नेतृत्व ठीक नहुँदा कांग्रेसमा समस्या, सुधारका लागि कदम चाल्छु : सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई चुनावअघि नै पद त्याग्न र भावि प्रधानमन्त्रीको रुपमा अर्को व्यक्तिलाई अघि सार्न आफूले सुझाव दिएको तर, नमानेको बताएका छन् । नेता सिंहले कांग्रेसको अवस्था अत्यन्तै एन्टिकरेन्ट रहेको, देउवाले सरकारको नेतृत्व गरेपछि कांग्रेसमा सन्तोषजनक फिलिङ नभएको, कांग्रेसलाई समर्थन गर्नेहरुको पनि चित्त नबुझेको भन्दै पार्टी सभापति देउवालाई बिचार गर्न आग्रह गरेको बताएका हुन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेता सिंहले भने मैले बिचार गर्नुपर्छ है पार्टी सभापति ज्यू भन्दा उहाँले के गर्नुपर्छ भन्नुभयो । त्यसपछि मैले गिरिजाबाबुले किसुनजीलाई अघि सारेको जस्तै तपाईंले पनि कसैलाई सार्नुपर्‍यो भनेको थिएँ ।’ तर, आफूले दिएको यो सुझावमा देउवाले ध्यान नदिएको सिंहले बताए । कांग्रेस मृत अवस्थामा पुगेको भन्दै धेरै गुनासा र सुझावहरु आए पनि बेवास्ता गर्दा चुनावको नतिजामा असर परेको उनको ठहर छ । वर्तमान नेतृत्व ठीक नहुँदा कांग्रेसमा थुप्रै समस्या देखिएको भन्दै उनले अब कांग्रेसलाई सुधार ल्याउने काममा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताए । उनले राम्रा काम गर्नका लागि काठमाडौंबासीसँग सुझावसमेत मागेका छन् । आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको काठमाडौं क्षेत्रनम्बर १ मा धेरै विद्वान र अनुभवी व्यक्तिहरु रहेको बताउँदै उनले आफूलाई नकारात्मक काममा सचेत गराउन र सकारात्मक सुझाव दिन आग्रह गरे ।

Comments

Top