सौराहको हात्ती महोत्सवमा पेन्टिङको चर्चा

चितवन । चितवनको सौराहमा ‘१४ औं चितवन हात्ती महोत्सव’ शुरु भएको छ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा मंगलबारबाट शुरु भएको महोत्सव शनिबारसम्म चल्नेछ । महोत्सवमा विभिन्न संघ संस्थाहरुले आ–आफ्नो स्टल राखेर स्वदेशी तथा विदेशी पर्यटकहरुलाई व्यवसायका बारेमा जानकारी गराइरहेका छन् । नेपालमा नै पहिलो पटक स्थापना भएको वन डे पेन्टिङ आर्ट एण्ड डेकोर प्रालिले पनि महोत्सवमा पेन्टिङ र आर्टको बारेमा पर्यटकहरुलाई जानकारी गराइरहेको छ । प्रालिले महोत्सवमा ‘फेस आर्ट’, ‘क्यानभास आर्ट’ तथा साजसज्जा सम्बन्धि सेवा र सुविधा पनि प्रदान गरिरहेको छ । घर तथा कार्यालयहरुमा विभिन्न किसिमको आर्ट गर्दै आएको वन डेले महोत्सवमा स्टल नै राखेर पेन्टिङको बारेमा जानकारी दिएको वन डेका निर्देशक एवम् कलाकार ओमबहादुर दर्नालले जानकारी दिए । विदेशी तथा स्वदेशी पर्यटकहरुलाई पेन्टिङको बारेमा जानकारी गराउन पाउँदा अत्यन्तै खुसी लागेको वन डेका बजार व्यवस्थापक शेखर आचार्यले बताए । वन डेले महोत्सवमा गरेको ‘फेस आर्ट’ र ‘क्यानभास आर्ट’ का कारण चर्चा कमाएको छ । वन डेको स्टलमा शरिरमा आर्ट गराउनकै लागि विदेशी तथा स्वदेशी पर्यटकहरुको भिड लाग्ने गरेको दर्नाले जानकारी गराए । कम्पनीले आर्ट एण्ड डेकोरको काम रसिया र इटालीमा आयातित रङबाट गर्दै आएको छ । ललितपुरको कुपन्डोलमा मुख्य कार्यालय रहेको कम्पनीले निकट भविश्यमा चितवनलगायत पर्यटकीय शहरहरुमा शाखा विस्तार गर्ने योजना समेत बनाएको दर्लानले बताए । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको पर्यटन व्यवसायलाई राष्ट्रिय अर्थतन्त्रसँग जोडेर विकास गर्नुपर्ने बताएका थिए । उनले पर्यटन आगमनलाई वृद्धि गर्न पूर्वाधार निर्माण र सेवाको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको विचार राखे । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महोत्सवका संयोजक दीपक भट्टराईले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । चितवनको पर्यटन प्रर्वद्धनको लागि क्षेत्रीय होटल संघले हरेक वर्ष सौराहामा चितवन हात्ती महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवअन्तर्गत हात्ती फाष्टवाक, हात्तीका छावाबीच रोमाञ्चकारी फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगिता तथा हात्तीको वनभोज कार्यक्रम हुने संघका सदस्य जितबहादुर तामाङले जानकारी दिए । पर्यटकीय नगरी सौराहमा हुने यस्ता खालका महोत्सवले पर्यटन व्यवसायमा टेवा पुग्ने होटल रेन फरेस्ट सौराहाका सञ्चालक ज्ञानकुमार विष्टले बताए ।  

Comments

Top