गाउँ–गाउँमा आर्थिक क्रान्तिको किरण छर्ने अभियानमा छु

विष्णु प्रसाद धिताल, सञ्चालक –एनसीसी बैंक एवम् युवा नेता – नेपाली कांग्रेस

वि.सं. २०२५ सालमा लमजुङको दुधपोखरीमा जन्मनु भएका विष्णु प्रसाद धिताल अहिले नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) को सञ्चालक हुनुहुन्छ । सफा टेम्पुबाट व्यवाय शुरु गर्नुभएका धिताल बैंकिङ सेयर, जग्गाहरु किनबेच गर्दै रारा विकास बैंक, एपेक्स डेभलभमेन्ट बैंक हुँदै एनसीसीको निर्देशक बन्न सफल हुन भएको छ । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनु भएका धितालले पढाई र व्यवसायलाई सँगसँगै लैजानु भएको छ । विए, विएल र समाजशास्त्रमा एमए गर्नुभएका धिताल आफूलाई मुलुकको विकास कसरी गर्न सकिन्छ र मुलुकलाई कसरी आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ भन्ने विषयले पिरोली रहेको बताउनु हुन्छ ।
सरकारले नै गर्नुपर्छ भनेर मुख ताक्ने भन्दा पनि सबैले आ–आफ्नो स्थानबाट देशको विकासका लागि पहल गर्नुमा उहाँ जोड दिनुहुन्छ । मुलुकको वर्तमान अवस्था, नेपाली कांग्रेसको भविश्य, आर्थिक क्रान्तिका विषय, बैक तथा वित्तिय संस्थाहरुको पछिल्लो अवस्था, एनसीसी बैंकको अवस्था, नेपालमा विद्युतिय सवारीलगायतका विषयमा माइन्युज नेपालका लागि लागि कुमार भण्डारीले गरेको कुराकानी:
बैंक तथा वित्तिय संस्थाहरुको पछिल्लो अवस्था कस्तो छ ?
– बैंक तथा वित्तिय संस्थाहरुको पछिल्लो अवस्थालाई हेर्दा एकदमै राम्रो पनि देखिदैन र नराम्रो अवस्थामा चलिरहेको छ भन्न पनि मिल्दैन । धिमे गतिमा चलिरहेको अवस्था छ । जुन गतिमा अगाडि बढ्नु पर्ने हो, त्यो गति लिन सकेको छैन ।
के कारणले यस्तो भएको हो ?
– यसको सबैभन्दा जड राजनीतिक समस्या नै हो । मुलुकको परिस्थिति नै अस्थिरता भएको बेलामा बैंक तथा वित्तिय संस्थाहरुले फड्को मार्ने संभावना न्यून रहन्छ । राजनीतिक स्थिरता नभएसम्म आर्थिक रुपमा पनि स्थिरता आउन सक्दैन । बाहिर जति राम्रो भनिएता पनि वास्तविक भित्रि रुपमा भने त्यो छैन ।
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिप्रति तपाईंको धारणा के हो ?
– अहिलेको मौद्रिक नीतिलाई म ठिकै मान्छु । मुलुकलाई चेक एण्ड ब्यालेन्समा लान खोजिएको छ । व्यवसायीहरुले भने ब्याज नघटाएकोप्रति आपत्ति जनाएका छन् । वास्तवमा भन्ने हो भने मौद्रिक नीतिले नेपालको अर्थतन्त्र वा सरकारको आर्थिक नीतिलाई केही सपोर्ट गरेपनि कायापलट नै गर्ने खालको ठोस रणनीति चाहिं ल्याउन सकेको छैन । तर, गाउँ–गाउँसम्म वित्तिय क्षेत्रको पहुँच पु¥याउने लक्ष्य भने राम्रो पक्ष हो ।
त्यसो हो भने कस्तो आउनु पथ्र्यो त मौद्रिक नीति ?
– हाम्रो मुलुक कृषि प्रधान भएपनि मौद्रिक नीति कृषि क्षेत्रप्रति उदासिन देखिएको मैले पाएको छु । नेपालका बैंक तथा वित्तिय क्षेत्रहरुले अब कृषि क्षेत्रमा लगानी बढाउनु पर्छ । मौद्रिक नीति पनि त्यहि अनुसारको आउनु पर्दथ्यो । सरकारले अब बैंक तथा वित्तिय संस्थाहरुलाई गाउँ गाउँका जनताहरु आफै मालिक बनेर काम गर्ने, खाडिमा पसिना वगाउन जानु नपर्ने, मुलुकको आर्थिक अवस्था पनि उकासिनेलगायतमा लगानी बढाउन प्रोत्साहित गर्नुपर्छ । त्यसका लागि गाउँ–गाउँमा पुगेर ऋण दिने व्यवास्था मिलाइनु पर्छ । किसानहरुलाई ऋण नै दिएर भएपनि काम गर्ने वातावरण सिर्जना गराउनु अहिलेको आवश्यकता हो ।
कृषि पेशामा लागेका सबै किसानहरुलाई ऋण उपलब्ध गराउन सम्भव छ ?
– सम्भव हुनुपर्छ, अनिमात्र विकास हुन्छ र आर्थिक क्रान्ति हुन्छ । सबै भन्दा पहिले त गाउँ–गाउँमा सडक विस्तार गरिनुपर्छ । र अर्को कुरा गाउँका किसानहरुलाई पनि उनीहरुको त्यहि बाटो नभएको जग्गा राखेर भएपनि ऋण उपलब्ध गराउने वातावरण बन्यो भने उनीहरु आफै काम गरिहाल्छन् नि । कृषि मात्र नभई साना उद्योगहरुमा लगानी गर्ने वातावरण सरकारले तयार पार्न सक्नुपर्छ । पशुपालन, माछा पालन, बेत तथा बाँसबाट निर्माण हुने सामाग्रिहरु, उखु खेती, अलैची खेतीलगायतमा ऋण दिन सकियो भने कृषहरुको पनि आर्थिक अवस्था उकासिनेमा दुईमत छैन ।
तपाईले भनेजस्तो वातावरण त देखिदैन नि अहिले ?
– हो, म त्यहि त भन्न खोज्दै छु । त्यहि अवस्था छैन र त हामीले अब पहल गर्नुप¥यो । सरकार, राजनीतिक दल, उद्यमी व्यवसायीहरुको यताधिर ध्यान नै छैन । युवाहरु विदेश पलायन भइरहेका छन् । अनी कसरी बन्छ वातावरण ? त्यसैले हामी आफै अब जागरुक हुनुपर्छ । समूह बनाएर काम गर्ने हो भने यो सम्भावना छ ।
तर, बैंकरहरुले त मौद्रिक नीतिलाई सकारात्मक रुपमा लिएका छन् नि ?
– बैंकहरुको व्याजदर घटेको छैन । त्यसैले पनि सकारात्मक नै छन् नि । बैंकहरुले पनि सोस्ने काम मात्रै गर्नु हुँदैन । बैंकहरुलाई अहिले ‘टाइ लगाएका गुण्डा’ को संज्ञा दिइएको छ । त्यस्तो हुनु भएन । सेवा मुलक हुनुपर्छ वित्तिय संस्थाहरु पनि । बैंकले खाली कमाउन मात्र सोच्नु हुँदैन ।
गाउँका व्यक्तिहरुले ऋण लिने वातावरणको सिर्जना कहिले हुन्छ त ?
– बैंकिङ क्षेत्रमा पनि माफियाहरुको जगजगी छ । माफिया जो सम्पूर्ण कागजात मिलाएर अरबौं ऋण लिन्छ र उसले तिर्दैन । जो थोरै ऋण लिएर काम गर्न चाहन्छ, उसले कागजात नै मिलाउन जान्दैन अनि ऋण पाउनबाट बञ्चित हुन्छ । गाउँघरका व्यक्तिहरुमा अझै पनि ऋण लिनु हुँदैन, तिर्न सकिदैन भन्ने सोच रहेको छ । त्यसलाई हटाउन सक्नुप-यो । सजिलै ऋण लिएर काम गर्ने वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य हो ।
मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न के गर्नु पर्ला ?
– आर्थिक अवस्था सुधार गर्न आर्थिक क्रान्तिकै आवश्यक छ । राजनीति दलहरुले पनि भाषणमा मात्र नभई काम गरेर देखाउन सक्नुपर्छ । आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर गाउँ–गाउँमा पठाउन सक्नुपर्छ । कृषि मन्त्रालयल, उद्योग मन्त्रालय र त्यसका मातहत रहेर सञ्चालन हुँदै आएका संस्थाहरुले साना घरेलु उद्योगहरुलाई उकास्ने, पशुपालन, माछा पालन, नगदेवालीहरु, बेमौसमी खेतीहरु लगाउन प्रोत्साहन गर्नुपर्छ र बैंक तथा वित्तिय संस्थाहरुले पनि कोही व्यक्तिले काम गर्छु भन्छ भने उसलाई आवश्यक मापदण्ड तयार गरेर ऋण दिने वातावरण सिर्जना गर्न सक्नुपर्छ । गाउँ–गाउँ पुगेर बैंकले तपाईहरुले यो काम गर्नुभयो भने हामी ऋण दिन्छौं भन्न सक्नुपर्छ । यसो गर्ने हो भने नेपाली युवाहरु च्याउ खेती गरेका गाउँमा मालिक भएर बस्छन् नि, किन विदेशमा कुल्लीको काम गर्न जान्छन् र ?
तर, यहाँ त कुन चाहिं ठेक्क पट्टा ठूलो छ, कहाँबाट कमिसन बढि आउँछ भन्नेतर्फ मात्र ध्यान छ अनि कहाँ हुन्छ विकास ? मैले भन्न खोजेको के हो भने एउटा गाउँको किसानले बाख्रा पालन गर्छ भने उसले खसी बोका बेचेर पैसा कमाउन सक्छ र शहरमा बस्नेहरुले मासु किन्न विदेश पैसा पठाउनु पर्दैन । जसबाट गाउँको एउटा ठिटो मनग्गे आम्दानी गरेर स्वदेशमा नै बस्छ र स्वदेशी रकम विदेश पनि जाँदैन । यो एउटा उदाहरण मात्र हो । यस्ता धेरै क्षेत्र छन्, जसबाट मनग्गे आम्दानी गर्न सकिन्छ र विदेश निर्यात गरेर विदेशी रकम तान्न पनि सकिन्छ ।
राज
व्याजदर बढ्दा वित्तिय संस्थामा त रकम जम्मा मत्र हुने भयो नि ? फाइदा कसरी हुन्छ त ?
– केही समयमा यसको व्यवस्थापन होला । बैंकले दिने ऋण र जम्मा हुने रकम दुबैको व्याजदर घट्छ, घटाउनु पर्छ ।
एनसीसी बैंकको पछिल्लो अवस्था कस्तो छ ?
– नेपाल क्रेडिट एण्ड कमर्स बैंकको पछिल्लो अवस्था एकदमै राम्रो छ । अहिले हामीले नाफा झण्डै एक अरवको हाराहारीमा पु¥याएका छौं । हाम्रो लक्ष्य भनेको आगामी असार सम्ममा नाफा दुई अरव पु¥याउने र बैंकलाई टप फाइभमा लैजाने छ । मर्जरपछि एनसीसी नयाँ ढंगबाट चुस्त दुरुस्त भएर अगाढि बढिरहेको छ । हामीले बेला–बेलामा कर्मचारीहरुलाई प्रशिक्षण पनि दिइरहेका छौं । जसले गर्दा सेवाग्राहिले सहज रुपमा सेवा लिने वातावरण सिर्जना भएको छ । मर्जरपछि नयाँ–नयाँ स्थानमा शाखा लैजाने प्रयासमा छ ।
गाँउ–गाउँमा चाहिं जाँदैन एनसीसी ?
– हामीले गाउँमा पनि शाखा विस्तार गर्ने लक्ष्य लिएका छौं । मर्जरपछि जुधेका शाखाहरुलाई मिलाईसकेपछि हामी गाउँतिर लाग्नेछौं ।
प्रसंग बदलौं, तपाई राजनीति पनि गर्नुहुन्छ है ?
– हो, म नेपाली कांग्रेसमा रहेर राजनीति गर्दै आएको छु । विद्यार्थी कालदेखि नै मैले राजनीति गरको हुँ । राजनीति गर्ने शिलशिलामा नै मैले पटक–पटक जेल जीवन विताएको छु भने कयौं पटक घाइते समेत भएको छु । दुई कार्यकालसम्म जिल्लाको क्षेत्रीय सभापति भएर काम गरे । राजनीति भनेको समाजलाई सजग गराउने हो सहि सत्य बाटो देखाउने हो । जसमा अर्थतन्त्रको पनि कुरा आउँछ । आर्थिक रुपमा पनि सवल हुन जरुरी छ । बैचारिक वहसले मात्रै केही हुँदैन । आर्थिक रुपमा सवल बन्न उद्योग व्यवसाय पनि आवश्यक छ । यो हामी सबैले बुझैकै छौं । त्यसैले मैले राजनीतिसँगसँगै आफ्नो व्यवसाय, पढाइलाई लगेको हुँ ।
राजनीति गर्दा गर्दै कसरी व्यवसायमा लाग्नु भयो त ?
– मैले सबैभन्दा पहिले सफा टेम्पु किनेर व्यवसाय शुरु गरेको हो । त्यसपछि बैंकिङ सेयर, जग्गाहरु किनबेच गर्दै रारा विकास बैंक, एपेक्स डेभलभमेन्ट बैंक हुँदै अहिले एनसीसी बैंकमा बसेर काम गरिरहेको छु ।
नेपाली कांग्रेस अब कसरी अगाडि बढ्नुपर्छ ?
– कांग्रेसले अब केही कुरालाई परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाई हो । हिजो राणा शासन थियो, पञ्चायत काल थियो, त्यसलाई फाल्नका लागि जनताले नै साथ दिएका हुन् । अहिले त्यो अवस्था छैन । मुलुकमा लोकतन्त्र आइसकेको अवस्था छ । बिपी, गणेशमान, किसुनजी, गिरीजाप्रसादका विचार अघि सारेर मात्र कांग्रेस अगाडि बढ्न सक्दैन ।
अब कांग्रेसले विशुद्ध रुपमा कसरी जनताको आय आर्जन बढाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनु पर्छ । आर्थिक क्रान्ति गरेर देशको विकास कसरी गर्न सकिन्छ, देशलाई सबृद्ध कसरी बनाउन सकिन्छ, रोजगारी कसरी बढाउन सकिन्छ भन्नेतर्फ विचार पु¥याउनु पर्छ । अनिमात्र कांग्रेस टिक्छ । आर्थिक क्रान्ति गरिएन भने पार्टी विस्तार पनि हुन सक्दैन ।
आर्थिक क्रान्तिमा तपाईहरुको भूमिका कस्तो रहन्छ ?
– पार्टीले भूमिका नै नदिंदा पनि गाउँ–गाउँमा गएर आर्थिक क्रान्ति कसरी ल्याउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेकै छौं । अझ पार्टीले भूमिका दिने हो भने झन गरिन्छ । म वित्तिय क्षेत्रमा पनि आवद्ध भएकाले यो काम सजिलै गर्न सक्छु । मैले यहाँ एउटा प्रसंग जोड्न चाहें । मलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘मैले त राजनीति मात्रै गरे, तपाईले त राजनीति सँगसँगै पढाइ, वित्तिय क्षेत्रमा सुधारका प्रयास, विद्युतिय सवारी साधनको विकास लागि काम गर्नु भएको रहेछ । राज्यले कुनै क्षेत्रमा नियुक्ति र सुविधा नदिंदा पनि व्यक्तिगत पहलबाट राज्यका लागि यति काम गर्नु त धेरै राम्रो कुरा हो’ भन्नु भएको थियो । मेरो व्यक्तिगत कुरा गर्ने हो भने म गाउँ–गाउँमा आर्थिक क्रान्तिको किरण छर्ने अभियानमा छु ।
सधै हामी नेपालीहरु गरिब छौं, अरुसँग मागेर खानुपर्छ, अर्काको देशमा गएर पसिना बगाउनु पर्छ भन्ने सोच्ने होइन नेपालमा केही गर्नुपर्छ, बाहिर भन्दा यहाँ धेरै अवसर छन्, तिनलाई बाहिर निकाल्नु पर्छ, विकसित मुलुकमा गएर कुल्ली बन्नु भन्दा स्वदेशमा मालिक भएर काम गर्नुपर्छ भन्नेतर्फ मेरो जोड रहन्छ ।
तपाई नेपाल सफा सवारी व्यवसायीको पनि अध्यक्ष हुनुहुन्छ, यसको बारेमा केही बताइदिनुस् न ।
– अमेरिकाको ग्लोबल इन्टिच्युड र अन्य दुई÷तीन वटा कम्पनीहरुको सहयोगमा मैले सफा टेम्पुमा लगानी गरेको हुँ । यो विद्युतबाट चल्ने भएकाले वायु प्रदुषण हुँदैन । मैले अन्य सवारीमा पनि लगानी गरेको थिएँ । तर, तिनीहरुमा तनाव बढि हुने भएपछि मैले सफा सवारीमा नै केन्द्रित भएँ । यसमा कुनै पनि टेन्सन छैन । थोरै कमाई हुन्छ छर, त्यो एकदमै ‘मिठो’ हुन्छ । हामीले यसमा अधिकांश महिलाहरुलाई दक्ष बनाएका छौं । विभिन्न क्षेत्रबाट पिडित कतिपय महिलाहरु पनि टेप्पु चालक भएर आफ्नो जीवन सहज बनाउँदै हुनुहुन्छ । यो राम्रो पक्ष हो । मैले यसको बारेमा धेरै बताइरहनु नै पर्दैन । सफा टेम्पुको महत्व नेपाली जनताले २०७२ सालमा भएको नाकाबन्दिमा नै देखिसकेका छन् ।
तर, पछिल्लो समयमा सरकारले नीति परिवर्तन गरी सफा टेम्पुलाई विद्युतिय सवारी भित्र नराखी माफियाहरुको चंगुलमा परेर २० वर्षे अवधि राखेर हटाउने चलखेल गरिरहेको छ । यो विक्रम टेप्पुको सट्टामा ल्याइएको विद्युतिय सवारी साधन हो । स्वदेशी रुपैयाँ स्वदेशमा नै बसेको देख्न नचाहनेहरुले यो गर्न खोजिरहेका छन् । सरकारले महिलाहरुलाई यसप्रति प्रोत्साह दिनुपर्नेमा अझ बन्द गराउनु यो सरासर गलत हो । तर, वर्तमान यातायात मन्त्रीले त्यसलाई रोक्छु भन्नु भएको छ । हेरौं त्यसको नतिजा सकारात्मक नै आउने विश्वासमा छु ।
अन्त्यमा, के भन्नुहुन्छ ?
– सरकारले नै गर्नुपर्छ भनेर मुख ताक्ने भन्दा पनि हामी सबैले आ–आफ्नो स्थानबाट देशको विकासका लागि पहल गर्नुपर्छ । राजनीतिककर्मी, व्यवसायी, पत्रकार, राज्यका नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्ने हो भने जुनसुकै काम पनि बन्छ, देशको विकास हुन्छ, रोजगारीको बाटो खुल्छ भन्ने मलाई लाग्छ । म युवाहरुलाई के आब्हान गर्न चाहन्छु भने राम्रो समूह बनाऔं, हरेक काम समूहमा बसेर गरौं, गाउँको विकास गरौं र आफू पनि आर्थिक रुपमा सक्षम बनौं । एउटाले धान खेती गर्छ भने अर्कोले मकै, कसैले अलैची, कसैले च्याउ, कसैले पशुपालन, कसैले माछा पालन गरौं, गाउँको मोटर बाटोका लागि पहल गरौं । यदि हामी सबै मिलेर अगाडि बढ्ने हो भने विकास सँगसँगै आर्थिक रुपमा पनि सबल हुन सकिन्छ ।

Powered by Facebook Comments