गरिबीविरुद्ध लड्न दक्षिण एसियाली मुलुक मिलेर सार्क ग्रिड स्थापना गर्नुपर्नेमा जोड

काठमाडौं ।  नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सहयोग, संभावना तथा चुनौतिबारे सम्मेलन सम्पन्न भएको छ । थिंक ट्यांक संस्था एसियन ईन्स्टिच्युट अफ डिप्लोमेसी तथा इन्टरनेशनल अफेयर्स ( एआइडिअाईए )  र  बंगलादेश दूतावासको संयुक्त आयोजनामा सोमबार ठमेलस्थित  मल्ल होटलमा  नेपाल-भारत र बंगलादेशबीच आर्थिक सहयोगको संभावना र चुनौतिहरुको बारेमा छलफल भएको हो ।

कार्यक्रममा बंगलादेशका प्रधानमन्त्री सेख हसिनाका अन्तर्राष्ट्रिय मामिलासम्बन्धी सल्लाहकार  डा.गोवर रिजवीले  नेपाल, भारत, बंगलादेश र भुटानबीच ऊर्जामा सहकार्य हुनुपर्नेमा पनि जोड दिए । ‘साना छिमेकी मुलुकहरूको स्थायित्व र सम्पन्नतामा भारत र चीनको साझा रुचि छ, हाम्रो साझा शत्रु गरिबीविरुद्ध उनीहरूसँग सहकार्य गर्नुपर्छ र सम्पन्नता तय गर्नुपर्छ,’ रिजवीले भने, ‘गरिबीविरुद्ध लड्न हामीले प्राकृतिक स्रोतहरूको उपयोगका लागि साझा सहकार्य गर्नु आवश्यक छ । ’दक्षिण एसियाको आर्थिक वृद्धिमा बाधक तत्व ऊर्जा रहेको भन्दै रिजवीले यो क्षेत्रमा देशहरूबीच सम्पर्क सञ्जालमा समेत मिलेर काम गर्नुपर्ने बताए ।

रिजवीले दक्षिण एसियाली मुलुक मिलेर सार्क ग्रिड स्थापना गर्नुपर्ने र ऊर्जामा साझा काम गर्नुपर्नेमा  जोड दिए  । ‘बंगलादेशले १५ हजार मेगावाट बिजुली उत्पादन गर्न सक्छ, भुटान, भारत र बंगलादेश मिलेर भुटानमा एक हजार मेगावाट बिजुली उत्पादन गर्ने सहमति गरेका छौँ,’ रिजवीले भने, ‘नेपाल, बंगलादेश, भुटान र भारतबीच साउथ एसिया पावर ग्रिड स्थापना भएको अवस्थामा श्रीलंका, पाकिस्तानसहित अरू देशले पनि लाभ लिन सक्छन् ।’ भुटान र नेपालसँगको कनेक्टिभिटीमा बंगलादेशले प्राथमिकता दिएको उनको भनाइ थियो । ‘हाम्रो चटगाउँ र बंगलापोर्टमा नेपाल र भुटानलाई एक्सेस दिने भनिसकेका छौँ, यसबाट दुई देशको समुद्रसम्मको पहुँच सुनिश्चित हुनेमा हामी विश्वस्त छौँ,’ सल्लाहकार रिजवीले भने ।

वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नेपाल उपक्षेत्रीय र क्षेत्रीय सहकार्यमा प्रतिबद्ध रहेको बताए । परराष्ट्रमन्त्रालयका सहसचिव भृगु ढुंगानाले नेपाल, भारत, बंगलादेश र भुटानबीच उपक्षेत्रीय सहकार्यका लागि वर्किङ ग्रुप गठन भएको र तीन चरणको बैठक पनि सम्पन्न भएको बताए ।

पूर्ववाणिज्यसचिव पुरुषोत्तम ओझाले विगतमा भएका सम्झौता र सहमति कार्यान्वयन हुनुपर्ने बताए । भुटान तयार नभए पनि तीन देशले मोटर भेइकल एग्रिमेन्ट कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।

भारतीय दूतावासका उपनियोग प्रमुख डा. अजय कुमारले क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यका लागि भारतको प्रतिबद्धता दोहोर्‍याए । एआइडिअाईएका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनील केसीले विशिष्ट वक्ता र अतिथिप्रति कृतज्ञता व्यक्त गर्दै सम्बन्धित देशका सरकारले गम्भिरतापुर्वक त्रिपक्षीय सहयोगको लागि साझा सहकार्य गरेको खण्डमा आर्थिक वृद्धि हुने वताएका थिए  ।

 

 

Powered by Facebook Comments