टिकापुर घटनामा संलग्नको मुद्दा फिर्ता नहुने प्रचण्डको निजी सचिवालयको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयले जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने स्पष्ट गरेको छ ।बिहीबारको मन्त्रीपरिषद बैठकले कैलालीको टिकापुर लगायतका स्थानमा भएका घटनामा संलग्नको मुद्दा फिर्ता लिएर तराई–मधेश आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो ।

 बैठकको निर्णयलाई लिएर सञ्चार माध्यमहरुमा आएका समाचारहरुबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री सचिवालयले जघन्य अपराधका दोषीहरुको मुद्दा लिने सरकारी निर्णयसम्बन्धि प्रकाशित समाचारको खण्डन गरेको हो ।

 मन्त्रीपरिषदको बैठकले टिकापुर लगायतका हत्याका घटनामा संलग्न नभएका तर आशंका र पूर्वाग्रहकै आधारमा झुट्टा मुद्दा लगाइएका व्यक्तिहरुका मुद्दा कानून बमोजिम मिल्ने गरी फिर्ता गर्ने प्रक्रियाको गृहकार्य थाल्न कानून मन्त्रालयको परामर्शमा गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।बिहीबारको बैठकले तराई–मधेश आन्दोलनलाई राजनीतिक आन्दोलन ठहर गरेको थियो ।

Powered by Facebook Comments