त्यही भएर गिरिजाबाबुसँग म प्रभावित भएँ

दीपेन्द्र शेरचन
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राजा ज्ञानेन्द्र शाहले संसद विघटन गरेपछि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ०६२/६३ को दोस्रो जनआन्दोलन सुरु भएको भयो । निर्वाचनको मिति तोकियो । निर्वाचनको मिति सार्न प्रस्ताव गरेपछि ज्ञानेन्द्र शाहले देउवालाई ‘असक्षम’ भनेर हटाइदिए । देउवालाई हटाएपछि सबै कार्यकारी अधिकार राजा ज्ञानेन्द्र शाहले लिएपछि मुलुकमा निरंकुश शासन सुरु भयो । त्यस बेलाको शीर्ष बैठक आयोजना गरेका दीपेन्द्र शेरचनसँगको यस्तो छ अनुभव :
पाँच दलको आन्दोलन शुरु
त्यस बेलाको प्रशासनको दवावमा रहेका दल र दलका नेताहरूले बैठकहरू लुकिछिपी गर्नुपर्ने अवस्था पनि आएका थियो । सुरुका चरणमा आन्दोलनले गति लिन सकेको थिएन । राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर राज्य चलाउन थालेपछि राजनीतिक दलका नेताहरूलाई धरपकड गर्नुका साथै घरमा नजरबन्दमा राखेका थिए । चौतर्फी दवावपछि गल्दै गएका राजा ज्ञानेन्द्रले राजनीतिक गतिविधिमा खुकुलो बनाएपछि पाँच दलले संसद पुनःस्थापनाको माग गरेर आन्दोलन सुरु गरे ।
आन्दोलन सुरु हुँदै गर्दा जनसमर्थन सुरुवाती दिनमा खासै थिएन । पाँच दलको आन्दोलनलाई सञ्चारमाध्यमहरूको जोडबलमा अगाडि बढाइएको थियो । त्यस अवस्थामा शीर्ष नेताहरूको बैठक हप्तामा दुईदेखि पाँच वटासम्म बस्ने गर्थे । शीर्ष बैठक पाँच दलले पालैपालो गर्ने निमय थियो । धेरैजसो शीर्ष बैठक कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगञ्जस्थित निवासमा बस्ने गथ्र्यो । यद्यपि बेलाबेला अन्य दलहरूले पनि गर्थे ।
पालैपालो शिर्ष बैठक
सानो दल भए पनि पाँच दलमा रहेको तत्कालीन जनमोर्चा नेपालले शीर्ष नेताहरूको बैठक बेलाबेला गर्ने गथ्र्यो । जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनको आग्रहमा उनका दाई दीपेन्द्र शेरचनले तीन वटा शीर्ष बैठक राखेका थिए । दीपेन्द्रले त्यस बेला गलैचा र बिल्डिङ बनाउने काम गर्ने गरेको सुनाए । उनको ‘एसडिबी कन्ट्रक्सन’ कम्पनी थियो ।
राजनीतिलाई सानैदेखि झेल्दै आएका दीपेन्द्र कहिल्यै पनि लाभको पदमा पुगेका छैनन् । अमिक शेरचन गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला उपप्रधान एवम् स्वास्थ्य मन्त्री भए । तर, दाईको आडमा आफूले कहिल्यै पनि नराम्रो काम नगरेको उनले सुनाए । उनी भन्छन्–‘शीर्ष नेताहरूसँग राम्रो सम्बन्ध हुँदाहुँदै पनि मैले कहिल्यै व्यक्तिगत काम गर्न लगाइन । त्यसैले अहिले पनि म सामान्य जीवनयापन गर्दै आएको छु ।’ ती बैठकहरू ललितपुरको कुपण्डोल र पुल्चोक दमकल नजिक भएका थिए ।
कोइरालाले लिए नेतृत्व
राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएर मुलुकमा निरंकुशता लादेपछि नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ०६२/६३ को आन्दोलन सुरु भयो । सुरुवाती चरणमा पाँच दल थिए । नेपाली कांग्रेस, नेकपा (एमाले), जनमोर्चा नेपाल, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) र नेपाल मजुर किसान पार्टी थिए । पछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) र नेकपा (माओवादी) मिलेर सात दल भएका हुन् ।
त्यस बेला नेपाली कांग्रेसको सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले)का महासचिव माधवकुमार नेपाल, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का उपाध्यक्ष एवम् वरिष्ठ नेता भरतविमल यादव, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ हुनुहुन्थ्यो । नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)को अध्यक्ष आनन्दीदेवी सिंह रहेपनि उहाँ बैठकमा आउनु हुँदैन थियो ।
पाँच दलको आन्दोलनमा मान्छे थोरै आउँथे
पाँच दलले आन्दोलन त सुरु गरे । तर, आन्दोलनमा २–३ सयभन्दा धेरै मान्छे हुँदैन थिए । दोस्रो जनआन्दोलनलाई उचाइँमा पु¥याउने काम सञ्चारमाध्यमहरूले गरेका हुन् । विशेष गरेर दोस्रो जनआन्दोलन सफल बनाएको पत्रकारहरूले नै हो । पत्रकारले २–३ सय मान्छे जुलुसमा सहभागी हुँदा २०–२५ हजार मान्छे आएका छन् भनेर समाचार लेख्ने गर्थे ।
धर्मनिरपेक्ष आन्दोलनको माग थिएन
जनमोर्चा नेपालका अध्यक्ष एवम् मेरो भाई अमिक शेरचनको आग्रहमा मैले पाँच दलका शीर्ष नेताहरूको बैठक तीन पटक राखेको थिएँ । त्यस बेला सुरुवाती दिनमा संसद पुनःस्थापनाको मात्रै माग थियो । राजा ज्ञानेन्द्र शाहले कार्यकारी अधिकार लिएर निरंशुता सुरु गरेपछि राजसंस्था फाल्ने कुरा उठ्यो । राजा फाल्ने माग उठ्यो । अमिक शेरचनले गिरिजाबाबुलाई राजसंस्था फालेर गणतन्त्र ल्याउन ठूलो सुझाव र दवाव दिएको मलाई थाहा छ । हिन्दूराष्ट्रको माग ०६२–६३ को जनआन्दोलनमा कहिल्यै पनि उठेन । मैले कहिल्यै पनि सुनेन । तर, पुनःस्थापना भएको संसदको पहिलो बैठकले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेछ ।
नेताको फलफूल मोह
बिहान खासै बैठक हुँदैन थियो । दिउँसोको बैठकमा सामान्य खानेकुरा बनाउने गरिन्थ्यो । गिरिजाबाबुले गाजरको हलुवा मन पराउनु हुन्थ्यो । मेरो पत्नीले आफै घरमा गाजरको हलुवा बनाएर दिएको मलाई सम्झना छ । उहाँहरूले चिया, कफी, फलफूल नै खाने गर्नु हुन्थ्यो । एमालेका महासचिव माधवकुमार नेपालले फलफूल मन पराउनु हुन्थ्यो । यही भन्ने थिएन । जे बनाएर दियो
सबैले खानु हुन्थ्यो ।
गिरिजाबाबुको स्वभाव
गिरिजाबाबुको निधन भइसकेको छ । उहाँको बारेमा धेरै कुरा गर्नु उचित हुँदैन । गिरिजाबाबुले चुरोट पिएको पनि देखेको छु । चुरोट अर्को कोठामा बसेर पिउनु हुन्थ्यो । चुरोटको धुँवाले अरु कसैलाई डिष्ट्रब नहोस् भनेर उहाँ सचेत रहेको पाएँ । चुरोट पिएपछि फेरि बैठक कोठामा आएर बस्नु हुन्थ्यो । गिरिजाबाबुलाई नजिकबाट चिन्ने मौका त्यही बेला पाएँ । उहाँको स्वभाव अत्यन्तै राम्रो लाग्यो । म गिरिजाबाबुसँग त्यही बेला प्रभावित भएको हुँ । बाहिर जसरी गिरिजाबाबुका बारेमा नकारात्मक रुपमा प्रचार गरिएको थियो प्रत्यक्ष भेटेर सम्पर्कमा आएपछि उहाँप्रति मेरो भावना बदलियो । शीर्ष बैठकको बेला मात्रै भेटेको हुँ । त्यसपछि उहाँलाई कहिल्यै पनि भेटेन । अरु नेताहरूलाई पनि अहिलेसम्म भेटेको छैन ।
१२ बुँदे समझदारमा अमिक शेरचनको दवाव
शीर्ष बैठक हुँदा अमिक शेरचनले विद्रोही नेकपा (माओवादी)लाई पनि आन्दोलनमा सरिक गराउन गिरिजाबाबुलाई आग्रह गरेको मैले आफै सुनेको छु । केही समयपछि नयाँ दिल्लीमा नेकपा (माओवादी)सँग १२ बुँदे सहमति भयो । १२ बुँदे सहमति हुँदा पाँच दलले महाराजगञ्जस्थित गिरिजाबाबुको निवासमा बसेर अन्तिम निर्णय गरेका थिए । १२ बुँदे सहमित पछि बल्ल आन्दोलन चर्कियो । मान्छेहरू सडकमा आउन थाले । राजा ज्ञानेन्द्र शाहलाई दवाव प¥यो ।
बैठकमा घोचपेच
शीर्ष बैठक धेरै लामो चल्दैन थियो । गिरिजाबाबु बोलेपछि अरु नेताहरू खासै बोलेको मैले पाइन । तर, अमिक शेरचनले गिरिजाबाबुको कुरामा चित्त बुझेन भने कुरा राखेको पाएँ । शीर्ष नेताहरूबीच खासै घोँचपेच हुँदैन थियो । फेरि अमिक शेरचनलाई गिरिजाबाबुले अलिक विश्वास गरे जस्तो लाग्थ्यो । शीर्ष नेता र दोस्रो तहका गरी करिव १५–२० जना जति नेताहरू बैठकमा सहभागी हुन्थे ।
कांग्रेसमा प्रवेश गर्न दवाव
म वाम विचारधारा राख्ने व्यक्ति हुँ । मेरो परिवारले कांग्रेसमा प्रवेश गर्न दवाव दिएका छन् । तर, म स्वतन्त्र बसेको छु । राजनीति गर्ने मन छ । अहिलेका ठूला नेताहरूको व्यवहार देखेर दिक्क लाग्छ । राजनीति गर्ने मन मरेर आउँछ । अहिलेका शीर्ष नेताहरूमा देश, जनताका लागि निःस्वार्थ भावले काम गर्नुपर्छ भन्ने भावना फिटिक्कै छैन । चिन्तन गर्ने नेताहरू देखेको छैन । नेताहरू जम्मै आफ्नै किसिमको र आफ्नै खालका छन् । यस्तो अवस्थामा राजनीति गरेर के गर्नु ? मुलुक बनेको हेर्न मन छ । राजसंस्था फालेर मुलुकमा गणतन्त्र आयो । अहिलेसम्म जनताले भने जस्तो केही भएको छैन । नेताहरू व्यक्तिगत र कमाउने स्वार्थमा मात्रै लागेको देख्छु ।
थोरै पार्टी भएको राम्रो
एमाले–माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वामपन्थी गठबन्धनलाई नराम्रो भन्नु हुँदैन । वामपन्थी पार्टीहरू मिल्नु भनेको ठीक हो । वामपन्थी मात्रै होइन नेपाली कांग्रेससहितका लोकतान्त्रिक दलहरूले पनि गठबन्धन बनाएर जानु पर्छ । धेरै पार्टी हुनुभन्दा थोरै पार्टी भएको राम्रो हुन्छ । अहिलेको गठबन्धनलाई सकारात्मक रुपमा लिनुपर्छ ।

Powered by Facebook Comments