प्रहरीको विशेष ब्युरोद्वारा दुई भारतीय ‘सुटर’ पक्राउ

काठमाडौं । प्रहरीको विशेष ब्युरोले काठमाडौंबाट दुई भारतीय युवकलाई पक्राउ गरेको छ । आतंकवादसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरो (एसबी)ले शनिबार दिउँसो जोरपाटी नारायणटारबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादव छन् । उनीहरूलाई सार्वजनिक अपराध मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेका दुवै नारायणटारमा गार्मेन्टसम्बन्धी व्यवसाय गर्ने लाल महम्मद सुरको कारखानामा जबर्जस्ती छिरेका थिए । कारखानामा गएर आफूलाई उनीहरूले मार्ने धम्की दिएको सुरले बताएका छन् । उनले प्रहरीमा जाहेरीसमेत दिएका छन् । सर्लाही घर भएका सुरले उनीहरूले हत्या गर्न खोजेको भन्दै आइतबार महानगरीय प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका हुन् । स्थानीय प्रहरीलाई थाहा नहुनु, तर उनीहरूलाई विशेष ब्युरोले पक्राउ गर्नु रहस्यमय रहेको प्रहरी अधिकारीहरू बताउँछन् । स्रोतका अनुसार पक्राउ परेका दुवैजना सुटर हुन् ।

सुरलाई गोली हान्न निगरानीका लागि आएको प्रहरी स्रोतको दाबी छ । विशेष ब्युरोका प्रमुख डिआइजी हेमन्त पालले दुई भारतीय युवकलाई आफूहरूले पक्राउ गरेको स्विकारे, तर थप विवरण दिन मानेनन् । पक्राउ परेकालाई बौद्ध वृत्तमा बुझाइएको उनको भनाइ छ । सुरुमै विशेष ब्युरोले थाहा पाउनुमा भारतीयबारे पहिले नै जानकारी भएको हुन सक्ने आशंका गरिएको छ । ब्युरोले भारतको पक्षमा काम गर्दै आएको आरोप लाग्दै आएको छ । करिब ४५ वर्षीय सुरको नारायणटारमा झोला बनाउने उद्योग छ ।

उनको केही अन्तर्राष्ट्रिय समूहस“ग सम्बन्ध रहेको आशंकामा भारतीय नागरिक निगरानीमा आएको प्रहरी आशंका छ । पक्राउ परेका दुई युवकले एक बच्चा हराएको र उसलाई खोज्न आफूहरू त्यहाँ गएको दाबी गरेका छन् । पक्राउ परेकालाई छाड्न दबाब आएपछि प्रहरीले गोप्य रूपमा सार्वजनिक मुद्दा चलाएको छ ।नयाँ पत्रीकामा खबर छ

Powered by Facebook Comments