द गर्ने कि नगर्ने रु यदि यहि क्रम जारी रहीरह्यो भने मिडिया, सोसियल मिडियाप्रति लगाव होइन, द्वेष उत्पन्न हुनसक्छ, यो अवस्थाप्रति सवै सचेत बनौं ।

Powered by Facebook Comments