नेपाल हङकङसँग ८३ रानले पराजित

काठमाडौं  :
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ । जित्नै पर्ने खेलमा ८३ रनले पराजित भएपछि नेपाल घटुवातर्फ जाने संकेत देखिएको छ । शुक्रबार हङकङस्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा भएको खेलमा नेपाल पराजित भएको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अन्तिम बलमा हङकङलाई अल आउट गरेको थियो ।
हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । हङकङको तर्फबाट जेमी एट्किन्सनले सर्वाधिक ७६ रन बनाए भने नेपालको तर्फबाट सन्दीप लामिछानेले ३ विकेट लिए । नेपाल ३४.५ ओभरमा अल आउट भएको थियो । उसले जम्मा १ सय ११ रन मात्रै बनाउन सक्यो । नेपालको तर्फबाट कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए । हङकङका लागि एहेसान खानले ५ विकेट लिए । नेपालले हङकङ विरुद्ध दोस्रो खेल आइतबार खेल्ने छ भने डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ ।
शीर्ष चारमा रहन नेपालले बाँकी सबै खेल जितेर पुग्दैन, हङकङ र केन्याले पनि सबै खेल हार्नुपर्छ । अन्यथा नेपाल डिभिजन टूमा घटुवा हुनेछ । यद्यपि विश्वकपमा छनोटको सम्भावना कायमै रहनेछ ।सन् २०१८ मा हुने डिभिजन टूका शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने छन् । नामिबिया र यूएई डिभिजन टूमा घटुवा भइसकेका छन् भने क्यानडा र ओमान डिभिजन ३ बाट टूमा उक्लिएका छन् । बाँकी दुई टोली टुंगिन बाँकी छ ।

Powered by Facebook Comments