रोनाल्डो बने वर्ष खेलाडी(उत्कृष्ठहरुको नामसहित)

काठमाडौं :
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई सोमबार राति सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई उछिन्दै रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले बाजी मारेका हुन् ।
सन् २०१६–१७ को सिजनमा ३२ वर्षीय रोनाल्डोले रियललाई स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग जिताउन मदत गरेका थिए । गत वर्ष पनि रोनाल्डोले यो अवार्ड हात पारेका थिए । त्यति बेला उनको नेतृत्वमा पोर्चुगलले युरो २०१६ जितेको थियो । यसपल्टको च्याम्पियन्स लिग फाइनलमा रियलले युभेन्ट्सलाई ४–१ ले पराजित गर्दा रोनाल्डोले त्यसमा दुई गोल गरेका थिए ।
वर्ष खेलाडी भएपछि छोटो प्रतिक्रिया दिंदै रोनाल्डोे भने–‘लगातार दोस्रो वर्ष मैले उत्कृष्ट खेलाडीको अवार्ड पाएं, यो भन्दा खुसी अरु के हुन सक्छ र ?,’ फिफाले गरेको घोषणामा बार्सिलोना र नेदरल्यान्ड्सकी लेके मार्टेन्स उत्कृष्ट महिला खेलाडी रहिन । यस्तै उत्कृष्ट पुरुष प्रशिक्षकमा जिनेदिन जिदान र महिला प्रशिक्षकमा नेदरल्यान्ड्सकी सारिना वेगमन घोषित भए ।
आर्सनलका ओलिभर जिरोडले सन् २०१७ को उत्कृष्ट गोलका लागि पुरस्कार पाए । उनले जनवरीमा क्रिस्टिल प्यालेसविरुद्ध उत्कृष्ट गोल गरेका थिए । त्यस गोललाई ‘स्क्रोपियन किक’ नाम दिइएको छ ।

Powered by Facebook Comments