राजनीतिसँगै व्यवसायको पनि खाँचो पर्छ

काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा विं.सं. २०३३ सालमा बुबा राजेन्द्र खरेल र आमा देवकी खरेलको कोखबाट जन्मनु भएका महेश खरेल यतिबेला नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. ४ का क्षेत्रीय सभापति तथा नेपाल तरुण दलको केन्द्रिय सदस्य हुनुहुन्छ । खरेल राजनीतिमा मात्र नभई व्यापार व्यवसायमा पनि संलग्न रहँदै आउनु भएको छ । उहाँले साथीभाईहरुसँगको सहकार्यमा काठमाडौंको बानेश्वरमा आनन्द इभेन्टस् एण्ड मिटिङ नामको संस्था स्थापना गरी बैङक्वेट सञ्चालनमा ल्याउने भएको छ भने जलविद्युतमा पनि लगानी गर्नु भएको छ । दोलखा जिल्लामा अपर लाप्चेखोला जलविद्युत परियोजना सञ्चालनका लागि खरेल यतिबेला कानुनी प्रक्रिया पूरा गराउन लागिरहनु भएको छ । आफूसँग भएको स्रोत र साधन परिचालन गरेर नेपालीहरुको भविश्यलाई परिवर्तन गर्नका लागि विदेशबाट फर्केर खरेलले जलविद्युतमा लगानी गर्नु भएको हो । एक दशक बढी अमेरिका बसाइका क्रममा विदेशमा नै व्यवसाय गरेर मनग्ये आम्दानी गर्नुभएका खरेलले अब आफूले मात्र कमाएर हुँदैन नेपाली युवा र देशका लागि पनि केही गर्नुपर्छ भन्ने सोच राखी स्वदेश फर्किएर व्यवसाय शुरु गर्नु भएको हो । व्यवसायमा लगानी गरेर अर्थोपार्जनको स्थान बनाउने र राजनीतिमै पूरै समय विताउन चाहने खरेलसँग नेपाली कांग्रेस र भातृ संस्थाहरुको अवस्था तथा व्यापार व्यवसायका बारेमा mynewsnepal.comका लागि कुमार भण्डारले गरेको कुराकानी :

mahesh kharel nc ० तपाईको राजनीतिक यात्रा कसरी शुरु भयो ? – सत्याग्रहको आन्दोलनताका वि.सं. २०४२ सालमा मेरो बुबालाई सरकारले समातेर जेलमा हालेको रहेछ । म सानै भएकाले होस्टलमा बसेर पढ्दै थिए । त्यति नै बेला प्रिन्सिपल आएर मलाई ‘महेश तिम्रो बुबालाई जेल हालेको छ, धुलिखेलमा’ भन्नु भयो । मलाई साह्रै नै नरमाइलो लाग्यो । झन साथीहरुले महेशको बुबा ‘चोर हो कि डाका’ भन्दै प्रश्न गर्न थाले । झन मलाई असैह्य नै भयो । त्यो कुराले मेरो बालक मानसिकतामा आघात पर्न गयो । अनि मैले मेरो बुबालाई कसले समात्यो भनेर सोधखोज गर्दा पञ्चायलते समातेको पत्ता लगाए । जसले गर्दा मलाई त्यस बेला देखि नै पञ्चायतप्रति घ्रिणा पैदा भयो । अनि म पञ्चायतको विद्रोह गर्दै प्रजातन्त्रको पक्षमा लागेको हुँ । वि.सं. २०४३ सालमा नेपाली कांग्रेसले हरिबोल भट्टराई र तिर्थराम डंगोललाई मेयर र उपमेयरमा उठायो । त्यतिबेला देखि नै म उहाँहरुको प्रचारमा लागे । त्यतिबेलासम्म पनि म राजनीतिमा पूर्ण जानकार भइसकेको थिइन । वि.सं. २०४६ सालको आन्दोलनबाट चाहिं म सक्रिय रुपमा राजनीतिमा क्रियाशिल छु ।

० राजनीतिमा लाग्न तपाईको प्रेरणाको स्रोत कसलाई मान्नुहुन्छ ? – मेरो प्रेरणाको स्रोत भनेको मेरो परिवार नै हो । जब म राजनीतिमा होमिए, त्यतिबेला देखि नै नेता कृष्णप्रसाद भट्टराईको सम्पर्कमा रहेर उहाँलाई प्रेरणाको स्रोत मानेर क्रियाशिल भएर लागे ।

० तपाईको पारिवारिक वातावरणको बारेमा भनिदिनुस् न । – हाम्रो पारिवारिक वातावरण नै राजनीतिमय थियो । म जन्मने बेलामा पनि मेरो बुबालाई जेल हालिएको थियो । त्यस अघि पनि बुबाले झण्डै ९ वर्ष जेल जीवन विताइसक्नु भएको थियो । घरमा राजनीतिका बारेमा मात्र चर्चा परिचर्चा हुने, राजनीतिकर्मीहरुको जमघट हुने भएकाले पनि हाम्रो पारिवारिक वातावरण राजनीतिमय मात्र नभई विद्रोहमय नै थियो भन्नुपर्छ ।

० राजनीतिसँगै आफ्नो व्यवसायलाई कसरी अगाडि बढाइराख्नु भएको छ ? – हाम्रा अग्रजहरुले राजनीतिलाई नै पेशा बनाएर अघि बढिरहनु भएको मैले पाएको छु । राजनीतिमा केही समय दुःख गर्ने र कुनै पदमा पुगेपछि त्यसलाई ‘क्यास’ गर्ने मानसिकताबाट हाम्रो राजनीति ग्रस्त छ । अब हामी जस्ता युवाहरुले ‘रेगुलर इन्कम’ हुने स्थान नबनाई राजनीतिमा लाग्दा टिक्न र स्थापित हुन गाह्रो हुन्छ जस्तो लाग्छ । त्यसैले पनि मैले व्यवसायसँगसँगै राजनीतिलाई अगाडि बढाएको हुँ । व्यवसायमा मैले लगानीकर्ताको मात्र भूमिका निर्वाह गरिरहेकोले मलाई खासै अप्ठेरो परेको छैन ।

० नेपाली कांग्रेस काभ्रेको पछिल्लो अवस्था कस्तो छ ? – काभ्रे कांग्रेसमा हिजोका दिन देखि नै फुट हुँदै आएको हो । मिल्न नदिने, एकले अर्कालाई अघि बढ्न नदिने, खुट्टा तान्ने प्रवित्ति हावी हुँदै आएको हो । आफू बन्ने भन्दा पनि अरु बन्ला कि भन्ने पिर र चिन्ता काभ्रे कांग्रेसमा देखिएको थियो । तर, वर्तमान अधिवेशनबाट चाहिं यि कुराबाट बाहिर निस्कनका लागि साथीहरुले न्याय नै गर्नुभएको जस्तो लाग्छ । जसलाई नेतृत्वमा पु¥याउनु पर्ने थियो, उहाँहरुलाई पु¥याउनु भएको छ । मेरै कुरा गर्ने हो भने पनि विदेशबाट केही गर्नुपर्छ भनेर फर्केको मलाई पनि प्रेरणा दिनु भएको छ । त्यसैले अबका दिनमा काभ्रे कांग्रेस सहि दिशामा अघि बढ्छ जस्तो लाग्छ ।

० कांग्रेसको १३ औं महाधिवेशनबाट कोइराला विरासतको अन्त्य भएको छ, पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ, अब कांग्रेस कसरी अघि बढ्ला ? – संसारको इतिहास हेर्ने हो भने पनि यस्तै हुन्छ । राजनीतिमा पनि यदि कोही माथि पुगेको छ भने ऊ पुनः विस्तारै तल झर्दै जान्छ । नेपाली कांग्रेसमा पनि त्यहि भएको हो । परिवर्तन हुनु राम्रो हो । सधैं एउटै व्यक्ति वा परिवारमा नेतृत्व रहनु राम्रँे होइन र त्यसले सहि सन्देश पनि दिंदैन जस्तो लाग्छ ।

० तपाईंको विचारमा अब पार्टी सरकारमा जान उचित हुन्छ कि प्रतिपक्षमै बस्नुपर्ला ? – मेरा विचारमा नेपाली कांग्रेसले यतिबेला जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । कांग्रेस सरकारमा जाने वित्तिकै सबै समस्याको समाधान हुने पनि होइन । यति ठूलो मन्त्रिमण्डलमा अझै उपप्रधामन्त्री तथा मन्त्रीहरुको संख्या बढाएर यहि सरकारमा जानु कांग्रेसका लागि उचित हुँदैन । तर, यो सरकारले काम नै गर्न सकेन भने नेपाली जनताको मर्म र भावना अनुसार पनि पहिलो पार्टीको नाताले सरकारको नेतृत्व गर्नुपर्छ ।

० कांग्रेसभित्र खुट्टा तान्ने प्रवृत्ति यतिबेला सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको छ, के भन्नुहुन्छ आफूभन्दा अग्रज नेताहरुलाई ? – म उहाँहरुलाई के भन्छु भने जहिले पनि केही गर्ने सोच बनाउनु भएको छ भने पहिले आफू राम्रो बन्न तर्फ लाग्नुहोस् । अरु बन्छ कि भन्नेतर्फ आफ्नो सयम खेर नफाल्नुहोस् । पार्टी र मुलुकको भविश्य सोचेर अघि बढेमा तपाईहरु आफू सँगसँगै मुलुकको पनि प्रगति हुँदै जान्छ ।

० नेपाली कांग्रेसले झण्डै एक दशकदेखि भातृ संस्थाहरुको अधिवेशन गर्न सकेको छैन, यसले कत्तिको असर पुगेको छ ? – यसले धेरै नै असर पु¥याएको छ । हिजोको नेतृत्वको कमजोर पक्ष भनेकै भातृ संगठनहरु आफ्नो अनुकुलमा आउँछन् कि आउँदैनन्, अर्को पक्षतर्फ पो ढल्कने हो कि भन्ने तर्फ नै केन्द्रित भयो । पार्टी नेतृत्वले कहिल्यै पनि त्यस्तो सोच्नु हुँदैन थियो । जुन पक्ष नेतृत्वमा पुगेपनि आफ्नै पार्टी अघि बढेको हो भन्ने सोच्नु जरुरी थियो । पार्टीलाई जिवन्त राख्न पनि भातृ संगठनहरुलाई चलायमान बनाउनु पर्छ । यहाँ त धेरै नै ग्याप भइसक्यो । जसले गर्दा कयौं नेताहरुलाई अप्ठेरो परेको छ । समयमै अधिवेशन भएको भए त्यहाँ थन्किएर बसेका युवा नेताहरुले अवसर पाउँथे । जस्तैः नेपाल विद्यार्थी संघको नै कुरा गरौं न । ३० वर्षको उमेरदेखि अधिवेशनको प्रतिक्षामा रहेका युवा नेताहरु ४० वर्ष वितिसक्दा पनि अझै पर्खाइमै छन् । तरुण दलमा पनि त्यस्तै छ । ३५ वर्षदेखि कुरिरहेका युवा नेताहरु आजसम्म पनि नेतृत्वमा पुग्न सकेका छैनन् । विधान अनुसार ४५ वर्षपछि तरुण दलमा बस्न पार्इंदैन । अबको अधिवेशनमा कतिपय नेताहरुले भाग नै लिन नपाउने अवस्था सिर्जना भएको छ । अबको नेतृत्वले ६ महिनाभित्र अधिवेशन गर्ने भनेर घोषणा गरिसकेको छ । तरुण दलको त मिति पनि घोषणा भइसकेको छ । मलाई लाग्छ अब चाहिं केही सहज हुन्छ कि ।

० तपाईंको विचारमा तरुण दल अब कसरी अगाडि बढ्छ ? – तरुणदलभित्र रहेर राजनीति गर्ने भन्दा पनि समसामयिक विषयलाई प्राथमिकता दिन हामीजस्ता युवाहरु सक्रिय हुनुपर्छ भनेर मैले पनि आवाज उठाउँदै आएको छु । आजको जल्दोबल्दो समस्या जुन हो, त्यसमा हामीले सोच्नु पर्छ । आजको समयमा खाडी मुलुकमा पुगेर नेपाली युवाहरुले श्रमसँग रगत र पसिना साटिरहँदा पनि उनीहरुको हक अधिकारका लागि बोलिदिने कोही नभएको अवस्था छ । कतिले त विदेश पुगेर आºनो अस्मिता समेत गुमाएका छन् । हो, यस्तै कुराहरुमा अब तरुण दल जस्ता संगठनहरुले आवाज उठाउनु पर्छ । नेपाल तरुण दलले पनि अब यस्तै आवाजहरु उठाउने छ । नेपाली युवाहरुलाई कसरी स्वदेशमै राख्न सकिन्छ, स्वरोजगार बनाउन सकिन्छलगायतका विषयमा सक्रिय भएर तरुण दल अगाडि बढ्नेछ । जस्तैः एउटा युवाले लाखौं रुपैयाँ ऋण गरेर डिग्री गरेको हुन्छ । फेरि पनि उसलाई ऋण चाहियो भने उसले त्यो सर्टिफिकेट देखाएर ऋण त पाउँदैन । यस्तै समस्याहरुको समाधानका लागि तरुण दलले काम गर्नेछ ।

० प्रसंग बदलौं, विदेशमा नै मनग्गे आम्दानी गरेर बसिरहनु भएको तपाई किन नेपाल फर्कनु भयो ? – कुनै पनि युवामा प्लस टु गर्ने वित्तिकै विदेश रहर जाग्दो रहेछ । त्यो रहर मलाई पनि जाग्यो र म पनि अध्ययनकै शिलशिलामा अमेरिका गएको हुँ । त्यहाँ पनि मैले अरुको काम गर्ने भन्दा पनि आºनै काम गर्नुपर्छ भनेर आफैले सानो व्यवसाय शुरु गरेको थिएँ । पछि मैले त्यहाँ पेट्रोल पम्प सञ्चालन गरे । आम्दानी पनि राम्रो भयो । अब मैले यहाँ बसेर हुँदैन आफूलाई मात्र पुग्ने काम गरेर हुँदैन, देश र समाजका लागि पनि मैले केही त योगदान पु¥याउनु पर्छ भनेर नै विदेशमा कमाएको रकम स्वदेशमा नै लगेर सदुपयोग गर्ने सोचका साथ नेपाल फर्केर व्यवसाय शुरु गरेको हुँ । म पहिले देखि नै राजनीतिमा सक्रिय भएको व्यक्ति भएकाले सबैले पुनः राजनीतिमा नै फर्कन आग्रह गर्नुभयो, सबैले विश्वास गर्नुभयो त्यसैले पनि म पुनः राजनीतिमा होमिए ।

० तपाईले किन जलविद्युतमा नै लगानी गर्नुभयो त ? – विदेशबाट फर्केपछि आफुसँगै भएको स्रोत साधनलाई सदुपयोग गरेर नेपालीहरुको भविश्य परिवर्तन पनि हुने र नेपालमा विकराल समस्याको रुपमा रहेको लोडसेडिङलाई केही हदसम्म भए पनि कम गर्नका लागि नै मैले जलविद्युतमा लगानी गरेको हुँ । विदेशमा कमाएको पुँजी मैले स्वदेशमै लगानी गरे भने पक्कै पनि राम्रो हुन्छ र जलविद्युतमा लगानी गर्दा सरकारले ३० वर्षसम्म त्यसको मुनाफाको ग्यारेन्टी गर्ने भएको हुँदा लगानीको सुरक्षाका लागि पनि मैले जलविद्युतमा लगानी गरेको हुँ ।

० लगानीको उचित प्रतिफलसँगसँगै जलविद्युतमा विभिन्न समस्या र चुनौतीहरु पनि देखिएका छन् नि ? – अहिलेसम्म हामी निर्माणको प्रक्रियामा पुगिसकेका छैनौं, डकुमेन्टेसनको काम हुँदै छ । निर्माणका क्रममा समस्या देखिएका हुन् र देखिन्छन् पनि । तर, म त्यसलाई ठूलो समस्या र चुनौती मान्दिन । किनकी जुनसुकै क्षेत्रमा पनि चुनौतीको सामना गर्नै पर्छ । कुनै पनि स्थानमा काम गर्दा त्यहाँका स्थानीयहरुको पनि आकांक्षाहरु हुन्छन् । कतिपय निर्माण कम्पनीहरुले आºनो स्वार्थ अनुकुल मात्र काम गर्ने, समाज र जनतालाई पन्छाएर जाने गरेकाले पनि चुनौती बढि देखिएका हुन् । स्थानीयहरुसँग हातेमालो गरेर काम गर्ने हो भने चुनौतिहरु केही हदसम्म पक्कै कम हुन्छन् ।

० काम गर्ने वहानामा झोलामा खोला बोकेर हिड्ने प्रवृत्ति बढिरहेको छ नि ? – कतिपयले झोलामा खोला बोकेर हिंडेका पनि होलान, होइन म भन्दिन । तर, कतिपयले काम गर्न खोज्दा खोज्दै पनि सरकार र स्थानिय स्तरबाट हुने समस्याका कारण लगानी डुबेको, लाइसेन्स खरेज भएको अवस्था पनि छ । यहाँ कतिपय नियमहरु यस्ता छन् कि, हामी स्वदेशीहरुले यसलाई टिकाएर राख्नै गाह्रो छ । हिजोका दिनमा बैंक तथा वित्तिय संस्थाले पनि स्वदेशि लगानीकर्ताहरुलाई नपत्याउने अवस्था थियो । तर, अहिले त्यो छैन । यसले गर्दा यस्तो प्रवृत्ति अब आफै कम हुँदै जान्छ र झोलामा खोला राख्नेहरु निरुत्साहित हुँदै जान्छन् ।

० अर्कोतिर बैङक्वेट व्यवसायलाई चाहिं कसरी सञ्चालन गरिरहनु भएको छ ? – हामीले एउटा समूह बनाएका छौं । जसमा मसँगै विदेशबाट आउनु भएका साथिहरु सहभागी हुनुहुन्छ । मैले उहाँहरुलाई नै बैङक्वेट सञ्चालन गर्ने जिम्मा दिएको छु । जसले गर्दा मैले त्यहाँ धेरै समय दिन जरुरी छैन ।

० तपाईले पछिल्लो समयमा व्यवसायलाई बढि समय दिनु भएको छ कि राजनीतिलाई ? – मैले अहिले राजनीतिलाई बढि समय दिएको छु । अबको केही समयमा नै मैले व्यवसायहरुमा लगानी गरेर कसैलाई जिम्मेवारी दिने र पुरै सयम राजनीतिमा नै विताउने विचारमा छु ।

० अन्त्यमा, जो युवाहरु राजनीतिमा लाग्न चाहनुहुन्छ उहाँहरुलाई के भन्नुहुन्छ ? – म युवाहरुलाई कांग्रेस नै बन, एमाले अथवा माओवादी नै बन भन्दिन । जुन पार्टीप्रति आफ्नो आस्था छ, त्यसप्रति तपाईहरु इमान्दार भएर लाग्नुस् । राजनीतिलाई कमाई खाने भाँडो बनाउने सोचमा होइन कि समाजिक भावना बोकेर राजनीतिमा आउनुहोस् । राजनीतिसँगै व्यापार व्यवसायलाई पनि अगाडि बढाउन र हातेमालो गरेर अघि बढ्दै देश बचाउन म उहाँहरुलाई आग्रह गर्छु ।

Comments

Top