एजुकेशन कन्सलटेन्सी : कति सत्य कति भ्रम

नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) को १९ औं दिवस भर्खरै सकिएको छ । पछिल्लो समय एजुकेशन कन्सलटेन्सी व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकै समयमा इक्यान दिवसको कार्यक्रम निर्क चर्चाको विषय बन्यो । पछिल्लो कन्सलटेन्सी मुद्दाका सरोकारवालहरुको उपस्थितिले पनि ‘इक्यान डे’ को सान्दर्भिकता बढेको थियो । बाहिरी संसार र मिडीयाले कन्सलटेन्सी व्यवसायीलाई हेर्ने परम्परागत नजरियालाई इक्यान नेतृत्व तहले चिर्न सफल भएको छ । खासगरी महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको इक्यानका साथीहरुसँग मिलेर यस क्षेत्रको विकृती र अपराध घटाउने भन्ने भनाई केही हदसम्म इक्यानको पक्षमै छ ।sesh sir final यथार्थ के हो त ? एजुकेशन कन्सलटेन्सी परिपक्क र व्यवस्थित बनिनसकेको व्यवसाय हो । संसारमा ‘एजेन्सी’ कर्मलाई जति सम्मानित ढंगबाट बुझिन्छ, त्यसको ठिक उल्टो नेपालमा एजेन्ट पेशा गर्नु अपराध गर्नु सो सरह नै छ, चाहे त्यो शिक्षा नै किन नहोस् । सामाजिक चेतनाको स्तरले यो दृष्टिकोण बनेको हो भने यो पेशामा आवद्ध व्यवसायीहरुको असक्षमता र अव्यवसायीक उपस्थिति अर्को कारक हो । फास्ट ट्य्राकबाट पैसा कमाउने पेशा भनेर यसमा सयौं व्यक्ति प्रवेश गरेका छन् र त्यस्तो नपाएपछि गलत प्रवृत्तिमा संलग्न भएको देखिन्छ । भर्खरै नेपाल प्रहरीले नियन्त्रणमा लिएका केही कन्सलटेन्सीबाट शिक्षा मन्त्रालयको छाप भेटिनुले समेत यसको पुष्टि गर्दछ । यस्ता केही गल्ति र कमीकमजोरीबाट समग्र कन्सलटेन्सी व्यवसायी बद्नाम बनेका छन् भने राम्रा व्यवसायीक कन्सलटेन्सीहरु भने ओझेलमा परेका छन् । यसका बाबजुत आज हजारौं नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा संलग्न गराउन कन्सलटेन्सी व्यवसायी सफल भएका छन् । समग्र राष्ट्रको आर्थिक विकासमा आज रेमिट्यान्सको भूमिका ठूलो छ र यसमा विदेशमा पढ्न गएका विद्यार्थीहरुको भूमिकालाई नकार्न सकिंदैन । नेपालमा शिक्षाको परम्परागत शैली र जीवन उपयोगी शिक्षाको कमीले विद्यार्थी विदेशमा उच्च शिक्षा लिन बाध्य छन् । नेपाली विद्यार्थीको उचाई र क्षमताका कतिपय उदाहरण हाम्रो सामु छन् । तर सिक्काको अर्को पाटो पनि छ, कन्सलटेन्सी व्यवसायीहरुको गलत परामर्शले विद्यार्थीहरु नराम्ररी ठगिएका छन् र कतिपय विद्यार्थीको भविश्यमा नै खेलवाड गर्ने कृत्य गरिरहेका छन् । १९ वर्ष अघि इक्यानको गठन भएपछि यस क्षेत्रमा केही सुधारका संकेतहरु देखा परेका छन् । इक्यान नेतृत्वले स्थापनाकाल देखि नै यस क्षेत्रका विकृति र विसंगतिलाई घटाउने पहल पनि नगरेको होइन । तर, एउटा व्यवसायिक हक हितका लागि खोलिएको छाता संगठनको दायरा कति सम्म ? यो यक्ष प्रश्न सधै खडा हुने गरेको छ । यसका बाबजुद इक्यनले आफ्ना व्यवसायीहरुको व्यवासायीक चुनौतिमा सदैव अडान लिएको देखिन्छ । कन्सलटेन्सी पेशालाई मर्यादित बनाउन आचार संहिता लागु गर्ने, शिक्षा मन्त्रालय मातहतमा रहेर निर्देशिका कार्यान्वयनका लागि सदैव सरोकारवालालाई झकझकाउने काम इक्यानले गरेको छ । राम्रा र व्यवसायीक कन्सलटेन्सीहरुको कामले समाज र राष्ट्रमै योगदान छ । विस्तारै समग्र समाज विकासको सुचकमा कन्सलटेन्सीको भूमिका न्यून भएपनि बढ्दै छ । इक्यानमा आवद्ध लगभग ३ सय एजुकेशन कन्सलटेन्सी सबै राम्रा छैनन् । तालिम, अभिमुखीकरण र यस क्षेत्रको दायरा कति भन्ने ज्ञानको कमिले यो क्षेत्र समष्टिगत रुपमा व्यवस्थित बनिसकेको छैन । प्रयासको थालनी भएपनि अझ यस क्षेत्रमा इक्यानले गर्नुपर्ने कुराहरु प्रशस्त छन् । कहाँ चुकेको छ इक्यान ? समग्र कन्सलटेन्सी क्षेत्रमा सुधार र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने इक्यान कार्यसमिति कतिपय अवस्थामा चुकेको पनि छ । खासगरी शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श सम्बन्धित निर्देशिका कार्यान्वयनमा इक्यानको अग्रता देखिएन । जब की यो सम्पूर्ण निर्देशिका कार्यान्वयनका लागि वर्तमान अध्यक्ष राजेन्द बरालको ठूलो योगदान छ । यो यथार्थतालाई स्थापित गराउन इक्यानले पहल गर्नुपर्छ । तर बृहत्तर रुपमा इक्यानको कार्यसमितिले कतिपय सरोकार राख्ने मुद्दामा ‘लविङ’ गर्न सकेको छैन । खासगरी विदेश अध्ययनमा प्रत्यक्ष सरोकार राख्ने महावाणिज्यदूत, राजदूतावास, कुटनीतिक नियोगमा इक्यान सदस्यको छवि अझै नकरात्मक जस्तो देखिन्छ । इक्यानको नकारात्मक प्रोपोगाण्डाबाट फाइदा लिन केही स्वार्थ समूहहरुले अभिष्ट पुरागरे पनि इक्यानले यसलाई पारदर्शी ढंगबाट बुझाउन सकेको छैन । त्यसैगरी राष्ट्रवादको नारा बोकेर ‘मानव तस्कर’ को आरोप लगाउने कतिपय राजनीतिक दलका नेता लगायत मिडियालाई स्पष्ट रुपमा इक्यानले जवाफ दिन सकेको छैन । जुन देशमा लगभग ३० प्रतिशत जिडीपी रेमिट्यन्सले धानेको छ र असफल राष्ट्रबाट हुन जोगाएको छ, जुन देशमा अवसर नपाएका शेष घले, उपेन्द्र महतो जन्माउन योगदान गर्ने कन्सलटेन्सीहरु त स्वावासीका पात्रहरु हुन् । हो, जुन दिन यो राष्ट्रमा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि एउटा शैक्षिक हब बन्ने अवस्था रहन्छ, त्यसदिन इक्यानका सबै सदस्य अन्तर्राष्ट्रिय विद्यार्थी नेपालमा ल्याउन पहल गर्छन भन्ने ल्याकत इक्यानले राख्नुपर्दछ । आज इक्यान कार्यमितिका धेरै सदस्यको जोडदार उपस्थिति चुनावी तयारीमा देखिन्छ । कतिपय कन्सलटेन्सी व्यवसायका मर्म र सोचलाई नबुझेकाहरु इक्यान कार्यसमीतिमा पुग्न हतारिएको देखिन्छ । अझ राजनीतिक पार्टीको कलरको आधारमा इक्यान चुनावमा प्रस्तुत हुने तयारीले यो क्षेत्रलाई धरासायी बनाउन सक्छ । राम्रा र व्यवसायिक छविका व्यक्तित्वहरु छनौट आगामी चुनावमा इक्यानमा आवद्ध सदस्यहरुको चुनौति हो । अर्को चुनौति हो इक्यान बाहिरका व्यवसायहीहरु । इक्यान वाहेक आइरिन, फेकन जस्ता संस्थासँग वार्ताको थालनी गर्न जरुरी छ । एउटै उद्देश्यका साथ खोलिएका कन्सलटेन्सीहरु टुक्रा–टुक्रा हुनु यो क्षेत्रकै दुर्भाग्य हो । ‘हामी राम्रो अरु नराम्रो’ भन्ने होडमा हामी सबैले आफ्नै धोति फुस्काउँदै छौं । कन्सलटेन्सी व्यवसायले एउटा समग्र उद्योगको आकार ग्रहण नगरेको यो अवस्थामा हामीले फुटेर होइन जुटेर अघि बढ्नुपर्छ र ‘ठूल्दाई’ को हैसियतमा इक्यानले एकीकरणको वार्ताको थालनी गर्नुपर्छ । यसका बाबजुद इक्यानका कतिपय कामहरु तारिफयोग्य छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत इक्यानले मन खोलेर समाज र राष्ट्र संकटका बेला अगाडि सरेको छ । पछिल्लो समयमा म आफै संलग्न इक्यान र आईडिपी इण्डिया भेटघाट यो क्षेत्रकै एउटा कोशेढुंगा सावित हुने तरखरमा छ । त्यसैगरी दिल्ली स्थित अष्ट्रेलियन हाइ कमिसनमा इक्यान कार्यसमितिको प्रस्तुतीले केही हदसम्म इक्यानको छवि सुधार्न सहयोग पुगेको छ । पछिल्लो समय इक्यान अध्यक्ष राजेन्द्र बरालको संयोजकत्वमा एभिन्यूज टेलिभिजनसँगको सम्झौता र त्यस टेलिभिजनमा संघीयतामा नेपाली शिक्षाको अवस्थाबारे बहसको थालनी एउटा नौलो र सुन्दर प्रयास हो । पोखरा र चितवनमा इक्यानको गौरवमय उपस्थिति, नीति तर्जुमा र राजनिितक दलहरु, प्रहरी प्रशासनमा ‘लविङ क्षमता’ इक्यानका पछिल्लो ‘वेष्ट सेलिङ पोइन्टहरु’ हुन् । (लेखक अर्विट इन्टरनेशनल एजुकेशनका सिइओ हुनुहुन्छ ।)

Comments

Top