सिरोहियाबिरुद्द धम्की दिएको भन्दै सुमार्गीले दिए उजुरी, बिबाद पुग्यो प्रहरीमा

काठमाडौं ।  व्यापारी अजेयराज सुमार्गी र कान्तिपुर  मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबीचको बिबाद चर्किएको छ।

सिरोहियाले आफूसँग बार्गेनिङ गर्दै आएको र उनको त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूविरुद्ध मिडियाको दुरूपयोग गरेको आरोप सुमार्गीले लगाएका छन्।

 मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्ष  सुमार्गीले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दर्ता गराएका छन्।

 निवेदनमा कान्तिपुरका सञ्चालक कैलाशले आफूलाई बेचेको जग्गा पुरानै मूल्यमा फिर्ता गर्न नमानेपछि आफूविरुद्ध आधारहीन समाचार प्रकाशन तथा प्रसारण गरेको उल्लेख गरेका छन्।  सुमार्गीले प्रशासनमा दिएको निवेदनमा आफ्नो सामाजिक तथा व्यावसायिक मान प्रतिष्ठामा क्षति पुर्‍याउँदै आफू र आफ्नो परिवारविरुद्ध भौतिक आक्रमणसमेत गराउन सक्ने भन्दै आफू तथा आफ्नो व्यापार व्यवसायसमेतको सुरक्षा दिन अनुरोध गरेका छन्।

 २०७४ सालमा सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्ड्रष्ट्रिज प्रालिले कान्तिपुरका कैलाश र उनकी पत्नी स्वस्तिका शेयरधनी रहेको काठमाडौं मार्ट प्रालिका नाममा दर्ता भएको काठमाडौंको तीनकुनेस्थित जग्गा खरिद गरेको थियो। ५ रोपनी ९ आना क्षेत्रफलको उक्त जग्गा खरिद गरेको एक वर्षपछि कान्तिपुरका सञ्चालक कैलाशले सो जग्गा पुरानै मूल्यमा मागेको जिल्ला प्रशासनमा दर्ता गरिएको निवेदनमा उल्लेख छ।

 पुरानै मूल्यमा जग्गा दिन नसकेपछि कान्तिपुरका सञ्चालक कैलाशले 'भने बमोजिम नभएमा आफूलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिएको' पनि  सुमार्गीले आरोप लगाएका छन् । सुमार्गीले दिएको निवेदन दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै महानगरिय प्रहरी परिसर काठमाडौंलाई आवश्यक कारवाहीका लागि पत्राचार गरिसकेको  छ। सिरोहियाले भने सुमार्गीले लगाएको आरोप असत्य रहेको र उन्को अवैध सम्पत्तिमाथि राज्यले छानविन गरेर कारवाही गर्नु पर्ने केही अनलाइनमार्फत खन्डन गरेका छन्

Comments

Top