नेपाली काँग्रेस नेपाली जनताको साझा पार्टी : प्रधानमन्त्री देउवा

स्याङ्जा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शासन पद्धतीको एक मात्र पार्टी नेपाली काँग्रेस मात्रै भएको वताएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजार र वालिङ नगरपालिकाको खेलमैदानमा चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको हरेक परिवर्तनको वागडोर सम्हालेको पार्टी नेपाली काँग्रेस नेपाली जनताको साझा पार्टी भएको उल्लेख गरे । बामगठबन्धनले मुलुकलाई अधिनायकवाद तर्फ धकेल्न खोजेको वताउँदै प्रधानमन्त्री देउवाले काँग्रेसले कहिल्यै नेपाली जनतालाई दुःख नदिएको, हत्या हिंसा नगरेको  बताए । बामगठबन्धले मात्रै समृद्ध मुलुक बनाउने भाषण गर्दै हिड्ने एमाले अध्यक्ष र माओवादी अध्यक्ष प्रति लक्षीत गर्दै देउवाले भने,“समृद्धको नारा थाहा नपाएका गठबन्धनले कसरी मुलुकलाई समृद्ध बनाउन सक्छन् ।” स्वदेशी र विदेशी लगानी नल्याए सम्म मुलुक समृद्ध बन्न नसक्ने र कम्युनिष्ट शासन आएमा बैदेशिक लगानी नआउने उनले भने । चुनावी आमसभामा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अव लोकतन्त्रको ढोका बन्द गर्ने सपना नदेख्न बामगठबन्धलाई चेतावनी दिए । अव विकासको ढोका खुलेको छ बरिष्ठ नेता पौडेलले भने,“नेपाल लोकतन्त्रको बाटोमा हिडिसकेको छ ।” मुलुकमा प्रजातन्त्र आएपछि विकासको ढोका खुल्यो भन्यौ पौडेलले भने,“नेपालका कम्युनिष्ट पार्टीले बेला बेलामा आतंक, हिंसात्मक गतिविधि र वितण्डा मच्चाएकाले विकासको गति हुन सकेन ।” लोकतन्त्र कमजोर भयो भने नेपाली जनता कमजोर हुने बताउदै पौडेलले अव जंगबहादुरवाद र महेन्द्रवाद नेपालमा कहिल्यै नआउने बताए । नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्याङ्जा क्षेत्र नं। २ का प्रतिनिधि सभा उमेदवार गोपालमान श्रेष्ठले स्याङ्जाको विकास सगै समृद्ध बनाउन मेरो उमेदवारी रहेको बताए । हरेक विकासको शुरुवात काँग्रेस बाटै शुरु भएको बताउदै श्रेष्ठले मुलुकको भविष्य काँग्रेसकै हातमा रहेको दावी गरे । अर्का नेता निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालका कम्युनिष्ट पार्टीले संविधान उल्टाउने, व्यवस्था बदल्ने र ५० बर्ष कम्युनिष्ट शासन गर्ने बताउदै आएको बताए । नेपालमा कम्युनिष्ट शासन आउने सपना नदेख्न खाँणले चुनौती दिए । नेपालभरी काँग्रेसमय र लोकतान्त्रिक शक्तिमय भएकोले यो निर्वाचनमा लोकतान्त्रिक शक्तिको विजयी भइसकेको बताए ।

Comments

Top