पाँचौंपटक मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण

काठमाडौं :
प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्मकै जम्बो मन्त्रीमण्डल बनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच सपथ ग्रहण गरेका हुन् । आजको मन्त्रीमण्डल विस्तारसँगै देउवा नेतृत्वको सरकारमा ५४ जना मन्त्री बनेका छन् । वर्तमान सरकारको मन्त्रीपरिषद् यस अघि नै ४९ सदस्यीय थियो ।
प्रधानमन्त्री देउवालले पाँचौपटक मन्त्रिपरिषद् विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट ३ जना मन्त्री थपेका हुन् । नवगठित मन्त्रिमण्डलमा राप्रपाबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र सांसद् सुनिलबहादुर थापा मन्त्री भएका छन् । नवनियुक्त मन्त्री दीपक बोहोराले विज्ञान तथा प्रविधि, मन्त्री विक्रम पाण्डेले वन तथा भू संरक्षण र मन्त्री सुनिल थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका रेशम लामाले पनि आजै सपथ लिने कार्यक्रम छ । उनको सपथ भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुनेछ । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको चर्को आलोचना भइरहेको छ । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत सहभागी भएका थिए ।

Powered by Facebook Comments