हरियाणामा भएको आन्दोलनमा २३ जना सर्वसाधरणको मृत्यु

काठमाडौं :
भारतको एक अदालतले डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि हरियाणामा भड्किएको हिंसामा २३ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । पञ्जाब र हरियाणालगायत थुप्रै स्थानमा राम रहीमका समर्थक र प्रहरीबीच झडप भएको छ ।
हरियाणाको पञ्चुककुला र पञ्जाबको फिरोजपुर, धटिडा र मानसामा कर्फ्यू लगाइएको छ भने फतेहबाद, जयतो र फरिदकोटलाई रेड अलर्टमा राखिएको छ ।राष्ट्रपति रामनाथ कोविन्दले जारी हिंसाको निन्दा गरेका छन् र शान्ति कायम राख्न अपील गरेका छन् ।
मे २००२ मा डेरा सच्चा सौदा प्रमुखमाथि यौन शोषणको आरोप लागाउँदै एक साध्वीले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई पत्र लेखेकी थिइन्, जसको एकप्रति पञ्जाब र हरियाणा उच्च अदालतका मुख्य न्यायाधीश पुगेपछि उच्च अदालतले २४ सेप्टेम्बर २००२ मा यसबारे अनुसन्धान गर्न आदेश दिएको थियो । शुक्रबार पञ्चकुलाको सीबीआई अदालतले राम रहीमलाई दोषी ठहर गरिदियो ।
अदालतले २८ अगष्टमा उनलाई सजाय सुनाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई हिरासतमा लिएर सेनाको नियन्त्रणमा राख्ने फैसला भएको छ । गुरमीत राम रहीमलाई सेनाको वेस्टर्न कमाण्ड मुख्यालयमा राखिएको छ । राम रहीम दोषी ठहर भएको सार्वजनिक भएलगत्तै पञ्जाब र हरियाणामा हिंसा भड्किएको हो । -एजेन्सी

Powered by Facebook Comments