पोखरेललाई महराको काउन्टर, ‘एउटै व्यक्ति प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न सक्दैन’

दाङ : माओवादी नेता कृष्णबहादुर महराले माओवादी केन्द्र र नेकपा एमालेबीच सम्मानजनक पार्टी एकता हुने भन्दै एकता पछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुने बताएका छन् । दाङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महराले आइतबार बिहान मतदाता भेटघाट कार्यक्रममा एकता पछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुने पनि स्पष्ट पारेका हुन् । एमाले महासचिव इश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुने अभिव्यक्ति दिएको बेला महराले भने प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक हुने बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीले नै पोखरेललाई उक्त अभिव्यक्ति दिन लागाएको भन्दै ओलीको आलोचना भइरहेका बेला महराले यस्तो बताएका हुन् । दुवैपार्टी एक अर्कामा विलय भएर नयाँ पार्टी निर्माण हुने उनको धारणा थियो । पार्टी एकताको प्रक्रिया सुरू भइसकेको भन्दै उनले सरकार गठन र पार्टी एकता सँगसँगै र सम्मान जनक रूपमा हुनुपर्ने जोड दिएका थिए । उनले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने पनि बताए । महराले भने–‘अहिलेसम्म मैले राजनीतिमा हार व्यहोर्नु परेको छैन । यसपटक पनि दाङलाई राजधानी बनाउने कुरामा विजयी हुनेछु ।’ भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको महराको भनाइ छ । बुटवललाई पर्यटकीय शहर र नेपालगञ्जलाई औद्योगिक शहर बनाइने उनले जानकारी दिए ।

Comments

Top