प्रहरी संरक्षणमा सडकमा यातायात व्यवसायीको गुण्डाराज

यदुनाथ बन्जरा/ पोखरा । पोखरावाट मुक्तिनाथ जान बस रिजर्भ गरेर गएका झापाका यात्रुहरु वेनीमा दुव्र्यवहारको शिकार बने । म्याग्दी यातायात व्यवसायीहरुको संस्थामा आवद्ध बस व्यवसायीहरुले पोखराबाट गएका यात्रुहरुलाई बलपूर्वक उतारेर उनीहरुले आफ्नो बसमा हालेर मुस्ताङको जोमसोम तर्फ पठाइएको एक यात्रुले टेलिफोन मार्फत  हामीलाई जानकारी गराएका छन् । मेची झापाका २५ जना यात्रुहरु पोखरावाट मुस्ताङ यातायात समिति अन्तर्गतको ग१ख ५५१६ नम्वरको बस रिजर्भ गरेर मुक्तिनाथ दर्शनको गएका थिए । तर, उनीहरु सवार बसलाई म्याग्दी यातायात समितिका सञ्चालकहरुले छेकथुन गरि यात्रुहरुलाई बसबाट झारेर सोही समितिमा दर्ता भएको ग१ख ६१०९ नम्वरको बसमा हालेर जोमसोन पठाएका थिए । बेनीको सदरमुकाम म्याग्दी बजारमै यात्रुहरुलाई दुव्र्यवहार गर्दा पनि राज्यका निकायहरु मौनता साधेर बसेका छन् । म्याग्दी प्रहरी प्रमुख डिएसपी बसुन्धरा खड्काको नेतृत्व समेत सिण्डिकेटको पक्षपोषण हुने गरि भएको दुव्र्यवहारको घटनाप्रति कुनै प्रतिकृया नजनाई मुकदर्शक बसेपछि म्याग्दी यातायात व्यवसायी समितिको मनोवल बढेको छ । जसले गर्दा आउँदा दिनमा धवलागिरी अञ्चलमा सिण्डिकेट पक्षधरहरुबाट यस्तो ज्यादता बढ्ने सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । वेनी प्रहरीले दिनदहाडै यातायात क्षेत्रमा भएको दादागिरीलाई नियन्त्रणमा लिनुको सट्टा उल्टै सिण्डिकेट पक्षधार समितिहरुको निर्देशनमा रिजर्भ बसहरुसँग टिप शुल्क, रिजर्भ शुल्क काटेको रसिद र म्याग्दी वा पृथ्वी समितिको चलानी मागेर हैरानी दिंदै आएको बताइएको छ । कानूनतः वाटो ईजाजत प्रमाण पत्र (रुट पर्मिट) र विमा अद्यावधी भएका सवारी निर्वाध गन्तव्यमा पुग्न पाउँछन् । तर, म्याग्दीमा राज्यको कानून चल्दैन ठूला यातायात समितिको आदेश र निर्देशन चल्दै आएको छ । त्यहाँ राज्यका प्रहरी प्रशासन समेतलाई दवाव र प्रभावमा राखेर यातायात व्यवसायी संघ संस्था र समितिहरुले आफ्नो कानुन चलाउँदै आएका छन् । पुष १ गते वेनीमा घटेको मुस्ताङ यातायातको यात्रु बस र यात्रुमाथि भएको दुव्र्यवहार प्रकरण स्पष्ट उदाहरण बनेको छ । म्याग्दी प्रहरी प्रमुख डिएसपी खड्कासँग यात्रु माथि भएको दुव्र्यवहार घटना बारेमा जिज्ञाशा राख्दा उनले त्यसलाई सामान्य रुपमा लिइन । सिण्डिकेट पक्षधरसँग मेलमिलाप गरि सर्वसाधारणलाई दुःख दिने घटनालाई सामान्य बताउने खड्काले ठूला यातायात व्यवसायी संघ संस्थाहरुको दादागिरी नियन्त्रण गर्न भन्दा तिनैलाई संरक्षण गर्न लागिपरेको वुझिन आएको छ । मुस्ताङ जिल्लामा व्याप्त यातायात क्षेत्रको एकाधिकार तोड्न गत वर्ष देखि नै यस क्षेत्रका क्षेत्रीय प्रहरी प्रमुखको कसरतले पाएको उपलव्धि विरुद्ध प्रयासहरु सुरु भएका छन् । यस प्रदेशका प्रहरी प्रमुख एआइजी कमलसिंह वमले वेनीमा भएका यात्रु बस र यात्रु माथिको दुव्र्यवहारको कारण पहिल्याएर दोषीलाई कानूनी कठघरामा उभ्याउने काम हुने अपेक्षा गरिएको छ । दुव्र्यवहाराको शिकार भएका यात्रुले वेनीका डिएसपीबाट न्याय निसाफ र सुरक्षाको अनुभूति नहुने भएपछि प्रदेश प्रमुखको कार्यालयमा समेत टेलिफोन मार्फत गुनासो जाहेर गरेका छन् । सर्वोच्च यातायात व्यवसायी महासंघका क्षेत्रीय संयोजक लेखनाथ सुवेदी नेपाल सरकराले तोकको नीति, नियम र निर्देशन पालना गरेका सम्पूर्ण सार्वजनिक सवारी साधनहरुले निर्वाध सेवा सञ्चालन गर्न पाउनु पर्ने बताउँछन् । राज्यद्धारा स्वीकृत रुट कायम सडकमा यातायात सेवा ऐन वमोजिम चल्ने भाडाका बसहरुले सेवा सुचारु गर्न पाउने भएपनि केही ठूला भनिने यातायात समितिले सडकमा गुण्डाराज चलाउन खोजेको र त्यसलाई प्रहरी प्रशासनले संरक्षण गरेको उनले आरोप लगाए । यता वेनी ट्राफिक इञ्चार्ज प्रहरी नायव निरीक्षक शिव पाठकसँग बुझ्दा आफूले समितिको होइन राज्यको नीति नियम र निर्देशन वमोजिम चेक जाँच अनुगमन र कारवाही गर्ने बताउँछन् । ‘हामीले कुनै समितिको चलानी र टिप सुल्क हेर्ने होइन रुट इजाजत र यात्रु विमा र जाँच पास हेर्ने हो’–पाठकले भने । उनले त्यसो भने पनि वेनी प्रहरीले यात्रुको मानमर्दन गर्ने गरि भएको दुव्र्यवहार कर्तालाई कुनै कारवाही नै गर्न चाहेन यो घटनाले धवलागिरी अंचलको प्रमुख पर्यटकीय गन्तव्य मुक्तिनाथ दर्शनमा जाने यात्रुहरु अझै पनि सास्ती र त्रासमुक्त हुन सक्ने अवस्था छैन । तर, म्याग्दीका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लामा कुनै पनि सिण्डिकेट स्थापित हुन नदिने प्रतिवद्धता जनाउँदै त्यस्ता खालका गुण्डा गर्दी र दुव्र्यवहार गरेको उजुरी आएमा आफूले कडा रुपमा कारवाही गर्ने जनाएका छन् ।  

Comments

Top