इक्यानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउन सक्ने नेतृत्वको खाँचो छ

bishnuhari pandey

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको रोयल एजुकेसन फाउण्डेसका प्रबन्ध निर्देशक विष्णुहरी पाण्डे राज्यले आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका विषयमा आफ्नो भूमिका र दायित्व सम्झन नसक्दा विदेश जाने विद्यार्थीको संख्या बढिरहेको बताउनु हुन्छ । जुन उद्देश्य लिएर नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को स्थापना गरिएको हो, सो अनुरुप इक्यान अगाडि बढ्न नसकेको बताउँदै प्रवन्ध निर्देशक पाण्डे इक्यानले यतिबेला आवश्यक मापदण्ड हेर्ने र सदस्यता बढाउने काम मात्र गरिरहेको उल्लेख गर्नुहुन्छ ।   राजनीतिक पार्टी र बहुमत तथा अल्पमत भन्दा पनि कन्सलटेन्सी पेशा र व्यवसायलाई राम्रोसँग बुझेको, यसलाई उद्योगको रुपमा स्थापित गर्न सक्छु भन्ने हिम्मत भएको, इक्यानलाई अन्तर्राष्ट्रिय स्तरको संस्थाको रुपमा विकसित गर्न सक्ने, यो पेशा व्यवसायलाई मर्यादित बनाउन सक्ने, व्यापारलाई प्रवद्र्धन गर्ने खालको ठोस योजना दिन सक्ने संघ संस्थाका प्रतिनिधि मात्र इक्यानको नेतृत्वमा आउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । पाण्डेले अहिले एभरेष्ट कलेजको प्रमुख कार्यकारी अधिकृत, प्रिमियर कलेजको कार्यकारी निर्देशक तथा सिटिजन्स र एवर्डन कलेजको कार्यकारी अध्यक्ष भएर जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । शैक्षिक क्षेत्रसँग सम्बन्धित रहेर प्रवन्ध निर्देशक पाण्डेसँग mynewsnepal.com का लागि कुमार भण्डारीले गरेको कुराकानी : विष्णुहरी पाण्डे, प्रबन्ध निर्देशक – रोयल एजुकेसन फाउण्डेसन

० रोयल एजुकेशन फाउण्डेसन विद्यार्थीहरुलाइ कस्तो सेवा प्रदान गर्दै आएको छ ?

– रोयल एजुकेशन शैक्षिक परामर्श प्रदान गर्ने संस्था हो । काठमाडौंको नयाँ बानेश्वरबाट हामीले विगत १२ वर्षदेखि उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्शका साथसाथै भाषा कक्षाहरु पनि सञ्चालन गर्दै आएका छौं । रोयलले तयारी कक्षाहरुमा टोफल, आइएलटीएस, स्याट, जिआरई र जिम्याट जस्ता सञ्चालन गर्दछ भने अमेरिका, अष्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड, आयरल्याण्ड, बंगलादेश र भारत जान चाहने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएको छ ।

० संख्यात्मक रुपमा रोयलबाट विदेश जाने विद्यार्थीको अनुपात कस्तो छ ? – रोयलबाट हरेक वर्ष यतिको संख्यामा विद्यार्थी विदेश जान्छन भन्ने तथ्यांक त छैन । तर, वार्षिक सयौं विद्यार्थीहरु रोयल मार्फत नै विदेशिरहेका छन् । हामीकहाँबाट अमेरिका, अष्ट्रेलिया, बंगलादेश र भारत जाने विद्यार्थीको संख्या बढी छ ।

० जो विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान चाहन्छ, ऊ रोयल आउनु पर्ने कारण के हो ? – सबैभन्दा पहिलो कुरा त विश्वास नै हो । हामी विद्यार्थीहरुलाई ‘इण्डिभिजुअल’ परामर्श प्रदान गर्छौं । विद्यार्थीको समय र अभिभावकको लगानीलाई सुनिश्चित कसरी गर्न सकिन्छ भनेर पनि हामी परामर्श प्रदान गर्दछौं । विद्यार्थीहरु रोयलबाट जाने र नजाने भन्दा पनि परामर्शको कामलाई हामीले प्राथमिकतामा राखेका छौं । गुणस्तरिय परामर्श नपाउँदा धेरै विद्यार्थीहरुको भविश्य अन्यौलमा परेको हामीमाझ धेरै उदाहरणहरु छन् । यि कुराहरुलाई प्राथमिकतामा राखेर हामीले काम गर्दै आएकोले पनि उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरु रोयल आउँछन् ।

० विदेश जाने विद्यार्थीको चाप अहिले कस्तो छ ? – अहिले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको चाप एकदमै बढिरहेको छ । बैशाख १२ को विनाशकारी भूकम्प र अहिलेको नाकाबन्दीका कारण अभिभावकहरुले आफ्नो सन्ततिको भविश्य सुनिश्चित गराउन भन्दै विदेश पठाइहेका छन् ।

० विदेश जाने विद्यार्थीको संख्या बढ्नुको कारण के हो ? – सबैभन्दा पहिलो कुरा त राज्यले आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका विषयमा आफ्नो भूमिका र दायित्व सम्झन नसक्दा विदेश जाने विद्यार्थीको संख्या बढिरहेको हो । अर्को महत्वपूर्ण कुरा नेपालमा पढ्ने वातावरण नहुनु, समय अनुसार कोर्ष परिवर्तन हुन नसक्नु, पढ्न चाहने विद्यार्थीले पढ्न नपाउनु नै हो । जस्तै इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरुले १०० जनाको कोटा भएको कलेजमा कम्तिमा एक हजारले आवेदन दिएका हुन्छन् । मेडिकल क्षेत्रमा अझ बढि विद्यार्थीको चाप छ । ति सबै विद्यार्थीलाई त पढ्नु छ नि । तर, उनीहरुले पैसा तिरेर पढ्छु भन्दा पनि पाएका छैनन् । सरकारले कोटा छुट्याएको छ, जुन अपुग छ । राज्यले विश्वविद्यालय तथा कलेजहरुको मापदण्ड पूरा छन् कि छैनन् हेर्ने र निरन्तर अनुगमन गरेर स्वतन्त्र रुपमा नेपाली विद्यार्थीलाई नेपालमै पढ्न वातावरण मिलाइदिने हो भने विदेश जाने विद्यार्थीको संख्यामा कमि आउँछ । विश्वका जुनसुकै देशमा पनि सरकारी कलेजमा पढ्नका लागि नाम निकाल्न एकदमै गाह्रो हुन्छ । तर, नेपालमा भने नीजिमा नाम निकालेर पढ्न गाह्रो छ भने सरकारी कलेजमा पढ्न सबैभन्दा सहज हुन्छ । समय अनुसार प्रतिशपर्धा गर्न नसक्नु विडम्बना नै भन्नुपर्छ ।

० नेपाली विद्यार्थीहरु विदेश जाँदा एकातिर युवा शक्ति विदेशिरहेको छ भने अर्कोतिर वार्षिक अरबौं रुपैयाँ पनि बाहिरिएको छ नि ? – हो, नेपाली युवा युवतीहरु जुन समयमा पसिना बगाउन सक्थे त्यहि समयमा विदेशमा छन् । वार्षिक अरबौं रुपैयाँ विदेशिएको पनि छ । तर, केही पाउन त केही गुमाउनै पर्छ नि । हरेक कुरालाई पैसामा दाँज्न मिल्दैन । नेपालबाट गएको एउटा अदक्ष युवा अन्तर्राष्ट्रिय स्तरको शिक्षासँगै दक्ष भएर नेपाल फर्कन्छ भने त्यो भन्दा राम्रो पक्ष के हुन सक्छ ? नेपालमा फर्कने वातावरण सरकारले बनाउनु प¥यो । उसको दक्षता अनुसारको रोजगारीको व्यवस्था गरिदिनु प¥यो नि । राज्यले विद्यार्थीहरुलाई ल्याउनका लागि कुनै पनि भूमिका नखेल्दा र अभावै अभावमा बाँच्नु पर्ने भएको विद्यार्थीहरु फर्कनै चाहँदैनन् । यदि उनीहरुलाई फर्काउन सक्ने हो भने देशको विकास पनि हुन्थ्यो र आर्थिक अवस्था पनि मजबुद बन्दै जान्थ्यो ।

० परामर्श प्रदान गर्ने संस्थाहरु बढेसँगै समस्याहरु पनि बढ्दै गएका छन् नि ? – सबैभन्दा पहिलो कुरा के हो भने संस्था सञ्चालन गर्ने व्यक्तिले उत्पादन गरेर विक्री गर्ने भन्दा पनि सेवा विक्री गर्ने भन्ने बुझ्नु जरुरी छ, जसको अभाव नै महत्वपूर्ण कारण हो । सञ्चालकहरुले शैक्षिक योग्यताको ज्ञानको अभावमा सजिलो हुँदो रहेछ नि त भन्ने सोचेर व्यवसायलाई प्रवद्र्धन गर्दा पनि समस्या देखिएका हुन् । तर, शैक्षिक परामर्शलाई नै आफ्नो मुख्य पेशा बनाएर यो क्षेत्रलाई एउटा उद्योगको रुपमा विकसित गर्न खोज्ने व्यवसायीहरु पनि छन् । जसको कारणले कन्सलटेन्सी क्षेत्रको मर्यादामा केही आँच आएको भए पनि दिन प्रतिदिन व्यवस्थित बन्दै गएको छ ।

० पछिल्लो समयमा त कन्सलटेन्सीमाथि मेनपावरको काम गरेको आरोप पनि लाग्दै आएको छ नि त ? – हामीले सबैभन्दा पहिले के बुझ्नु जरुरी छ भने कन्सलटेन्सी र मेनपावरमा धेरै नै अन्तर छ । तर, कतिपय कन्सलटेन्सीले त्यस्तो काम नगरेका पनि होइनन् । कसलै गलत ग¥यो भन्दैमा पूरै क्षेत्रलाई नै विवादित बनाउनु चाहिं उचित हो जस्तो मलाई लाग्दैन । हामीसँग हाम्रो छाता संगठन शैक्षिक परामर्श संघ (इक्यान) छ, जसले नजिकबाट नियालिरहेको छ ।

० तपाईं जस्तै कन्सलटेन्सी सञ्चालकहरुले सहि परामर्श दिएको बताइरहँदा नेपाली विद्यार्थीहरु विदेश पुगेर समस्या भोग्न बाध्य छन् नि त ? – यसको दोष विद्यार्थी स्वयम् र कन्सलटेन्सीले नै लिनुपर्छ । सबैभन्दा पहिले त दोषी विद्यार्थी नै हो भन्नुपर्छ । कन्सलटेन्सी जाँदैमा विद्यार्थीले भिसा लागेको जस्तै ठान्ने, विद्यार्थीहरुले विदेश जाने वित्तिकै पैसा कमाइहालिन्छ नि भन्ने सोच्ने र कन्सलटेन्सीहरुले पनि विदेश गएपछि पैसा कमाइन्छ भन्ने खालका सपना बाँड्दा पनि समस्या देखिएको हो । अर्को कुरा विद्यार्थी स्वयम्ले आफू जाने देश, कुन कलेज जाँदैछु, त्यहाँको आर्थिक अवस्था कस्तो छ, शैक्षिक वातावरण कस्तो छ, होस्टलको व्यवस्था, काम गर्ने समयलगायतका बारेमा पूर्ण जानकारी लिनु आवश्यक छ । यि कुरा अभिभावकले पनि बुझ्नु पर्दछ । कतिपय कन्सलटेन्सीहरुले सहि परामर्श प्रदान नगरेकाले पनि यस्ता घटना बढेका हुन् । तर, रोयलले भने त्यस्तो गलत कहिल्यै गरेको छैन र गर्दैन पनि । जस्तै सन् २००८ मा अष्ट्रेलियमा देखिएको समस्यामा हामीले डेढ महिना अष्टे«लिया बसेर आफ्ना विद्यार्थीहरुलाई सेवा प्रदान गरेका थियौं भने २००९ मा वेलायतमा देखिएको समस्यामा पनि दुई महिनासम्म त्यहि बसेर विद्यार्थीहरुलाई सहयोग गरेका थियौं । यस्ता घटनाहरुलाई कम गर्न स्वयम् कन्सलटेन्सी र  छाता संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।

० इक्यानले गरेको कामप्रति सन्तुष्ट हुनुहुन्छ ? – जुन उद्देश्य लिएर इक्यानको स्थापना गरिएको हो, सो अनुरुप इक्यान अगाडि बढ्न सकेको छैन । इक्यानमा यतिबेला आवश्यक मापदण्ड हेर्ने र सदस्यता बढाउने मात्र काम भइरहेको छ । कन्सलटेन्सी पेशालाई कसरी मर्यादित बनाउन सकिन्छ, यसले समाजको सहि रुपान्तरणमा कसरी सहयोग पु¥याउन सक्छ र विदेश जाने विद्यार्थीहरुले कसरी सहि र सरल परामर्श पाउन सक्छन् भन्ने विषयमा इक्यान अगाडि बढ्नुपर्छ ।

० इक्यानको अबको नयाँ नेतृत्व कस्तो हुनुपर्छ ? –  कन्सलटेन्सी पेशा र व्यवसायलाई राम्रोसँग बुझेको व्यक्ति नै इक्यानको अबको नयाँ नेतृत्वमा आउनुपर्छ । पेशा व्यवसाय बुझेका व्यक्तिहरु नै यस क्षेत्रमा लाग्नु भएको होला र इक्यानको सदस्यता पनि लिनु भएको होला । उहाँहरु नै नेतृत्वमा आउनु हुने हो । हिजोका दिनहरुमा इक्यानमा जुन घटना परिघटना देखिए, त्यो चाहिं अब दोहोरिनु हुँदैन । यो व्यवसायलाई उद्योगको रुपमा स्थापित गर्न सक्छु भन्ने हिम्मत भएको व्यक्ति, इक्यानलाई अन्तर्राष्ट्रिय स्तरको संस्थाको रुपमा विकसित गर्न सक्ने, पेशा व्यवसायलाई मर्यादित बनाउन सक्ने, व्यापारलाई प्रवद्र्धन गर्ने खालको ठोस योजना दिन सक्ने संघ संस्थाका प्रतिनिधि मात्र इक्यानको नेतृत्वमा आउन जरुरी छ । यहाँ नेपाली कांग्रेस, एमाले, माओवादी तथा अन्य दल तथा बहुमत र अल्पमतको कुरा होइन कि यो पेशा र व्यवसायलाई नै आफ्नो भविश्य बनाएर अगाडि बढेको जुनसुकै व्यक्ति आए पनि फरक पर्दैन । अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यमा यो पेशालाई अझ मर्यादित र व्यवस्थित बनाउन सक्ने व्यक्ति नै इक्यानको अबको नेतृत्वमा आउनु पर्छ ।

० प्रसंग बदलौं, तपाई रोयलसँगसँगै अन्य चारवटा संस्थाको जिम्मेवार पदमा बसेर काम गर्दै आउनु भएको छ, कसरी मिलाउनु हुन्छ समय ? – यो भनेको सोचको कुरा हो । मैले यो काम गर्नैपर्छ भनेर सोच्ने हो भने त्यसलाई मिलाउन मलाई चाहिं गाह्रो हुँदैन । समय मिलाउन धेरै गाह्रो हुन्छ, तर मैले आजसम्म मिलाएरै अगाडि बढिरहेको छु । मानिसहरु प्रायः राति सपना देख्ने गर्छन्, तर म दिउसो  सपना देख्छु । योजनाहरु बनाउँदै अगाडि बढिरहेको छु ।

० विनाशकारी भूकम्प र नाकाबन्दीले यस क्षेत्रलाई कत्तिको असर गरेको छ ? – भूकम्प र नाकाबन्दीले यो क्षेत्रलाई मात्र होइन, हरेक क्षेत्रमा असर पारेको छ । धेरै भन्दा धेरै व्यक्तिहरु पीडामा छट्पटाइरहेका छन् । झट्ट हेर्दा फाइदा र नाफा एकातिर होला तर, विद्यार्थी र अभिभावकहरुले पाएको पीडाले कहिलेकाँही मलाई पनि धेरै चिन्तित बनाएको छ । समग्र देशको अर्थतन्त्र नै खच्किएको अहिलेको अवस्था हेर्दा राज्यको संयन्त्रलाई ठिक तरिकाले अगाडि बढाउने हो भने हामी पाँच वर्ष पछाडि धकेलिएका छौं । नेपालमा अवसरहरु धेरै छन् भन्ने कुरा विदेशीहरुमा थियो । तर, अहिले अबसरसँगसँगै चुनौती पनि थपिएको प्रष्ट भइसकेको छ ।

० धेरै वर्ष देखि शिक्षा क्षेत्रमा विताउनु भएको छ, यस क्षेत्रमा आवद्ध र आउन चाहने व्यवसायीहरुलाई के भन्नुहुन्छ ? – यो क्षेत्रमा सबैभन्दा ठूलो कुरा भनेको सन्तुष्टि नै हो । कलेज भित्र जाँदा एउटा विद्यार्थीले गरेको सम्मानलाई नै हामीले सन्तुष्टिको रुपमा लिन सक्नुपर्छ । पेशा व्यवसाय गरेपछि पैसा पनि कमाउनु पर्छ । र, सबै कुरालाई पैसामा दाँज्नु चाहिं उपर्युक्त होइन । धैर्यता नभएको व्यक्ति यो पेशामा लाग्नु उचित होइन । यो पेशामा लाग्न प्यासेन्स, डिटरमाइन्ड र डेडिकेशन हुनु जरुरी छ । नाफामात्रै हेर्ने हो भने अन्य व्यवसाय नै गर्नुपर्छ । कसैको भविश्य निर्माण गरेर (शिक्षा दिएर)  आफ्नो पेशा व्यवसाय चलिरहन्छ र आफूलाई पनि सन्तुटि हुन्छ भने यो भन्दा उत्तम पेशा म अरु कुनै पनि देख्दिन ।

Comments

Top