अन्डरवर्ल्ड डन अबु सालेमसहित ६ जना मुम्बई विस्फोटमा दोषी ठहर

 नयाँ दिल्ली । भारतको मुम्बईमा २५० जनाभन्दा बढीको ज्यान जानेगरी भएको विस्फोटनको घटनामा ६ जना दोषी रहेको आतङ्कवादविरुद्धको विषेश अदालतले शुक्रबार ठहर गरेको छ ।

 भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सन् १९९३ मा आतङ्कवादीहरूले श्रृङ्खलाबद्ध विस्फोट गराएका थिए ।  दोषी ठहर हुनेमा आतङ्कबादी गतिविधि गरिरहेको अन्डरवर्ल्ड डन अबु सालेम पनि रहेका छन् ।

 उनी भारतमा विस्फोट गराएपछि फरार भएका थिए । उनलाई सन् २००५ मा पोर्चुगलबाट फिर्ता ल्याइएको थियो भने अर्को दोषी ठानिएका मुस्ताफा दोसालाई युनाइटेड अरव इमरेट्सबाट ल्याइएको थियो ।

   सालेम २० वर्ष पुरानो हत्याकाण्डमा दोषी ठहर भई भारतको ‘मस्ट वान्टेड’ सूचीमा रहेका र मस्ट वान्टेड दाउद इब्राहिमका सहयात्री हुन् ।  सन् १९९३ मार्च १२ मा मुम्बईका विभिन्न ठाँउमा २५७ जनाको मृत्यु हुनेगरी छोटो समयमा विभिन्न स्थानमा श्रृङ्खलाबद्ध रूपमा १३ वटा विस्फोट भएका थिए । ती विस्फोटमा परी कम्तीमा ७०० जना घाइते भएका थिए ।

Comments

Top