जनार्दनको गाडीमा कसले गर्याे बम प्रहार

काठमाडौं :
नेकपा माओवादी केन्द्रका नेता तथा विना विभागिय (निवर्तमान गृह) मन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका शर्मा र उनको प्रचार टोलीमाथि बम प्रहार भएको प्रहरीले जनाएको छ ।
रुकुमको चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको शर्माको प्रचार टोली माथी सडकमाथिबाट चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको हो ।
अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेकै गाडीलाई लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ । शर्मा चढेको गाडीको अघिल्तिर परेको एउटा बम पड्केन भने अर्को पड्केको थियो । तर, त्यसबाट खासै असर नपरेको बताइएको छ । प्रहरीका अनुसार बम प्रहार गर्नेको खोजी कार्य भइरहेको र उनीहरुका बारेमा विस्तृत जानकारी पनि आउन बाँकी छ ।
केही दिन अघि विरोध स्वरुप नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले शर्माकै घरमा कालो झण्डा गाडेका थिए । त्यसैले पनि नेकपाकै कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ ।
शर्मासँगै टोलीमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यतर्फ ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा, माओवादीको तर्फबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार चन्द्रबहादुर विक, प्रदेशसभा सदस्य विमला केसी, एमालेको तर्फबाट प्रदेशसभा तर्फकी समानुपातिक उम्मेदवार देवी ओली लगायत एमाले तथा माओवादीका नेताहरु पनि थिए ।

Powered by Facebook Comments