फेरि रोकियो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम

भैरहवा : नेपालमा जुनसुकै परियोजना पनि तोकिएको समयमा निर्माण हुन सकेका छैनन् । विभिन्न वहानामा सम्पन्न हुने समय सर्दै जान्छ । राजधानीमा मेलम्चीको पानी ल्याउन पहिलो पटक तोकिएको समय वितेको पाँच वर्ष भइसक्यो । तर, पनि अझै सुरुङ मार्ग नै निर्माण हुन सकेको छैन । त्यस्तै पोखरामा निर्माणधिन अन्तर्राष्ट्रिय विमानस्थलको हालत पनि उस्तै छ । ठूला भनिएका हाइड्रो पावर पनि विभिन्न कारणले भनेको समय भन्दा निकै पर धकेलिएका उदाहरणहरु धेरै छन् । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि एउटा उदाहरण हो । जसमा, विभन्न खालका अवरोधहरु आइरहेका छन् । काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै समस्या आइरहेको सन्दर्भमा भैरहवा र पोखरामा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले केही हदसम्म समस्या टर्नेमा दुई मत छैन । तर, यहाँ पनि विभिन्न समस्याहरु देखिदा सोचे अनुरुप काम अगाडि बढ्न सकेको छैन । अहिले पनि किसानहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा बाधा पु¥याएका छन् । यति ठूलो राष्ट्रिय गौरवको आयोजनामा मुआव्जा नै वितरण नगरी काम गरिन्छ भने अवरोध आउनु ठूलो कुरा होइन । र, यो विषयमा सम्बन्धित निकाय पनि जानकार छ । तर, समय तालिका पर सार्नकै लागि यस्ता अवरोधका कुराहरु बाहिर आउने गरेको तथ्यहरु पनि सर्वाजनिक भइरहेका छन् । अधिग्रहणमा परेका किसानहरु छिटो र सहज रुपमा मुआब्जा पाउनु पर्ने माग राख्दै सोमबारदेखि आन्दोलित भएका हुन् । आन्दोलित जग्गाधनी किसानले आज बिहानैदेखि आयोजनाको निर्माणाधिन धावनमार्गको काम ठप्प पार्नुको साथै आयोजनाबाट धावनमार्गतर्फ निर्माण सामाग्री लैजाने मुख्य गेटमा तालाबन्दी गरेका छन् । मुआब्जा सहज रुपमा उपलब्ध गराउनेतर्फ आयोजनाले सहजीकरण नगरेको, मुआब्जा लिनकालागि आवश्यक कागजात पेश गर्दा नापी, मालपोत, वन लगायतका कार्यालयका कर्मचारीले धेरै दिनसम्म अल्झाएर दुख दिने गरेको, केही कर्मचारीले किसानसंग अतिरिक्त पैसा माग्ने गरेको, चाँडो मुआब्जा उपलब्ध गराईदिने भन्दै बिचौलियाले २–३ प्रतिशत कमिशन माग्ने गरेको आरोप आन्दोलित किसानको छ । जग्गा अधिग्रहणमा परेपछि जोतभोग पनि गर्न नपाइने र मुआब्जा पनि नपाइनाले आर्थिक समस्यामा परेको भनाई आन्दोलित किसानको छ । डेढ महिना अघिपनि उनिहरु येही माग राखेर आन्दोलित थिए । तर, सरोकारवालाले अझै पनि समस्या समाधान गर्न नसक्दा केही खोट भन्ने पक्कै देखिन्छ । गौतम बुद्ध विमानस्थललाई सम्पुर्ण भौतिक पुर्वाधारसहितको अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निर्माणकालागि पछिल्लो पटक दुई वर्ष अघि थप ५ सय बिगा जमिन अधिग्रहण गरिएको हो । यो अधिग्रहण पश्चात् गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल ७ सय ८७ बिगा कायम भएको छ । पछिल्लो पटकको घर जग्गासहित जग्गा अधिग्रहणमा पर्नेको संख्या २ हजार भन्दा धेरै छ । मुआब्जाकालागि आयोजनाले २३ अर्ब रुपैयाँ वितरण गर्ने भएको छ । हालसम्म करिव ७० बिगा जमिनकालागि साढे ३ अर्ब रुपैयाँ वितरण भएको छ । यता आयोजना प्रमुख ओम शर्मा भने नापी कार्यालयमा आवश्यकता अनुरुप जनशक्ति नहुँदा जग्गा छुट्याउन समय लाग्ने गरेकाले किसानले मुआब्जाका लागि धेरै दिन कुर्नुपर्ने बाध्यता भएको बताएर पन्छिन खोज्छन् । किसानहरु भने उनको कार्यशैलीप्रति नै रुष्ट बनेका छन् । एक दिनको कामलाई चार दिन लगाउँदा पनि समस्या देखिएको उनीहरुको भनाई छ । यस्ता आयोजनाहरु छिटो बनाउन पहल गर्नु पर्नेमा विभिन्न वहानामा ढिला हुँदा हामी सबैलाई घाटा पर्ने हो । यसतर्फ सरकारको पनि ध्यान जान जरुरी छ ।

Comments

Top