सुरक्षाका कारण आक्रमणकारीको पहिचान खुलाएइन

parisaवासिङटन । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएको आतङ्ककारी हमलामा इस्लामिक अतिवादी समूह आईएसले आक्रमण गरेको भन्ने सूचनामा कुनै विरोधाभास नदेखिएको पाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले शनिबार जनाएअनुसार सो सूचनामा कुनै विरोधाभास नदेखिएको हो ।

  अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को समूहले गरेको अनुगमनबाट यो अवस्था देखिएको बताइएको हो । सो समूहले गरेको मूल्याङ्कन र अनुगमनबाट उक्त आईएस समूहले नै आक्रमण गरेको हुनसक्ने प्रमाणहरु भेटिएका हुन् । शुक्रबारको सो आक्रमणमा उक्त अतिवादी समूहको हात रहेको जानकारी फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले नै सार्वजनिक गर्नुभएको हो । शुक्रबार भएका शङ्खलाबद्ध यी आतङ्ककारी हमलाहरुमा परी कम्तीमा पनि १२९ जनाको ज्यान गइसकेको छ भने अरु ३५२ जना घाइते भएका छन् ।

  घाइतेहरुमा पनि करिब ८० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । ह्वाइट हाउसले शनिबार एक विज्ञप्ति प्रकाशन गरी त्यस विषयमा यो धारणा सार्वजनिक गरेको हो । विदेशी भूमिबाट आएका सात जनाको सो आक्रमणमा प्रत्यक्ष संलग्नता देखिएको फ्रान्सेली सुरक्षा निकायले पनि जनाएका छन् । यसबारेमा फ्रान्सेली सुरक्षा निकायले इस्लामिक लडाकूको संलग्नताका प्रमाणहरु भेटेको जनाएको छ । फ्रान्सेली सुरक्षा निकायले आक्रमणमा संलग्न छ जना मारिएको पनि जनाएको छ ।  आक्रमणमा संलग्न एकजनाको साथबाट सिरियाली पासपोर्ट पनि भेटिएको जनाइएको छ । तर सुरक्षाका हिसाबले उसको पहिचान भने खुलाइएको छैन । रासस

Comments

Top