दोक्लम विवाद अन्त्य गर्न भारत र चीन सहमत

काठमाडौं :
विगत लामो समयदेखि नेपालको छिमीकी राष्ट्रहरु चीन र भारतबीच बढिरहेको विवादको अन्त्य हुने संकेत देखिएको छ । भुटानको सिमा क्षेत्र दोक्लम विवाद अन्त्य गर्न चीन र भारत सहमत भएका हुन् । पछिल्ला दुई महिनादेखि भुटान र चीनको सीमामा भारत र चीनका सैनिकहरु आपनेसामने भएर बसिरहेका थिए । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा दुई देश दोक्लम क्षेत्रमा सैनिकहरुलाई आपनेसामने नगर्न सहमत भएको बताइएको छ ।
अर्को महिना चीनमा हुने ब्रिक्स सम्मेलनको पूर्वसन्ध्यामा दुई देशबीच यस्तो सहमति भएको हो । चीनमा हुने सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने सम्भावना छ । दोक्लममा चीन र भारतबीच देखापरेको यो द्वन्द्व दुई देशबीच यसअघि भएको युद्धपछिको सबैभन्दा ठूलो घम्साघम्सी हो ।
‘कुटनीतिक वार्ताद्वारा दुवै पक्ष विवाद समाधानको लागि सहमत भएका छन्’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘दोक्लमको बिषयमा पछिल्ला केही हप्ता भारत र चीनबीच कुटनीतिक वार्ता बढेको छ ।’
विज्ञप्तीमा विवाद समाधान कसरी भन्ने बिषयमा केही खुलाइएको छैन् । एसियाका यी दुई ठूला शक्तिले सन् १९६२ मा आपसमा युद्ध गरेका थिए ।

चीनले भने भारतीय सेना दोक्लमबाट हेटेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुङयिङले भारतीय सेना हटे पनि चिनियाँ सेनाले उक्त क्षेत्रमा गस्ती कायम राख्ने जनाएकी छन् । ‘चीनले आफ्नो भूमी रक्षा गर्न पाउने अधिकारको अभ्यास गरिरहन्छ’, उनले भनिन् । ‘भारतले ऐतिहासिक सीमाको सम्मान गर्दै आपसी सद्भावको आधारमा सीमा क्षेत्रमा शान्ति कायम गर्नको लागि चीनसँग सहकार्य गर्छ भन्ने हाम्रो विश्वास छ’, चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भनिन् ।
भारत र चीनबीच ३५ सय किलोमिटर क्षेत्रमा सीमा विवाद छ । विवादित भूमिका ठूलो हिस्सा उनीहरुले आआफ्नो दाबी गरिरहेका छन् । चीनले दोक्लम क्षेत्रमा निर्माण गरिरहेको सडक निर्माणको काम रोक्न भारतीय सेना दोक्लम पुगेपछि दुई देशबीच विवाद बढेको थियो । मानवीय बस्ती नभएको दोक्लम चीन र भुटानबीचको सीमा क्षेत्र हो जसलाई चीन र भुटान दुवैले आ–आफ्नो दाबी गरिरहेका छन् । –एजेन्सी

Powered by Facebook Comments