आवश्यकता राजनेता र राजनीतिक संस्कारको

surajसुरज खनाल/ मुलुक अहिले निकै ठूलो संक्रमणबाट गुज्रिरहेको छ । अन्य मुलुकहरु आर्थिक समृद्धितर्फ अग्रसर भईरहदा हामी आन्तरीक कलहमै रुमल्लिएका छौ । समृद्धि, बिकास र सुशासन जस्ता महत्वपूर्ण मुद्दाहरुलाई थाती राखेर हामी आपसमा लडिरहेका छौ । प्रयाप्त स्रोत, साधन र सम्भावना हुदा–हुदै हाम्रो सामान्य दैनिकी पनि बढो कठिन भएको छ ।

  विविध कारणहरुले उद्योग कल–कारखानाहरु बन्द भईरहेका छन् । रोजगारीको अभाव र सुनौलो भविष्यको खोजीमा लाखौ युवा पलायन भएका छन् । कुशासन र भ्रष्टाचारमा बढोत्तरी भएको छ । यिनै परीवेशहरुलाई आधार मानेर हेर्ने हो भने नेपाल असफल राष्ट्र बन्ने तरखरमा छ । यस्तो अवस्था सृजना हुनुको प्रमुख कारण हो कुसल नेतृत्वको अभाव ।

 राजनेताको अभाव ।कुनै पनि मुलुक समृद्ध हुनका लागि राजनेताको आवश्यक्ता हुन्छ । एउटा यस्तो नेता जो मुलुकको हितका लागि मात्र अग्रसर होस । व्यक्तिगत र दलगत स्वार्थबाट माथि उठेर राष्ट्रिय स्वार्थ मात्र सोच्ने राजनेताको अभावमा नेपालले समृद्धिको बाटो पहिल्याउन सकेको छैन् । नीति र सिद्धान्तलाई दृढ भएर कार्यान्वयन गराउने क्षमता बोकेका नेता मुलुकमा नहुनु नै सबैभन्दा ठुलो बिडम्बना हो । वर्तमान परिप्रेक्षलाई केलाएर हेर्ने हो भने नगण्य बाहेक प्राय सबै राजनीतिक दलका नेताहरु दलको मात्र नेता बनेका छन् ।

अझ भन्नुपर्दा दलभित्र पनि एउटा गुटको नेता, उपगुटको नेता । जो आफ्नो दल, कार्यकर्ता, आफन्त, आसेपासे र व्यक्तिगत हितलाई पहिलो प्राथमिकतामा राख्छन । त्यसपछि मात्र पालो आउछ देशको, आम जनताको । राजनेताको अभावमा राजनीतिक (नकरात्मक) ध्रुवीकरण पनि बढिरहेको छ । राजानीतिक दलहरुलाई सन्तुलित बनाईराख्न राजनीतिक ध्रुविकरण आवश्यक हुन्छ । दलहरुविचको सैधान्तिक ध्रुविकरणले उनीहरुलाई जनहितमा लाग्न उत्प्रेरित गर्छ । राष्ट्रहितका लागि भएको ध्रुवीकरणले शक्तिलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्दछ, जसका कारण शक्तिको दुरुपयोग हुने सम्भावना घट्दछ । तर, नेपाली राजनीतिमा यसो भएको पाईदैन । राजनीतिक ध्रुविकरण नेपालको सधैको समस्या हो ।

  गलत राजनीतीक ध्रुवीकरणका कारण नै मुलुक जर्जर अवस्थामा पुगेको हो । राष्ट्रिय हितका लागि भन्दा दल वा व्यक्तिगत हितका लागि ध्रुवीकरण हुनु नेपालका लागि दुर्भाग्यपुर्ण हो । यसलाई ध्रुवीकरणभन्दा पनि दलगत स्वार्थपुर्ती हुन नसक्दा देखिएको द्वेषपुर्ण व्यवहारको रुपमा हेर्नु उपयूक्त होला ।

  यसले नकरात्मक राजनीतिक संस्कार बिकाश गरीरहेको छ । जुन मुलुकको राजनीतिक संस्कार नै नकरात्मक हुन्छ, त्यो मलुकको समृद्धि पनि नकरात्मक दिशातर्फ नै उन्मुख हुन्छ । मुलुकको अहिलेको प्रमुख आवश्यक्ता भनेकै सकरात्मक राजनीतिक संस्कार हो । एकले अर्काे दलको अस्तित्व र औचित्य स्विकार गर्न नसक्नु वा नचाहनुले सकरात्मक राजनीतिक संस्कारको बिकाशमा अवरोध सृजना गरीरहेको छ । जनता र मुलुकलाई केन्द्रमा राखेर अघि बढ्ने राजनीतिक संस्कार अझै बिकाश हुन सकेको छैन । सबै राजनीतिक दलको सिद्धान्तको सार मुलुकको हित गर्ने नै हो ।

 सार एउटै भएपनि कार्यशैली फरक छ । हुनुपर्छ पनि । त्यसो भन्दैमा फरक कार्यशैली भएका दलहरु एउटा साझा मुद्दाको लागि एक ठा“उमा उभिन हुदैन भन्ने होईन । मुलुकको हितका लागि कार्यगत एकता गर्न सक्नुपर्छ । अनिमात्र हामीले वर्षाैदेखी कल्पना गर्दै आएको समृद्ध नेपाल बन्छ ।

Comments

Top