बंगलादेशले भारतलाई हराउँदा नेपाल सेमिफाइनलमा

काठमाडौं :
एसीसी य–(१९ युथ एशिया कप क्रिकेटको समूह चरणमा बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि नेपाल समूह उपबिजेता हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित भएपछि समूहचरणबाट माथि जान सकेन । डकवर्थ लेविस नियम अनुसार ३२ ओभरमा झारिएको खेलमा १९० रनको लक्ष्य पाएको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । बंगलादेशका लागि पिनाक घोषले सर्बाधिक ८१ रनको अविजित पारी खेले । यसअघि रोयल सिलांगोर क्लवको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३२ ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि खेल ३२ ओभरमा झारिएको थियो ।
समूह एमा बंगलादेशले सबै खेल जितेर समूह बिजेताको रुपमा सेमिफाइनलमा पुग्दा समूहमा २ जित निकालेको नेपाल ४ अंकसहित समूह उपबिजेताको रुपमा सेमिफाइनलमा पुग्यो । बंगलादेशसँग २ विकेटले हारेको नेपालले भारतलाई १९ रन र मलेसियालाई ८ विकेटले हरायो । यता भारतले भने पहिलो खेलमा मलेसियालाई २०२ रनले हराए पनि नेपाल र बंगलादेशसँग पराजित भयो । यस समूहबाट भारतसँग आयोजक मलेसिया पनि समूह चरणबाटै बाहिरियो ।
यस अघि नेपालले पनि मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । नेपालको मलेसियामाथि शानदार जित हुँदा पनि बंगलादेश भारतसँग पराजित भएको भए नेपाल माथि उक्लन सक्दैन थियो । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३ ओभरमा पूर गर्‍यो । ओपनर आशिफ शेख ४ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका कप्तान दिपेन्द्र सिंह ऐरीले लगातार २ छक्का प्रहार गरी आउट भए । अर्का ओपनर अनिल साहले २६ र चौथो नम्बरमा आएका भीम साार्कीले अविजित ३ रन प्रहार गरी नेपाललाई ८ विकेटको जित दिलाए । साहले छक्का प्रहार गरी नेपालार्इ जित दिलाएका हुन् ।
बलिङतर्फ मलेसियाका विजय उन्नीले २ विकेट लिए । यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले १५।३ ओभरमा सबै विकेट गुमाएर ४५ रन बनाएको थियो । वर्षाका कारण डकवर्थ लेविस नियम अनुसार २४ ओभरमा झारिएको खेलमा नेपालको शशक्त बलिङ आक्रमणसामू मलेसिया निरिह बनेको थियो ।
घरेलु टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २÷२ तथा अनिलकुमार साहले १ विकेट लिए । सुरुवातदेखि नै आक्रामक बलिङ गरेको नेपालले मलेसियाका कुनै पनि ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएन । ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनुबाहेक मलेसियाका अन्य ब्याट्सम्यानले धारिलो बलिङको सामना गर्नै सकेनन् ।
छैटौं ओभरको चौथो बलमा जगजीतलाई अनिल साहले जितेन्द्र सिंहको हातबाट क्याचआउट गराएपछि सुरु भएको मलेसियाको विकेट पतन त्यसयता निरन्तर रहृयो । ५.४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो । यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकालेको नेपाल पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

Powered by Facebook Comments