छायांकन र सम्पादनमै चुकेको फिल्म ‘जोनी जेन्टलम्यान’ , कथा पनि फितलो

काठमाडौं । निकै चर्चामा रहेको  ‘जोनी जेन्टलम्यान’  फिल्मको कथा नै फितलो रहेको टिप्पणी हुन थालेको छ ।  प्रविधिको प्रयोग, सिनेम्याटोग्राफीमा सुधार देखिएको छ पछिल्ला समय। तर, जोनी जेन्टलम्यान त सिनेम्याटोग्राफी र सम्पादन मै चुकेको छ।

 सुरुवातदेखि दृश्यहरु फोकस आउट छन्। अन्त्यसम्म कुन पात्र र कुन दृश्यमा फोकस गरेर खिचिएको छ बुझ्न सकिन्न। अहिलेको फिल्ममा सिनेम्याटोग्राफी र सम्पादन नै झुर भनेर लेख्नु जस्तो नमज्जा अरु के मा हुन्छ होला र ?  छायांकार रुपेश थापा, रामशरण उप्रेती र सम्पादक नवीन निरौला फिल्मले दर्शकको अपेक्षा मिट गर्न नसक्नुमा जिम्मेवार छन् ।

 कथा त झन् ध्वस्त । जोन (पल शाह) र श्री (आँचल शर्मा) को प्रेमकथा फिल्मको मुख्य विषय जहाँ रिभेन्जलाई जोडेर कथा भनिन्छ। तर, फिल्म भित्रकै पात्रहरु यसरी अलमलिन्छन् कि कथा कताबाट कता पुग्छ पुग्छ। जेलबाट मान्छे भगाउने लगायतको अपराधिक गतिविधिमा सक्रिय छन् जोनी र उसका साथी। भानु, दिवाकर लगायतको नाइकेका लागि काम गर्छन्। उनीहरुको कमाउने भाँडो नै त्यही हुन्छ। तर बाटोमा देखिएकी केटी श्री (आँचल)को प्रेममा जोनी यसरी फस्छ कि उसले आफ्नो काम छोडिदिन्छ। श्रीसँगको एकदुई पटकको भेटमा जोनी यसरी नजिकिन्छ की उ श्रीको बुवासँग उसको हात माग्न जाने मनस्थिति बनाउन पुग्छ।

 तर, अचानक उ भेट्न गएकै दिन अप्रिय घटना घट्छ। जुन घटनापछि सिर्जना हुने समस्या र अवस्थाहरुले फिल्मलाई अन्त्यसम्म पुर्याउँछ। महेश दवाडीले लेखेको कथा न सरल छ न मनोरञ्जन नै दिन्छ। उनको कथाको एकपछि अर्को प्लट दर्शकले आफै अनुमान गर्न सक्छन्। पटकथा र संवाद पनि निकै हल्का छन्। कुनै कुनै ठाउँमा प्रयोग नाटकीय रोमान्टिक डायलग बाहेक न पञ्च लाइनर छन् न कुनै प्रभावकारी हास्य संवाद। न हसाउँने न रुवाउने। दुई पात्रबीचको साधरण कुरा सुन्नमात्र दर्शक हलसम्म किन जाने?  मौलिक धारको फिल्मका रुपमा परिचित भएर केही समय यता विस्थापित जस्तै गरिएका फिल्मको शैली, कथा र प्रस्तुती यो फिल्ममा देख्न सकिन्छ। बाटोमा हिँड्दै गरेको मान्छेलाई स्कुटर, गाडीले हान्दा निकै माथिसम्म उडेर थचारिन्छ।

 तर, उसलाई केही हुँदैन। अण्डा पनि त्यस्तै गरी स्टाइलमा झर्छ। तातेको तावामा हात राखिराख्न सक्नु, श्रीको बुवाको हत्यारालाई घाँटीमा काठ रोपेर मार्नु जस्ता दृश्य निकै हाँस्यापद लाग्छन्। हसाउन जे पनि देखाइ दिने? छोटो फिल्म र म्युजिक भिडियो नै सही निर्देशकीय पाटोलाई नजिकबाट हेरेका नितिन चन्दबाट दर्शकले यति मात्र पक्कै अपेक्षा गरेका थिएनन्। कलाकारहरुको अभिनय यति फितलो छ कि पल शाहले यसअघिको फिल्म  ‘म यस्तो गीत गाउँछुु’मा यो फिल्मको दाँजोमा धेरै राम्रो अभिनय गरेका थिए। अपराधीले ‘अपराध गर्छुु’ भनेको डायलग पनि प्रेमिकासँग बोलेको रोमान्टिक लाइन जस्तो सुनिन्छ फिल्ममा। त्यसमाथि डायलगहरु लाउड सुनिएका छन्। दृश्यको सम्पादन मात्र होइन डबिङमा पनि जोनी जेन्टलम्यानमा ध्यान दिइएको छैन।

 नाईं नभन्नु ल ४ बाट फिल्म डेब्यु गरेकी आँचल शर्माको अभिनयमा थोरै पनि निखार देखिँदैन। डिजाइनर ड्रेस र म्युजिक भिडियोमा गरेको लिप्सिङले मात्र मुख्य कलाकारतर्फ दर्शक तान्न सकिन्छ भन्ने भ्रममा फिल्म युनिट रहेको छ। उसो त सह कलाकारहरुको चयन पनि गलत नै भएको हो। विकास जोशी, रवि गिरी, सन्तोष श्रेष्ठको अभिनय भने राम्रो छ।

 फिल्ममा प्रयोग ब्याकग्राउन्ड म्युजिकले पनि दर्शक स्रोतालाई तान्दैन। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीत ‘जब जब तिम्रो’ साथ सुन्न र हेर्न लायक छ। मेकिङको हिसाबमा मुम्बईमा छायांकन गरिएको गीतको छायांकन, सम्पादन र कोरियोग्राफीको पक्ष पनि राम्रो मान्न सकिन्छ। जोनी जेन्टलम्यान अहिले सार्वजनिक भैरहेका फिल्महरुको तुलनामा निकै कमजोर सबै कोणबाट फोकस आउट फिल्म हो। मुख्य कथा, पटकथा, निर्देशन, छायांकन र सम्पादनमै चुकेको एउट फिल्म। – पहिलोपोस्टबाट साभार –

Powered by Facebook Comments