नेपथ्यले सार्वजनिक गर्‍यो मोबाइल फोनबाट खिचिएको ‘घरको कुरा’

काठमाडौं : लोक–रक ब्याण्ड नेपथ्यले आईफोनबाट खिचिएको म्युजिक भिडियो ‘घरको कुरा’ सार्वजनिक गरेको छ । देश माओवादी द्वन्द्वको चपेटामा रहेको बेला १३ वर्षअघि अमेरिका यात्राको क्रममा नेपथ्यका अमृत गुरुङले लेखेको यो गीतको म्युजिक भिडियो भने निकै पछि गत वर्ष अमेरिकामै आईफोनबाट खिचिएको थियो । नेपथ्यले आफ्नो २५ वर्षे उत्सवको कोसेली शृंखला स्वरुप ‘घरको कुरा’ भिडियो सार्वजनिक गरेको हो। १२ वर्षअघिको एल्बम ‘घटना’ मा समावेश यस गीतको भिडियो नेपथ्यले गत वर्ष आइफोन ब्रान्डको मोबाइलबाट खिचेको हो। यो गीत र भिडियोको संयोग के भने नेपथ्यले यो गीत सन् २००४ मा अमेरिका यात्रा गर्दा लेखेको थियो भने गत वर्ष अमेरिका यात्राकै क्रममै भिडियो खिचेको हो। यो गीत त्यतिबेला लेखियो, जतिबेला नेपालमा सशस्त्र द्वन्द्व चर्किएको थियो। नेपथ्यको छैठौं एल्बम प्रकाशित हुँदा एल्बमलाई समालोचकहरुले युद्धको अभिलेख र शान्तिको लागि सांगीतिक प्रयासको रुपमा उल्लेख गरेका थिए। गीतबारे अमृतले भनेका छन्वि–‘देश जाँदा घरको सुख दुःख साट्न साथी खोज्दा सबै व्यस्त पाएँ। कार्यक्रमको बेला बोल्न खोज्दा सबै नाच्ने गीत मै रमाउन चाहे। यस्ता घटना विदेश यात्राको क्रममा नियमित भोग्छौं, मन कुँडिन्छ, तर कलाकारको भावना न हो। हाम्रो काम दर्शक श्रोतालाई मनोरन्जन दिने हो, दिनैपर्छ। तर यस्ता कुराले मन बिथोल्छ अनि भावनालाई गीतमा पोख्यो बस्।’ गीतको भिडियो नेपथ्य सांगीतिक समूहलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले खिचेका हुन्। श्रेष्ठले सुरुमा भिडियो बनाउने उद्देश्यले खिचेको नभई पछिको योजना भएको बताए। भिडीयोमा अमृत, बिभिन्न ठाऊँ भौंतारी हिँडेको देखिन्छ। बीचबीचमा उनले आफूले गरेको यात्रा र फोटोमार्फत् देशलाई सम्झन्छन्। गीतको शब्द, संगीत रचना र प्रस्तुति नेपथ्यले गरेको हो भने भिडियो नेपालयको निर्माणमा पदम बज्रचार्यले दृश्य सम्पादन गरेका हुन्। मोसन ग्राफिक र टाइटलिङ कथा सशांक श्रेष्ठको टोलीले गरेको हो।

Comments

Top