पूर्व सञ्चारमन्त्रीमाथि बम प्रहार, सुरक्षागार्ड घाइते

काठमाडौं :
प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकिंदै जाँदा नेताहरुमाथि लक्षित गरी बम प्रहार भइरहेका छन् । आज पनि भोजपुरमा एमाले नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईको गाडीमा बम प्रहार भएको हो । एक साता अघि विनाविभागिय मन्त्री जनार्दन शर्माको गाडीलाई लक्षित गरेर बम प्रहार भएको थियो ।
भोजपुर क्षेत्र २ का बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईमाथि विपल्ब कार्यकर्ताले बम प्रहार गरेको बुझिएको छ । ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा १४÷१५ जनाको समहूले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताए ।
बम प्रहारबाट ल्यान्ड रोभर गाडी पूर्णरुपमा क्षती पुगेको छ भने राईका निजी सुरक्षागार्ड डिल्ली देवकोटा घाइते भएका छन् । उम्मेदवार राई भने सकुशल छन्। प्रतिकारमा सुरक्षागार्ड देवकोटाले १४ राउण्ड हवाई फायर गरेका छन् ।

Powered by Facebook Comments