ग्यास अभावमा सरकार जत्तिकै उपभोक्ता दोषी

Share

SONY DSCकाठमाडौंः
अहिले भइरहेको चरम ग्यास अभावमा सरकारको अदुरदर्शी नीति र उपभोक्ता जिम्मेवार रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । आवश्यक भन्दा बोटलिङ प्लान्ट सञ्चालन गर्ने अधिकार दिएर चलखेलको मौका दिने सरकार र आवश्यकताभन्दा बढी ग्यास किनेर भण्डार गर्ने उपभोक्ताको कारण ग्यास अभाव भएको उनीहरुको तर्क छ । गल्ली–गल्लीले शुत्रबार आयोजना गरेको सुकुल बहसमा बोल्दै ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापाले पुरानो कम्पनीलाई कम र नयाँ कम्पनीलाई बढी ग्यास दिने सरकारी नीतिका कारण ग्यासको अभाव भएको दाबी गरे । ‘भारतजस्तो ठूलो देशमा तीन बोटलिङ प्लान्ट छन् तर नेपालमा ५० भन्दा बढीलाई स्वीकृति दिइएको छ’, उनले भने,‘पुरानो कम्पनीलाई कम कोटामा अड्काएर नयाँको कोटा बढाउदा चलखेल भएको छ ।’
उनले अहिलेसम्म उपभोक्तालाई कति ग्यास आवश्यक छ भन्ने निक्र्यौल नभएको भन्दै ग्यास बिक्रीलाई व्यवस्थित गर्नुपर्ने बताए । ‘उपभोक्ता कार्ड लागू भएको भए उपभोक्ता चिन्न सजिलो हुन्थ्यो’, उनले भने,‘लाइन सिस्टम नगरी ग्यास बिक्री गर्न नसकिने भयो ।’
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका शाखा अधिकृत रत्नेश शशीले नेपालमा कुनै पनि निकाय संस्थागत हुन नसक्दा सरकारी संयन्त्र निष्प्रभावी भएको धारणा राखे । उनले ग्यास अभाव हुनुमा उपभोक्ता पनि दोषी रहेको औल्याए । ‘उपभोक्ताले पनि आवश्यक भन्दा बढी ग्यास किनेर राखेका छन् जसले अभावमा सघाएको छ’, उनले भने,‘कालोबजारी गर्ने कसैलाई समात्यो भने माथिल्लो निकायको फोन आइहाल्छ ।’ गल्ली–गल्लीले हरेक महिना सार्वजनिक चासोको बिषयमा बहस सञ्चालन गर्दै आइरहेको छ ।