आईएनजीओकी तलवी डा.चौधरी स्वास्थ्य सचिवको दावेदार

काठमाडौं । दोहोरो सुविधा लिएका कारण विवादमा तानिएकी स्वास्थ्य मन्त्रालयकी प्रमख विशेषज्ञ (बाह्रौ तह) मा कार्यरत डा.पुष्पा चौधरी मन्त्रालयको सचिवका लागि दौडधुपमा लागेकी छन् । एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट बिगत तीन वर्षदेखि महिनाको डेढ लाख रुपैया (१५ सय अमेरिकी डलर) तलव लिइरहेको प्रमाण फेला परेपछि उनी विवादमा तानिएकी थिइन् । विवादास्पद् चिकित्सकलाई स्वास्थ्य सचिव जस्तो जिम्मेवारपूर्ण पदमा नियुक्त नगर्न सरकारलाई स्वास्थ्यका कर्मचारीहरुले खवरदारी गरेका छन् । स्वास्थ्य मन्त्रालयकी सचिव डा.किरण रेग्मी यसै हप्ता सेवा निवृत भएपछि सरकारले छिट्टै नयाँ सचिव नियुक्त गर्ने भएको छ । मन्त्रालयको सचिवको लागि बाह्रौ तहमा कार्यरत तिन जना चिकित्सक सिफारिस हुने संभावना रहेको र तिमध्ये एकजनालाई मन्त्रीपरिषद्ले सचिवमा नियुक्त गर्ने छ । स्वास्थ्य मन्त्रालयमा अहिले डा. विनोदमान श्रेष्ठ, डा. सुशिल प्याकुरेल र डा. पुष्पा चौधरी गरि तिन जना बाह्रौ तहमा कार्यरत छन् । स्वास्थ्य सेवा ऐनले स्वास्थ्य सेवामा कार्यरत कुनै पनि सरकारबाट तलव सुविधा लिइरहेको कर्मचारीले अन्य राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाबाट दोहोरो तलव लिन पाइदैन् । तर, डा. चौधरीले जनवरी १, २०१५ देखि २०१७ डिसेम्बर सम्मका लागि तीन वर्षका लागि महिनाको डेढ लाख (१५०० अमेरिकी डलर) पाउने सर्तमा स्त्री रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय संगठन फिगोसंग आफू कार्यक्रम संयोजकका रुपमा काम गर्ने गरि सम्झौता गरेकी थिइन् । उनी त्यति बेला परिवार स्वास्थ्य महासाखाकी निर्देशक थिइन् । यसका साथै उनले उक्त संस्थाको कार्यालय आफ्नै घरमा राख्ने सम्झौता गर्न लगाएर श्रीमान् डा. श्रवण चौधरीलाई घरधनी बनाई महिनाको ४० हजार थप लिएकी छन् । डा.चौधरीको यस किसिमको गैरकानूनी कार्यको विषयमा स्वास्थ्य मन्त्रालयमा उजुरी परेको थियो । मन्त्रालयले त्यसका बिषयमा जानकारी गराउन नेसोगलाई पत्र पठाएको थियो । डा.पुष्पाले विदेशी संस्थाबाट मासिक डेढ लाख रुपैया लिने गरेको पहिले उनी अध्यक्ष रहेको स्त्री रोग विशेषज्ञ समाज (नेसोग) की अध्यक्ष डा. लता बज्राचार्यले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेकी थिइन । लामो समय प्रसूति गृहमा कार्यरत डा. चौधरी आफू त्यहाको निर्देशक भएका बेला (सन् २०१३ देखि २०१५ सम्म) नेसोगकी अध्यक्ष समेत थिइन । त्यही बेला उनले पिपिआईयूडी नामक प्रोजेक्ट सञ्चालनका लागि फिगोसँग सम्झौता गरेर आफू तलवी संयोजक भएकी थिइन । केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका रामजनम चौधरीले डा.चौधरीलाई कारवाही गर्नुको सट्टा परिवार स्वास्थ्य महासाखाबाट स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बनाएर जोगाएका थिए । काठमाडौंबाट कहिल्यै बाहिर सरुवा भएर नगएकी डा. चौधरी प्रशासन चलाउन समेत असक्षम मानिन्छिन् । पूर्व स्वास्थ्य मन्त्री गगन थापाले उनलाई विभागको निमित्त महानिर्देशकबाट हटाएर मन्त्रालय सरुवा गरेका थिए । महानिर्देशकबाट डा. चौधरीलाई नहटाउन त्यति बेला पूर्व मन्त्री थापालाई उनका पति डा. श्रवण चौधरीले भारतीय दुतावास मार्फत दवाव दिन लगाएका थिए । वीर अस्पतालका पूर्व निर्देशक डा. श्रवण चौधरी त्यति बेला काठमाडौंस्थित भारतीय दुतावासमा मेडिकल कन्सल्टेन्टका रुपमा कार्यरत थिए । भारत माइती भएकी डा. चौधरीको नागरिकता र जन्म मिति समेत विवादको घेरामा रहेको मन्त्रालय स्रोतले बताएको छ । राजधानी बाहिर सेवा नगरेकाले डा. चौधरीलाई राजधानी बाहिरका स्वास्थ्य संस्थाको न त समस्या थाहा छ न समाधानका उपाय नै । यसका अलावा डा. चौधरीले पैसाभन्दा ठूलो केही नदेख्ने भएकाले स्वास्थ्य क्षेत्रमा कार्यरत दातृ निकाय पनि खुशी छैनन् । डा. चौधरी निमित्त महानिर्देशक भएका बेला कर्मचारी सरुवामा करोडौ कमाएको विभागका कर्मचारी बताउँछन् । अहिले पनि डा. चौधरी पैसाको बलमा मन्त्रालयको सचिव बन्ने सपना पालिरहेकी छन् । मन्त्रालयका एक अधिकारीले भने–‘स्वास्थ्य मन्त्रालयलाई अहिले अनुभवी र स्वच्छ नेतृत्वको खाचो छ । स्वास्थ्यलाई संघियता अनुसार विस्तार गर्नु पर्ने बेला राजधानी नछोडेको नेतृत्वबाट संभव छैन । त्यसका लागि डा. चौधरी उपयुक्त पात्र होइन ।’ मन्त्रालयका अर्का उच्च अधिकारले डा. चौधरीलाई सचिवमा बढुवा होइन, छानविन जागिरबाट बर्खास्त गरेर कारवाही गर्नु पर्ने बताए । यूनाइटेड पोस्ट साप्ताहिकबाट  

Comments

Top