logo

गोविन्द केसीको अनशनप्रति कांग्रेस नेता निधिको आपत्ती

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा.गोविन्द केसीको आन्दोलन र अनशनप्रति आपत्ती प्रकट गरेका छन् । डा.गोविन्द केसीको अनसनलाई निधिले नानीमैयाँ प्रवृत्ति भनेर व्यंग्य समेत गरेका छन् । निधिले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘अदालतको अवहेलना र अनशन दुवै फेसन हुन लागेको छ । नानीमैयाँ प्रवृत्तिको लोकप्रियता बुद्धिविलासका लागि त रमाइलै होला । तर, व्यवस्थापकीय एवं शासकीय उत्पादनका लागि कति बुद्धिमत्तापूर्ण हुन्छ खै ।’ पूर्व गृहमन्त्री समेत रहेका निधिले फेरि अर्को ट्वीटमा लेखेका छन्, ‘सरकार, संसद र अदालत तीन वटै (राज्यको अंग) मैले भनेअनुसार नै चल्नुपर्छ । आइ एम द स्टेट होइन र यो रु नानीमैयाँको पुलिंग अवतार र भक्तहरू ।’ निधिले पञ्चायतकालमा लहैलहैमा चुनाव जितेकी नानीमैयाँसँग तुलना गर्दै केसीको अनशन र उनलाई समर्थन गर्नेहरुप्रति आक्रोश व्यक्त गरेका हुन । नानीमैयाँ दाहालले २०३८ सालमा भएको राष्ट्रिय पञ्चायत चुनावमा काठमाडौंका दुई मध्ये १ सिटमा पञ्चालयका उम्मेदवारलाई पराजित गरेकी थिइन् । तत्कालीन मालेका युवा नेताले पञ्चायती चुनावको वहिस्कार गर्न पञ्चायतका उम्मेदवार विरुद्ध छाडा शव्द बोल्दै हिँड्ने र कसैलाई वास्ता नगर्ने नानीमैयाँलाई उम्मेदवार बन्न उचालेका थिए । नानीमैयाँले पञ्चायतका उम्मेदवार कमल चित्रकारलाई पराजित गरिदिएकी थिइन् ।

Comments

Top