तेक्वान्दोमा पनि म्याच फिक्सिङ ? संघका महासचिवले राष्ट्रघाती काम गरेको आरोप

काठमाडौं ।नेपाली फुटबल खेलाडीले म्याच फिक्सिङ गरेको दुखद घटना सेलाउन नपाउँदै तेक्वान्दो खेलमा पनि उक्त रोग सरेको छ । छनोटबिना नै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराउने गरेको, खेलाडीलाई विदेशमा लगी छाडेकोलगायतका गम्भिर आरोप लगाउँदै तेक्वान्दो सङ्घका मुख्य प्रशिक्षक ध्रुव गुरुङले तेक्वान्दो  संघका अध्यक्ष प्रकाश राणा र महासचिव दीपराज गुरुङविरुद्ध राष्ट्रिय खेलकुद परिषद (राखेप) मा उजुरी दर्ता गराएपछि नेपाली खेलकुद क्षेत्रमा हंगामा मच्चिएको छ ।

 तेक्वान्दोलाई मेनपावरको रूपमा विकास गरेको, खेलाडी र प्रशिक्षकको भत्ता नदिएको, प्रशिक्षकमाथि भेदभाव गरेको, १२औँ सागमा नेपाललाई स्वर्ण पदकविहीन गराउन अहम् र अदृश्य भूमिका निभाएर आर्थिक चलखेल गरेकोजस्ता दर्जनौँ आरोप मुख्य प्रशिक्षक गुरुङले महासचिव गुरुङमाथि लगाएका छन ।  महासचिव दीपराज गुरुङप्रति सङ्गीन आरोप लगाउँदै कारबाहीका लागि राखेपमा उजुरी दिएर मुख्य प्रशिक्षक गुरुङ एकाएक चर्चाका शिखरमा पुगेका छन् । प्रशिक्षक गुरुङ ले उजुरी दिएपछि त्यसको छानबिनका लागि राखेप सदस्यसचिव केशवकुमार विष्टले खेलकुद विकास विभागमा फाइल पठाएका छन् ।

 मुख्य प्रशिक्षक गुरुङले गत वर्ष भारतको सिलोङ र गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्णविहीन बनाउन महासचिव गुरुङले भूमिका खेलेको, सोही सागको बन्द प्रशिक्षणका लागि राखेपले प्रदान गरेको १३ खेलाडी र पाँच प्रशिक्षकको दुई दिनको भत्ता नदिएको तथा विदेशमा खेलाडी भगाउने काम गरेको लगायतका गम्भीर आरोप लगाएका छन् । मुख्य प्रशिक्षक गुरुङले राखेपमा बुझाएको उजुरीपत्रमा भनिएको छ - '‘संघका अध्यक्ष र महासचिवले खेलाडी भनिएका यादव कुँवरलाई क्यानडा तथा मानध्वज लामा, राजकुमार पाण्डे, खम्बा राई, रमेश शाही र प्रमोद मानन्धरलाई दक्षिण कोरिया लगी छाडेका छन्। कुनै खेल संघले म्यानपावर कम्पनीको जस्तो काम गर्न मिल्छ ? ।

 ' मुख्य प्रशिक्षक गुरुङले संघले आफू राखेपले तोकेको मुख्य प्रशिक्षक हुँदाहुँदै पनि आफूसँग कुनै समन्वय नगरेको बताएका छन् । यसअघि दीपराज गुरुङ  राखेपको मुख्य प्रशिक्षक हुँदा सबै काम आफूले गर्दथे । मुख्य प्रशिक्षक गुरुङले संघले भनेका छन्  - ' खेलाडीलाई दिने सर्टिफिकेटमा समेत उहाँकै हस्ताक्षर चाहिन्थ्योु, उहाँले भन्नुभयो, ‘तर उहाँले म मुख्य प्रशिक्षक आएपछि मेरो भूमिकै सबै खोसिदिनुभयो । मुख्य प्रशिक्षकलाई संघको कार्यक्रममा समेत बोलाउनु हुन्न । राष्ट्रिय क्याम्पमा हामीले ट्रेनिङ गराइरहेका खेलाडीलाई हामीलाई नै थाहा नदिई छनोटबिना विदेश लगिएको छ । हामीले संघ पारदर्शी ढंगबाट चल्नुपर्छ भन्दा उहाँ उल्टो अपशब्द प्रयोग गर्नुहुन्छ । बाध्य भएर मुख्य प्रशिक्षकको हैसियतले यो कुरा उठाएको हुँ ।'

 मुख्य प्रशिक्षक ध्रुव गुरुङलाई एक अनलाइनले के महासचिव दीपराज गुरुङकै कारण नेपाल स्वर्ण पदकविहीन भएको हो त ? भनेर सोधेको प्रश्नको उत्तर दिंदै भनेका छन् –  ' राष्ट्रघातीले जे पनि गर्न सक्छ । गुरुङको राष्ट्रियता नै छैन । उनी दुवै हातमा लड्डु बोकेर बसेका छन् । उनको हात्तीको जस्तै देखाउने र खाने दाँत छ । नेपालमा नभए भारतमा उनको स्थान सुरक्षित छ । त्यसैले भारतलाई स्वर्ण पदक दिलाउन उनले राष्ट्रघात गरेका हुन् । त्यसैले उनले नेपालले जित्न सक्ने महिला इभेन्टका माथिका तीनवटा समूह भारतसँग मिलेर काटेका थिए । तर, पछि आफू बच्नका लागि तेक्वान्दो सङ्घ, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबाट आयोजकलाई निवेदन दिन लगाई नाटकसमेत गरेका थिए । परिणाम, नेपाल स्वर्ण पदक जित्ने समूहका प्रतिस्पर्धाबाट बन्चित हुनुपरेको थियो । '

Comments

Top