सर्वोच्च अदालतमा हेलिकप्टरबाट ग्रिनेड आक्रमण

काठमडौं : भेनेजुएलाको सर्वोच्च अदालतमा हेलिकप्टरबाट ग्रिनेड आक्रमण भएको छ । एक प्रहरी अधिकृतले हेलिकप्टर चलाई सर्वोच्च अदालतमा ग्रिनेड फालेको बताइएको छ । सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका भिडियो फुटेजमा मेसिनगन र ठूलो विस्फोटको आवाज सुनिनुअघि प्रहरी हेलिकप्टरले सहरको फन्को लगाएको थियो । राष्ट्रपति माडुरोविरुद्ध आन्दोलन जारी रहेकै बेला यो आक्रमण भएको हो । राष्ट्रपति निकोलस माडुरोले यसलाई ‘आतंकवादी आक्रमण’ भनेका छन् । सर्वोच्च अदालतले विपक्षीहरूको निरन्तर आलोचना गर्दै आएको छ । राष्ट्रपति भवनमा पत्रकार सम्मेलन गरी माडुरोले सर्वोच्च अदालत, न्याय तथा गृह मन्त्रालयमाथि हेलिकप्टर उडाइएको बताए । सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार चार ग्रिनेड अदालतमा प्रहार भएको थियो भने गृहमन्त्रालयलक्षित गर्दै १५ गोली प्रहार भएको थियो । तर, आक्रमणबाट कुनै क्षति भने भएको छैन । तर, माडुरोले भने आक्रमणबाट दर्जनौं हताहती भएको हुन सक्ने बताएका छन् । आक्रमणपछि माडुरोले सेनालाई सतर्क अवस्थामा रहन निर्देशन दिएका छन् । उनले आतंकवादी आक्रमणमा प्रयोग गरिएको हेलिकप्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएरै छाडिने बताएका छन् । हेलिकप्टर चलाउने व्यक्ति ओस्कार पेरेज नामका प्रहरी अधिकृत भएको बताइएको छ । उनले इन्स्टाग्राममा एक भिडियो अपलोड गर्दै निरंकुशताविरुद्ध एक हुन भेनेजुएलाबासीलाई अपिल गरेका छन् । उनले आफूहरूको लडाइँ सुरक्षा बलविरुद्धको नभई सरकारविरुद्ध रहेको बताए । यो कार्यलाई ‘कु’ को आशंका गरिए पनि उनलाई कसको समर्थन छ भन्नेबारेमा भने स्पष्ट भएको छैन । – बीबीसी

Comments

Top