डोक्लम मुद्दामा नेपालको कस्तो सहयोग चाहन्छ चीन ?

काठमाडौं ।  चीनले डोक्लम समस्याबारे नेपालले तटस्थ कायमै राखोस् भन्ने चाहना राखेको छ । जानकार कूटनीतिक स्रोतका अनुसार नेपालले डोक्लम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रूपमा लिएको छ । नेपालले डोक्लम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले  बताए ।

  प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरूले बताए । ‘डोक्लम चीनको भूभाग हो । चीनले सडक बनाउँदै गर्दा भारतीय सैनिकले हस्तक्षेप गरी निर्माण कार्यमा अवरोध गरेपछि मात्र डोक्लममा तनाव देखिएको हो । नेपालले यस मामिलामा आफ्नो तटस्थ नीति कायम राखोस् र प्रधानमन्त्री देउवाको भारत भ्रमणमा यो मुद्दा नबनोस् भन्ने चीन चाहन्छ’, एक चिनियाँ अधिकारीले भने । ती चिनियाँ अधिकारीले चीनले नेपालसँग डोक्लम मुद्दामा नेपालको समर्थन नखोजेको बताए ।

 चीन र भुटानबीच डोक्लम क्षेत्रमा देखिएको सीमा विवादमा भारतीय सैनिक हस्तक्षेपपछि उत्पन्न तनावले चरम रूप लिएसँगै चीन र भारतबीच सीमायुद्ध हुन सक्ने आशंका व्याप्त भएका बेला चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण भएको छ ।

 चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार साँझ काठमाडौं आइपुगेका छन् ।  चीनबाट झन्डै ६ वर्षपछि उच्चस्तरीय भ्रमण भएको हो । तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिया वाओले सन् २०१२ जनवरी १४ मा नेपालको संक्षिप्त भ्रमण गरेका थिए । त्यसयता चीनबाट मन्त्री स्तरभन्दा माथिल्लो तहको नेपाल भ्रमण भएको थिएन ।अन्नपूर्णबाट

Powered by Facebook Comments