दोक्लाम प्रकरणमा महराले यसरी पुरा गरिदिए सुष्माको माग

काठमाडौं  । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले  दूतावासका कर्मचारीमार्फत नेपाल सरकारसँग विशेष सहयोग मागेकी छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १५औं विदेश मन्त्रीस्तरीय बैठकमा भाग लिन विहिबार काठमाडौं आइपुगेकी स्वराजले सहयोग मागेकी हुन ।

 त्यो सहयोग हो बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका भुटानी विदेशमन्त्री दाम्चो दोर्जीसँग भेटवार्ताको समय । चीन र भुटानको सीमा दोक्लामलाई लिएर चीनसँग बढ्दो तनावका बीच सुष्माले काठमाडौं आएको मौकामा भुटानका विदेशमन्त्रीसँग वार्ता गर्ने इच्छा राखिन् र दोक्लाम प्रकरणमा भुटानलाई आफ्नो पक्षमा उभ्याउने उनको स्वार्थ थियो ।

 त्यसैकारण कारण विहिबार काठमाडौं ओर्लिएकी सुष्माले काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीलाई परराष्ट्र मन्त्रालय पठाएर भुटानी विदेश मन्त्रीसँग साइड लाइनमा भेटवार्ता गर्ने समय मिलाइदिन आग्रह गरिन् । भारतले सहयोग मागेपछि परराष्ट्रका अधिकारीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण महरासँग सल्लाह गरी शुक्रबारका लागि समय मिलाइदियो ।

 शुक्रबार होटल सोल्टीमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले भुटानका विदेशी मन्त्री दाम्चो दोर्जीसँग साइड लाइनमा वार्ता गरिन् । दोक्लाम लगायत विषयमा भएको वार्ता सकारात्मक रह्यो । भुटान भारतको पक्षमा जस्तो देखिएको कुरा स्रोतबाट थाहा हुन आयो । यसरी परराष्ट्रमन्त्री महराले सुष्माको माग पूरा गरिदिए ।

  यसरी बिमस्टेक बैठकमा भाग लिन काठमाडौं आएका भारतीय विदेशमन्त्री स्वराजले भुटानलाई आफ्नो पक्षमा पारेर मौकाको फाइदा उठाइन् । दोक्लम क्षेत्रलाई लिएर पछिल्लो समय चीन र भारतबीच तनाव बढेको छ । दोक्लममा भारत र चीनका सेना आमनेसामने भएका छन् । चीन र भुटानको सीमामा पर्ने दोक्लमको केही भाग चीनको नियन्त्रणमा छ भने केही भुटानको । चीन र भुटान दुवैले दोक्लम क्षेत्रलाई आफ्नो भएको दाबी गर्दै आएका छन् ।

Powered by Facebook Comments