मुम्बई हमलाका दोषी अण्डरवल्र्ड डनलाई मृत्युदण्ड सजाय

काठमाडौं :
सन् १९९३ मा मुम्बईमा भएका शृंखलाबद्ध बम हमलामा संलग्न रहेको आरोपमा भारतको एक अदालतले दुईजनालाई मृत्युदण्डको सजाय सुनाएको छ । मुम्बईको अदालतले फरोज खान र ताहिर मर्चेन्टलाई बिहीबार मृत्युदण्डको फैसला सुनाएको हो । अदालतले उनीहरूलाई फौजदारी षड्यन्त्र र हत्याका लागि दोषी ठहर गरेको छ । आक्रमणका अर्का दोषी रियाज सिद्दिकीलाई १० वर्ष जेल सजाय तोकिएको छ । आजभन्दा २५ वर्षअघि करिब एक दर्जन स्थानलाई लक्षित गरी भएका शृंखलाबद्ध विस्फोटमा दुई सय ५७ जनाको ज्यान गएको थियो भने दर्जनौँ मानिस घाइते भएका थिए ।
ती विस्फोटमा संलग्न रहेको आरोपमा सन् २००३ र २०१० को अवधिमा सातजनालाई गिरफ्तार गरिएको थियो । पक्राउ गरिएका व्यक्तिहरूलाई छुट्टाछुट्टै मुद्दा चलाइएको थियो । पक्राउ परेकामध्ये अदालतले ६ जनलाई गत जुन महिनामा दोषी ठहर गरेको थियो । एकजनालाई अदालतले सफाइ दिएको थियो । अदालतले दोषी ठहर गरेकामध्ये एक मुस्ताफा डोसाको फैसलालगत्तै हृदयाघातका कारण मृत्यु भएको थियो । मुम्बई बिस्फोटका मुख्य मास्टरमाइन्ड याकुब मेमोनलाई सन् २०१५ मा मृत्युदण्ड दिइएको थियो । – एजेन्सी

Powered by Facebook Comments