राष्ट्रिय खेल अब भलिबल

काठमाडौं : बलिबल अब हाम्रो राष्ट्रिय खेल बनेको छ । राष्ट्रिय खेलका विषयमा लामो समयदेखिको बहस हुँदै आएको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो । यसअघि डण्डिबियो र कबड्डीलाई राष्ट्रिय खेल भनिदै आइएको थियो । तर, त्यसलाई सरकारले मान्यता भने दिएको थिएन । सानो स्थानमा खेल्न सकिने, नेपालको जस्तो भौगोलिक अवस्थामा जताततै खेल्न सकिने र थोरै बजेटमा सम्पन्न हुने तथा सबै नेपालीको पहुँचमा पुग्न सक्ने भएकाले भलिबल राष्ट्रिय खेल हुनुपर्ने माग नेपाल भलिबल एशोसियसनले सुरुदेखि नै गर्दै आएको थियो । राष्ट्रिय खेल बनाएपनि नेपालमा भलिबल खेल्न एउटै सुविधासम्पन्न कवर्डहल छैन । त्रिपुरेश्वरमा भएको हल पनि २०७२ सालको भूकम्पले क्षतविक्षत भएको र अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । कमजोर भौतिक संरचनाका बावजुद भलिबल प्रतियोगिताहरु देशभर नै भइरहेका छन् ।

Comments

Top