भाषणलाई भन्दा कामलाई प्राथमिकता दिनुपर्छ

देशको सम्बृद्धि र आर्थिक क्रान्तिका कुरा गरेपनि राजनीतिलाई व्यक्तिगत र पारिवारिक स्वर्थमा प्रयोग गरिंदा पछिल्लो समय मुलुकको राजनीति धमिलो बन्न पुगेको छ । राजनीतिलाई शक्ति, सत्ता, पद र पैसाका लागि प्रयोग गरिन थालेपछि नेपाली जनता समेत निराश बन्न पुगेका छन् । कुर्सी र पदका लागि नै राजनीति गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको बताउनु हुन्छ नेपाली कांग्रेस, काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति राजु श्रेष्ठ । पद र भाषणमा भन्दा पनि काममा विश्वास गर्ने श्रेष्ठ अब राजनीतिक पार्टीले भाषण गर्ने भन्दा पनि जनताको प्रत्यक्ष सरोकारका विषयमा आवाज उठाउनु पर्ने बताउनु हुन्छ । बुबा बालकृष्ण श्रेष्ठ तथा आमा विष्णुदेवी श्रेष्ठको कोखबाट २०२४ सालमा काठमाडौंको हात्तिगौंडामा जन्मनु भएका श्रेष्ठले विद्यार्थी कालदेखि नै राजनीति शुरु गर्नुभएको हो । शान्ति प्रक्रियामा आइसकेपछि पनि तत्कालिन माओवादीको अपहरण परेर सभापति श्रेष्ठले निर्मम यातना सहनु परेको थियो । व्यक्तिगत, पारिवारिक स्वार्थ तथा पद र पैसाका लागि भन्दा पनि देश र जनताको लागि राजनीतिमा लागेको बताउनु हुने श्रेष्ठ यतिबेला सामाजिक, सांस्कृतिक, खेलकुद लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा क्रियाशिल भएर काम गर्दै आउनु भएको छ । श्रेष्ठको राजनीतिक यात्रा, उहाँले गर्नुभएको सामाजिक क्रियाकलाप, नेपाली कांग्रेसको अबको भूमिकालगायतका विषयमा www.mynewsnepal.comका लागि कुमार भण्डारीले गरेको कुराकानी :

raju shrestha1० तपाईको राजनीतिक यात्रा कसरी शुरु भयो ? – काठमडौंको हात्तिगौंडा क्षेत्र पहिले देखि नै राजनीतिक क्रियाकलापमा सचेत क्षेत्र हो । यहाँबाट हरेक राजनीतिक घटनाक्रममा सहभागी हुनेहरुको संख्या अन्य क्षेत्रको भन्दा बढि नै हुन्थ्यो । म पनि यहि जन्मेको र हुर्केकाले सानो उमेर देखि नै हरेक राजनीतिक घटनाक्रममा सहभागी हुन्थे । गणेशमान जी, मनमोहन जी, जेएन कमरेड, माधवकुमार नेपाल लगायतका नेताहरु तत्कालिन(सत्याग्रह हुनुभन्दा पहिलेको) समयमा यहि क्षेत्रमा आउने र भूमिगत रुपमा बस्ने गर्नुहुन्थो । उहाँहरुको सामिप्यताले पनि मलाई राजनीति तिर तानेको हो । ० तपाईले नेपाली कांग्रेस नै किन रोज्नु भयो त ? – नेपाली कांग्रेस प्रजातन्त्रका लागि लड्ने पार्टी, जनताको स्वतन्त्रता र हक अधिकारका लागि क्रियाशिल रहेको पार्टी भएर नै मैले नेपाली कांग्रेसलाई रोजेको हुँ । इतिहासले पनि यो कुरालाई प्रमाणित गरिसकेको छ । निरंकुश राणा शासन, र निरंकुश राजतन्त्रको विरुद्धमा लडेको नेपाली कांग्रेसले जनताको नाममा जनतालाई नै मार्ने ‘कथित जनयुद्ध’मा लागेका माओवादीलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउने काम नेपाली कांग्रेसको नेतृत्वमा नै भएको हो । अर्को कुरा म गणेमान सिंह, जो लौह पुरुष हुनुहुन्छ । उहाँको अभिप्रायले नै मैले नेपाली कांग्रेसलाई रोजेको हुँ ।

० तपाईले राजनीति शुरु गर्दाको अवस्था र अहिलेको राजनीतिक अवस्थामा कस्तो परिवर्तन पाउनु भएको छ ? – त्यतिबेला र अहिलेको राजनीतिक अवस्थामा धेरै नै फरक छ । कतिपय कुराहरु रामो भएका छन् भने कतिपय कुराहरु नराम्रा पनि भएका छन् । जतिबेला म राजनीतिमा लाग्ने कोशिष गर्दै थिए, त्यतिबेला भनेको अहिले जस्तो स्वतन्त्रता थिएन । वि.सं. २०४२÷४३ सालतिर राजतन्त्रको विरुद्धमा सानो कुरा गर्दा पनि त्यसले ठूलो असर पार्दथ्यो । जनताहरुले राजतन्त्र भन्दा बाहेकका कुनै पनि कुरा उच्चारण गर्ने आँट नै गर्न सक्दैन थिए । स्वतन्त्र पत्रकारिता पनि थिएन । पत्रिका भनेको गोरखापत्र मात्र थियो । त्यसमा पनि राजतन्त्रको बारेमा गुनगान मात्र गरिएको हुन्थ्यो । रेडियो टेलिभिजनको त कुरै नगरौं । जनता अन्धकारमा नै थिए । तर, तत्कालिन समयका नेताहरुमा कुर्सी मोह भने पटक्कै थिएन, नेपाली कांग्रेसका हुन् या माले एमालेका नै किन नहुन् । उनीहरुले सबैभन्दा पहिले देश तथा जनता, अनि पार्टी र अन्तिममा मात्र आफ्नो बारेमा सोचेर अघि बढ्दथे । तर, अहिलेको राजनीतिमा भने एकदमै स्वतन्त्रता छ । स्वतन्त्रता सँगसँगै अहिले भाषण गरेर नेता बन्छु भन्नेको संख्या धेरै छ । अहिलेका धेरै जस्ता नेताहरु पहिले आफ्नो, अनि पार्टीको र अन्तिममा मात्र देश तथा जनताको लागि सोच्ने गर्दछन् । विभिन्न सञ्चार माध्ययमा भाषण प्रकाशन र प्रसारण गर्न लगाएर घर र गाडी किन्नका लागि नै नेता बनेकाहरु पनि हाम्रो सामु छन् । उनीहरु खाली कुर्सीका लागि मात्र हानाथाप गरिरहेका छन् ।

० तपाईको अहिलेको राजनीतिक अवस्था चाहिं कस्तो छ ? – मैले अघि पनि भने पहिले र अहिलेको राजनीतिमा आकाश जमिन नै फरक छ । म चाहिं कहिल्यै पनि भाषणबाजीमा लागिन र लाग्दिन पनि । गणेशमान सिंह, किसुनजी जस्ता त्यागि नेताहरु पनि भाषणमा पोख्त हुनुहुन्न थियो । तर, अहिले त भाषण गरेर मिडियाबाजीको माध्यमबाट नै राजनीति गरिरहेका छन् । म चाहिं भाषण र पद भन्दा पनि कामममा विश्वास गर्ने व्यक्ति भएकाले अरुले जे जस्तो गरे पनि म जनताको प्रत्यक्ष सरोकार राख्ने काममा जुटिरहेको हुन्छु । त्यो मैले भन्ने भन्दा पनि मैले गरेको कामले नै बताउने कुरा हो । म पार्टीको कुनै मुख्य पदमा नरहे पनि मैले जनताको प्रत्यक्ष सरोकार रहने क्रियाकलापहरु जस्तैः बेरोजगारीको समस्या, गुणस्तरिय शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदाका विषय, खाने पानी, बाटो विस्तार तथा निर्माण, विद्यालयलगायतमा प्रत्यक्ष सहभागिता जनाएर काम गरिरहेको छु । अर्को कुरा रेमिट्यान्सको भरमा चलेको देशमा दैनिक खाडी मुलुकबाट नेपाली युवाहरुको लाश आइरहेको छ । यस्तो विषयमा कसैले पनि आवाज उठाउन नसकेको बेला म यसलाई कसरी न्यून गर्न सकिन्छ भनेर दिन प्रतिदिन खट्टिरहेको छु । अहले म काठमाडौं क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापति छु । म यतिबेला संगठन विस्तारमा जुटिरहेको छु । अब नेताकोमा कार्यकर्ता धाउने भन्दा पनि कार्यकर्ता कहाँ नेता धाएर संगठन विस्तारमा पार्टी सक्रिय हुनुपर्छ भन्ने मेरो भनाई हो । अहिले म विकास निर्माण र सामाजिक सेवामा जुटिरहेको छु ।

० तपाईको क्षेत्रमा राजनीति कसरी अगाडि बढिरहेको छ ? – क्षेत्र नम्बर ४ मा चाहिं अहिले राजनीति विग्रेको अवस्था छ । जसले(केन्द्रिय स्तरको नेता) पार्टीभित्र गुटबन्दी हुनुहुँदैन भागवण्डा हुनुहुँदैन भन्नुहुन्थ्यो उहाँ नै यतिबेला चार नम्बर क्षेत्रमा गुटवन्दीमा लाग्नु भएको छ । यसले पार्टीलाई पक्कै पनि फाइदा पुग्दैन । म उहाँलाई के भन्छु भने पार्टीमा मुख हेर्ने भन्दा पनि रुख हेर्ने र घर हेर्ने भन्दा पनि झण्डा हेर्ने गर्नुहोस् ।

० तपाईंलाई तत्कालिन माओवादीले अपहरण पनि गरेको थियो, कारण के थियो ? – जनताको नाममा जनतालाई नै मार्ने ‘कथित जनयुद्ध’बाट शान्ति प्रक्रियामा आईसकेको तत्कालिन माओवादीले वि. सं. २०६२÷०६३ को जनआन्दोलन पश्चात मलाई अपहरण गरेर मेरो गाडीलगायत अन्य बहुमुल्य गर गहना समेत लुट्यो । तत्कालिन समयमा लुटिएको मेरो गाडी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कथित जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आउने बेलामा चढ्ने गर्नुहुन्थ्यो । उक्त गाडी बागबजारमा रहेको जानकारी पाएपछि म गाडी लिन जाँदा समेत आक्रमणको प्रयास भएको थियो । त्यतिबेला मलाई उनीहरुले मार्न भनेर नै अपहरण गरेका रहेछन् । तर, वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र विभिन्न पार्टीमा आवद्ध मेरा साथिभाई र शुभचिन्तकहरुको कारणले नै मैले पुनर्जीवन पाएको हुँ । म हात्तिगौंडा क्षेत्रमा सक्रिय भएर राजनीति सँगसँग सामाजिक क्रियाकलापमा लागेको थिए । त्यहि भएर पनि उनीहरुले मलाई अपहरण गरेका रहेछन् । मलाई मारेर उनीहरुले यो क्षेत्रमा राज गर्ने सोच बनाएका रहेछन् । तर, जब म उनीहरुको कब्जाबाट फुत्किए मैले सत्य तथ्य सबैले थाहा पाउनुपर्छ भन्दै माओवादीको ज्यादतिको विरुद्धमा आवाज उठाएँ । गाडि पनि फिर्ता गराएँ । तर, अन्य बहुमूल्य गर गहना, मोटरसाईकल भने अझै पनि उनीहरुसँगै छ । मैले अब त्यसको आश पनि मारिसके । आफ्नै लडाकुको पैसा खाने पार्टीले जनताको सम्पत्ति फिर्ता गर्छ भनेर कसरी विश्वास गर्ने ? यो घटनापछि मैले सिकेको एउटै कुरा के हो भने माओवादी, गुण्डा, र आतंककारीहरुले सधै डर र त्रास सिर्जना गरेर आफ्नो राज कायम गर्न चाहँदा रहेछन् ।

० माओवादीको ज्यादतिविरुद्ध कसरी उत्रनु भयो ? – म आफैलाई उनीहरुले दिएको चरम यातनाका कारण नै म माओवादीको ज्यादति विरुद्ध उत्रिएको थिएँ । तत्कालिन माओवादीले मलाई मात्र होइन कयौं नेपाली जनतालाई चरम यातान दिएकै हुन् । कयौं व्यक्तिलाई अमानविय ढंगले हत्या गरेकै हुन् । तर, उनीहरुका आफन्त र शुभचिन्तकले ज्यान जाने डरले बोल्न नसकेका हुन् । इतिहास हेर्ने हो भने पनि यसको प्रमाणित हुन्छ । जनताको लागि भनेर कथित जनयुद्धमा लागेको माओवादीले १७ हजार जनताका छोराछोरी मार्ने र जनताको घरमा भएको अन्नपात सक्ने बाहेक के काम ग¥यो त ? सरकारमा आएपछि के पाए ति मृतक परिवारले ? कलम कपी बोक्ने बेलामा जनताका छोराछोरीलाई बेरोजगारी र बुर्जुवा शिक्षाको नाममा बन्दुक बोकाएर मारे भने आफ्ना छोराछारीलाई विद्याबारिधि गराएर अहिले टोपी लगाइदिन व्यस्त छन् । सत्ता कब्जा गर्ने रणनीतिमा लागेको माओवादीले तत्कालिन समयमा गाउँ गाउँका जनतालाई राजधानी ल्याएर बाटोमा राखी च्यूरा र तरकारी ख्वाएर सात दिने आम हड्ताल गरेको थियो । माओवादीको उक्त कार्यलाई असफल बनाउनका लागि पनि हामीले बुढानिलकण्ठ क्षेत्रबाट विद्रोह ग¥यौं । जसकारण माओवादी रित्तो हात पर्किएको हो ।

० नेपाली कांग्रेले आफ्ना भातृ संस्थाहरुको महाधिवेशन गर्न सकेको छैन, यसले अप्ठेरो पारेको छैन ? – हामीले भातृ संगठन भन्दा अघि माउ पार्टीको नै कुरा गर्नुपर्छ । नेपाली कांग्रेसले विभिन्न कारणले आफ्नो महाधिवेशन गराउनका लागि पनि विधान संशोधन देखि अन्य दलको समेत सहयता लिनु परेको अवस्था थियो । १३ औं महाधिवेशन गर्दा यस्तो समस्या देखिएको हो । भातृ संस्थाहरुको महाधिवेशन गराउन नसक्नुमा यस अघिको नेतृत्व र जिम्मेवार लिने नेताहरु नै हुन् । त्यसको भागिदार पनि उहाँहरु नै हुनुपर्ने हो । तर, त्यसको प्रत्यक्ष असर भनेको युवा नेताहरुलाई परिरहेको छ । भातृ संस्थामा पनि बस्न नमिल्ने र नसक्ने, केन्द्रमा जान पनि नसक्ने अवस्थामा उहाँहरु हुनुहुन्छ । यसले धेरै नै अप्ठेरो परिस्थिति सिर्जना गरेको छ । मलाई लाग्छ, अहिलेको नेतृत्वले महाधिवेशनको मिति तय गरिसकेकाले अब सबै भातृ संस्थाहरुको महाधिवेशन हुन्छ र यि समस्याबाट पनि उन्मुक्ति पाइन्छ ।

० नेपाली कांग्रेसको नयाँ नेतृत्व अब कसरी अगाडि बढ्ला ? – नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई सफलता सँगसँगै ठूलो चुनौती पनि छ । संविधान कार्यान्वयन, भूकम्प पीडितहरुको पुनस्र्थापना र मधेशमा देखिएको समस्या समाधानका लागि पनि कांग्रेसको अबको भूमिका महत्वपूर्ण हुन्छ । शेरबहादुर देउवाको नेतृत्वले यि सबै समस्यालाई समाधान गरेर अगाडि बढ्ेनमा म विश्वस्त छु । तर, अहिले राजनीति उल्टो दिशातर्फ अगाडि बढिरहेको छ । नेपाली कांग्रेस एक्लैको प्रयासले यि सबै समस्याको समाधान हुन सक्दैन । नेपाली कांग्रेस र नेकपा एमाले एकै ठाउँमा उभिएर हिड्नु पर्नेमा त्यो हुन सकिरहेको छैन । त्यसैले पनि समस्या समाधान हुनेमा शंका उत्पन्न भएको छ । कांग्रेस र एमाले मिल्नुको विकल्प छैन । अर्को कुरा के हो भने पछिल्लो समयमा पार्टी सभापतिमाथि जुन किसिमको टिका टिप्पणी हुने गरेको छ, त्यो गलत हो । अहिलेसम्म नयाँ नेतृत्वले काम गर्न पाएको छैन । धेरै कुराहरु यसअघि नै विग्रिसकेकाले अवको नेतृत्वले त्यसलाई सपार्न खोजिरहेको छ । सरकारको विकल्प खोज्नु पनि प्रतिपक्षको धर्म हो । त्यसैले पार्टी भित्र र बहिरबाट पार्टी नेतृत्वको विरोध गर्नु उचित छ जस्तो मलाई लाग्दैन ।

० तपाई दुई पार्टी सँगसँगै हुनुपर्ने बताउनु हुन्छ तर, नेपाली कांग्रेस नै यतिबेला ओली नेतृत्वको सरकार गिराउन सक्रिय भएको छ नि होइन ? – वर्तमान सरकार यति अप्ठेरो तरिकाले निर्माण भएको छ कि कल्पना गर्न पनि कठिन छ । वर्तमान सरकारमा संघीयता नमान्ने, उग्र बामपन्थी विचारधाराका र राजतन्त्र चहियो भन्नेहरु हुनुहुन्छ । अनि कसरी संविधान कार्यान्वयन हुन्छ र जनताले लोकतान्त्रिक गणतन्त्रको प्रत्याभुत गर्न पाउँछन् ? त्यसैले पनि नयाँ सरकारको विकल्प छैन । मैले एमाले नेतृत्वको सरकार गिराएर कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भन्न खोजेको होइन । अब कि त राष्ट्रिय सरकार बन्नुपर्छ या त कांग्रेस र एमाले मिलेर नयाँ सरकार बन्नुपर्छ । कांग्रेसको नेता तथा कार्यकर्ता भन्दा पनि आम नागरिकको हैसियतमा भन्नु पर्दा एमाले र कांग्रेस मिल्नुको विकल्प नै छैन ।

० नेपाली कांग्रेसमा आवद्ध युवाहरुलाई के भन्नुहुन्छ ? – नेपाली कांग्रेसमा जो साथिहरु लागि रहनु भएको छ, उहाँहरुलाई म के आग्रह गर्न चाहन्छु भने नेपाली कांग्रेस भनेको प्रजातान्त्रिक पार्टी हो । अब हामीले विपी, गणेशमान जी, किसुन जी, गिरीजाबाबुको नाम बेचेर पार्टीलाई बचाउने भन्दा पनि सामाजिक तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा आवाज उठाउनु पर्छ उहाँहरुको सुख दुःखमा आफूलाई पनि संलग्न गराउनु पर्छ । घर–घरमा गएर क्रियाशिल सदस्यहरुलाई पुनः जागरुक गराउनु पर्छ । त्यसका लागि हामी सबैले अब पहल थाल्नुपर्छ । चुनावको समयमा माइकिङ गरेर भोट देउ भन्ने भन्दा पनि अहिले देखि नै कांग्रेसलाई भोट दिने वातावरण तयार गर्न हामी सक्रिय हुनुपर्छ । युवाहरु देशका धरोहर हुन्, त्यसैले पनि जुनसुकै संगठनमा भएपनि हामी सबैले आ–आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गर्नुपर्छ । त्यसैले पनि म सम्पूर्ण युवाहरुलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्दछु ।

Comments

Top