आइडिपी र आइसिइएफलाई नेपाल भित्र्याउनु मेरो प्राथमिकता

nirajdai उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्ने कन्सलटेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ(इक्यान) को महाधिवेशन नजिकिंदै गइरहेको छ । इक्यानको सञ्चालक समितिको बैठकले फागुन १५ गते चुनाव हुने मिति तय गरेपछि संगठनमा अध्यक्ष देखि सदस्यसम्मका पदहरुमा तिब्र प्रतिस्पर्धा हुँदैछ । हरेक दुई वर्षमा नयाँ नेतृत्वका लागि इक्यानको चुनाव हुने गर्दछ । पछिल्लो समयमा इक्यान भित्र पनि बढि राजनीति हावी हुँदा इक्यानले सोचेअनुरुप काम गर्न सकिरहेको छैन । संगठनलाई नयाँ परिवेश अनुसार अगाडि लैजाने सोचाइका साथ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका वर्तमान केन्द्रीय सदस्य तथा एजुकेशन पार्कका अध्यक्ष निरज सिटौला(भुपेन्द्र) सँग कन्सलटेन्सी क्षेत्रमा देखिएका कमी कमजोरी, इक्यानको चुनावी सन्दर्भ र उनका एजेण्डाका विषयमा यूनाइटेड पोष्टका लागि कुमार भण्डारीले गरेको कुराकानी :

० तपाईको उम्मेदवारी केका लागि ? – मैले यस अघि पनि इक्यानको कार्यसमितिमा रहेर काम गरिसकेको छु । साथीहरुसँगको सहकार्य र सहयोगले मैले काम गर्ने अनुभव पनि हासिल गरे । राज्यले कन्सलटेन्सी व्यवसायमाथि हेर्ने नकारात्मक दृष्टिकोणमा अझै परिवर्तन हुन सकेको छैन । कन्सलटेन्सी क्षेत्रमा केही विकृति तथा कमी कमजोरीहरु भएपनि त्यसलाई सुधार गरी व्यवसायलाई मर्यादित र थप व्यवस्थित बनाउन पहल गर्नका लागि मैले उम्मेदवारी घोषणा गरेको हुँ । ० तपाईंका एजेण्डाहरु के–के हुन् त ? – अहिलेको अवस्थामा शैक्षिक परामर्शदातालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक छ । जसका लागि शैक्षिक परामर्शदातालाई पनि काम गर्न सजक गराउने तथा सरकारका नीति नियमहरु बारे जानकारी दिनु पर्दछ । मैले विद्यार्थी, अभिभावक तथा व्यवसायीको सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको आइइएलटिएसको परिक्षा दिनका लागि ‘डेट’ दिलाउन सहज बनाउने कुरालाई एजेन्डाका रुपमा लिएको छु । त्यस्तै, अष्ट्रेलियाको आइडिपी भन्ने सस्थालाई छिट्टै नै नेपालमा सञ्चालन गरी आइइएलटिएसको ‘डेट’ दिलाउन पहल गर्नेछु । विश्वभरमा विभिन्न खालका कार्यक्रमहरु गर्दैै आएको आइसिइएफ भन्ने संस्था छ । जसले एजेन्ट, युनीभर्सिटी तथा कलेजहरुलाई एउटै छातामुनी ल्याएर व्यवसायमा सहकार्य गर्न सहज पु-याउँदै आएको छ । आइसिइएफले नेपाल ठूलो बजार हो भनेर नेपाललाई पनि प्रतिनिधित्व गरिसकेको छ । आइसिईएफका विश्वका विभिन्न देशहरुमा वर्कसपहरु सञ्चालन भइरहेका छन् । मैले चुनाव जितेको खण्डमा त्यस्ता वर्कसप नेपालमा सञ्चालन गर्नका लागि पहल गर्नेछु । ० इक्यानमाथि सोचे अनुरुपको काम गर्न नसकेको आरोप लाग्ने गरेको छ नि ? – इक्यानले कामै गर्न नसकेको भन्ने चाहिं गलत हो । हामी कन्सलटेन्सीहरुको हक, हित र अधिकारका लागि लडिरहेका छौं । कतिपय निकायहरुमा इक्यानका पदाधिकारीहरुको पहुँच नपुगेको तथा केही प्राविधक कारणहरुले गर्दा इक्यानले सोचेअनुरुप काम गर्न नसकेको चाहिं यथार्थ हो । ० इक्यानमा बढि राजनीति हावी हुँदा  त्यस्तो कठिनाई बढेको त होइन ? – मुलुकमा राजनीति नभएको कुनै पनि क्षेत्र छ जस्तो मलाई लाग्दैन । तर, इक्यान भनेको एउटा मर्यादित र व्यवसायिक संस्था पनि हो । यो ठूलो इन्ड्रस्टिजको रुपमा विकास भइरहेको छ । ३०० भन्दा बढी कन्सलटेन्सीहरु इक्यानमा आवद्ध भएको हुँदा सबैले आ–आफ्नो हक र अधिकारका लागि आवाज उठाइरहेकै हुन्छन् । इक्यान एउटा छाता संगठन पनि भएको कारणले राजनीति बढी हावी भएको जस्तो बाहिर तपाईहरुले देखे पनि भित्र भने त्यस्तो छ जस्तो मलाई लाग्दैन । ० इक्यानप्रति सरकारले हेर्ने दृष्टिकोणमा किन परिवर्तन हुँदैन ? – सरकारलाई नीजि क्षेत्रले देशको अर्थतन्त्रमा कत्तिको सहयोग पु-याइरहेको छ तथा कस्तो समस्या भोगिरहेको छ भन्ने जानकारी नै नभएको अवस्थामा इक्यानले कन्सलटेन्सीहरुलाई व्यवसायिक र मर्यादित बनाउन आफै पहल गर्दै आएको छ । धेरै अध्ययन र छलफल पछि इक्यानकै पहलमा २०६८ सालमा निर्देशिका जारी भएको हो । निर्देशिका जारी भइसकेपछि इक्यानलाई झनै ठूलो जिम्मेवारी थपिएको छ । र, त्यो जिम्मेवारी पूरा गर्न इक्यान निरन्तर लागिरहेको छ । इक्यानले अहिले कन्सलटेन्सीहरु सञ्चालनका लागि कस्तो पूर्वाधारको आवश्यकता पर्दछ र शैक्षिक अवस्था कस्तो हुनपर्छ भन्ने कुरालाई अध्ययन पनि गरेको छ । ० अबको इक्यानको नेतृत्व कस्तो हुनुपर्छ ? – व्यवसायीको हक हितका लड्नु, मर्यादित ढंगले व्यवसाय गर्नेहरुलाई प्रोत्साहन तथा विभिन्न व्यवसायिक एजेण्डाका साथ इक्यान अगाडि बढ्नु पर्छ भन्ने मेरो मान्यता हो । जसले इक्यानको नेतृत्व लिन्छ, उसले आफ्नो भूमिका निश्वार्थ बनाउनु पर्दछ र आफ्ना सदस्यहरुलाई बढि भन्दा बढि ‘माइलेज’ तथा ‘एभिन्यूज’ प्रदान गर्नु पर्दछ । त्यस्तै प्राविधिक रुपमा इक्यानलाई सक्षम बनाउन विभन्न खालका तालिमहरु उपलब्ध गराउन सक्नु पर्दछ । जस्तै क्यानडाका लागि मात्र काम गर्ने हो भने उच्च शिक्षाका लागि क्यानडा पठाउने कन्सटेन्सीहरुलाई त्यही अनुरुपको तालिम दिनु प-यो । र, त्यही कन्सलटेन्सीले अन्य देशका यूनिभर्सीटी तथा कलेजसँगको सहकार्यमा काम गर्छ भने त्यसरी नै अर्को पनि तालिम दिनु पर्दछ । अनि मात्र यो पेशा थप व्यवसायिक बन्छ । ० विदेशी विद्यार्थीहरुलाई नेपालमा ल्याउन चाहिं सकिदैन ? – यदि नेपाल सरकारले समय अनुकुल कोर्स बनाउने, नेपालको शिक्षा व्यवहारिक बनाउने, भौतिक पूर्वाधारको विकास गर्ने, शैक्षिक नीति नियम समय अनुकुल परिवर्तन गर्ने हो भने विदेशी विद्यर्थीलाई नेपालमा अध्ययनका लागि ल्याउन सकिन्छ । ० तपाई एजुकेशन पार्कको अध्यक्ष पनि हुनुहुनन्छ, यसको उद्देश्य के हो ? – सन् २००५ मा स्थापना भएको एजुकेशन पार्क विशुद्ध शैक्षिक परामर्श दिने संस्था हो । विद्यार्थीहरुलाई आवश्यक परामर्श दिने गुणस्तरिय संस्थाको कमिको महशुस गरेर नै एजुकेशन पार्कको स्थापना गरिएको हो । विद्यार्थीहरु विदेश जानु पहिले र त्यहाँ गइसकेपछि पाउने समस्यालाई केही हदसम्म भए पनि कम गर्नका लागि एजुकेशन पार्क निरन्तर लागि रहेको छ । विद्यार्थीहरु विदेश जानु पहिले आवश्यक पर्ने कक्षा सञ्चालन देखि लिएर भिसाका लागि आवश्यक पर्ने डकुमेन्टेसन तथा त्यहाँको यूनिभर्सीटीको बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराउँछ ।

  यतिमात्र होइन त्यहाँ जाँदाको फाइदा र त्यहाँ गइसकेकपछि कस्ता समस्याहरु देखिन्छन् र तिनलाई समाधान गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि जानकारी गराउँदै आएको छ । अन्य कन्सलटेन्सीहरुले दिने परामर्शको शैली र एजुकेशन पार्कले दिने परामर्शको शैली नै फरक छ । हामीले उच्च शिक्षा अध्ययनका लागि विदेश जाँदा गर्नुपर्ने कोर्षहरु जिआरई, जिम्याट, टोफल, आईएलटिएस, स्याट जस्ता कक्षाहरु दक्ष जनशक्तिबाट प्रदान गरिरहेका छौं । हामीकहाँ अधिकांश कर्मचारीहरु विदेश गएर अध्ययन गरेर फर्किएका मात्र छन् । त्यसैले उनीहरुले सम्पूर्ण जानकारी विद्यार्थीहरुलाई गराउन सक्दछन् । काउन्सिलिङका लागि कन्सलटेन्सीहरुले परिक्षा समेत दिनुपर्ने हुन्छ । त्यो परिक्षा हामीले दिएका छौं । जस्तै क्यूइएसी, आईसीइएफ । जिआरई, जिम्याट, टोफल, आईएलटिएस, स्याटलगायतका कोर्षकासँग सम्बन्धित फरक विषयबस्तु हामीसँग छन् जुन अन्य कन्सलटेन्सीहरुसँग छैनन् । जसले जिआरई, जिम्याटको पेपर बनाउनुहुन्छ उहाँले नै एजुकेशन पार्कमा पढाउनुहुन्छ ।

Comments

Top