नक्कली प्रमाणपत्रको छानविन विद्यार्थी संगठनसम्म पुग्नुपर्छ

jitjung basnetजीतजंग बस्नेत, अध्यक्षका प्रत्यासी – नेपाली विद्यार्थी संघ

विद्यालय जीवन देखि नै विद्यार्थी आन्दोलमा लागेर लामो समयदेखि विद्यार्थी राजनीतिमा क्रियाशिल रहँदै आउनु भएका जीतजंग बस्नेतले नेपाल विद्यार्थी संघ(नेविसंघ) को महामन्त्री पद समेत सम्हालि सक्नु भएको छ । नेपाली कांग्रेसको भातृ संस्था नेविसंघको ११ औं महाधिवेशनको पूर्व सन्ध्यामा अध्यक्ष पदका दाबेदार रहनु भएका बस्नेतलाई सम्भावना बोकेका नेताका रुपमा पनि हेर्ने गरिन्छ । नेविसंघको आसन्न महाधिवेशन, एजेण्डा तथा योजनाका विषयमा केन्द्रित रहेर बस्नेतसँग mynewsnepal.comले गरेको कुराकानी :

० अब नेविसंघको महाधिवेशन हुनै लागेको हो ? – अब महाधिवेशनको विकल्प छैन । अहिलेसम्म आठ पटक सम्म महाधिवेशन रोकिसकेको छ । अब पनि तोकिएको समयमा महाधिवेशन नहुने हो भने अन्य संगठनको तुलनामा नेविसंघ निश्चित रुपमा पनि कमजोरको बाटोतर्फ जानेमा कुनै दुईमत छैन । पार्टीको केन्द्रिय समितिले छ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिईसकेको हुँदा महाधिवेशन हुनेमा हामी आशावादी छौं । त्यसकारण जसरी पनि तोकिएकै महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो माग पनि हो ।

० यस्तो माग त पहिले पनि उठेका थिए नि, किन हुन सक्दैन नेविसंघको महाधिवेशन ? – यहि त दुर्भाग्यपूर्ण कुरा हो । कसैलाई जिताउन र कसैलाई हराउनका लागि महाधिवेशन नगर्ने भन्ने कुरै हुँदैन । महाधिवेशन नहुँदा हामी आफै लाज बोकेर हिंडिरहेका छौं । कति जिल्लामा अधिवेशन भएको हो, त्यसको निक्र्यौल गर्नुप¥यो र प्रतिनिधि पठाएर विवाद समाधान गर्नुप¥यो । अझै पनि विभिन्न जिल्लामा विवाद जारी छ । तर, जस्तोसुकै कठिनाई भएपनि तोकिएकै मितिमा महाधिवेशन हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

० प्रतिनिधि छनौटमा जिल्लामा विवाद देखिएको छ नि ? – अहिलेसम्म कति जिल्लामा अधिवेशन भएको छैन, त्यसमा स्पष्ट हुन आवश्यक छ । पहिलेको निर्देशन समितिले ६४ जिल्लामा अधिवेशन भएको भनेको छ । ११ जिल्लामा विवाद छ भने त्यसको समाधान हुनुपर्छ । उद्घाटन मात्र हुने तर, महाधिवेशन नहुने भन्ने अब हुँदैहुँदैन । यदि महाधिवेशन हुने कुरामा ६४ जिल्लालाई पहिलेकै समिति अनुसार तटस्थ राख्ने हो भने त्यो ठिकै छ । तर, यसकै कारण महाधिवेशन हुन कठिन देखिए विवादको समाधान गरिहाल्नु पर्छ । बाँकी ११ जिल्ला र काठमाडौंका आंगिक कलेजहरुको मैदानमा गई अधिवेशन हुनुपर्ने माग पनि छ ।

० तपाईंका एजेण्डा के–के छन् त ? – मैले शैक्षिक रुपान्तरणको एजेन्डा मात्र नभई नक्कली प्रमाणपत्रका कारोबारी, बेचविखन गर्ने गिरोह, निजी कलेजहरुलाई राजनीतिको नाममा बार्गेनिङ गर्ने अखडा बनाउन नहुने कुरालाई मुख्य एजेन्डा बनाएको छु । विभिन्न क्याम्पसमा इकाइ अध्यक्ष बनाउने नाममा निजी कलेजबाट लाखौं रकम असुुलिएको हुँदा विद्यार्थी हकहित, गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार जस्ता मुद्दा ओझेलमा पर्ने गरेका छन् । पैसा नदिएको खण्डमा निजी कलेजमा तोडफोड गरी आतंक सिर्जना गर्ने, पदाधिकारीलाई कालोमोसो दल्ने, टेन्डरमा गुण्डागर्दी गर्ने जस्ता विसंगतिहरुलाई हटाउनु पनि मेरा एजेण्डाहरु हुन् ।

० तपाईं कुन धरातलमा टेकेर अध्यक्षको दावी गरिरहनु भएको छ ? – म विद्यालय जीवन देखि नै राजनीतिमा सक्रिय रहँदै आएको छु । २०५७ सालमा नेविसंघ त्रिविविको इकाइ अध्यक्ष भएर काम गरिसके छु । नेविसंघको महामन्त्री पद र पार्टीले दिएका विभिन्न जिम्मेवारी पनि बहन गरिसकेको हुँदा मैले अध्यक्षको दावी गर्नु स्वभाविक नै हो ।

० तपाईंले आफ्नो तयारी कस्तो गरिरहनु भएको छ ? – मैले आफ्नो तयारीलाई तिब्र बनाएको छु । पार्टी सभापतिले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिए देखि नै म महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ भनेर लागि परेको छु ।

० तपाईंमाथि महाधिवेशन गराउन नचाहने र टिके अध्यक्ष हुन खोजेको भनेर आरोप लागेको छ नि ? – मैले अघि पनि भने जब पार्टीले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दियो, त्यस दिन देखि नै म माहाधिवेशनका लागि दौडिरहेको छु । बाहिर महाधिवेशन हुनुपर्छ भन्ने र भित्रभित्रै भाड्न खोज्ने समूहले यस्तो आरोप लगाएको हुनसक्छ । अर्को समूह पनि भगवण्डा गर्न खोजिरहेको छ । तर, मैले पहिले देखि नै भागवण्डामा नेविसंघको महाधिवेशन हुँदैन भनेर आवाज उठाउँदै आएको छु । त्यसैले म सबैलाई यस्तो हल्लाको पछि नलाग्न म आग्रह गर्न चाहन्छु ।

० तपाईंले नक्कली प्रमाणपत्रको कुरा उठाउनु भयो, के विद्यार्थी संगठनहरुले नक्कली प्रमाणपत्रधारीलाई कारबाही गर्न प्रशासनलाई सहयोग गर्लान त ? – केही समय अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआईवी) ले नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर, पाइलटलाई कारबाही गरेको कुरा एकदमै सह्राहनीय नै हो । अब प्रहरी डाक्टर, इन्जिनियर, पाइलट मात्र नभई विद्यार्थी संगठनमा पनि प्रवेश गर्नु पर्छ । एउटा नक्कली सर्टिफिकेटधारी डाक्टरले विरामीको उपचार गर्दा जति असर पु¥याउँछ त्यो भन्दा बढि नक्कली शैक्षिक प्रमाणपत्रधारी विद्यार्थी नेताले राज्यमा बढि असर पु¥याउँछ । किनकी, देश बनाउन हिंडेका विद्यँर्थी नेताहरु अशिक्षित, अनपढ र अल्पज्ञानी भए भने राज्यमा कस्तो नीति बन्ला ? त्यसकारण मैले विगत देखि नै हाम्रँे संगठन मात्र नभई अन्य संगठनहरुमा पनि शैक्षिक प्रमाणपत्र छानविन गर्नुपर्ने माग राख्दै आएको छु ।

Comments

Top