किन बढ्दैछन् चितवनमा महिला लागुऔषध प्रयोगकर्ता ?

भरतपुर । महिलाहरूमा लागुपदार्थ दुव्र्यसनको समस्या विकराल बन्दै गए पनि सरकारले यसतर्फ ध्यान दिन सकेको देखिँदैन । सन् २००३ सम्म ३ हजारको हाराहारीमा महिला लागुऔषध प्रयोगकर्ता रहेको सर्वेक्षण पछि २०१३ मा आइपुग्दा त्यो बढेर ६ हजार ५ सयको हाराहारीमा पुगेको थियो । तर, त्यस यता कुनै पनि सर्वेक्षण नगरीएकाले महिला दुर्व्यसनीको यकिन तत्थ्यांक छैन । महिला लागुऔषध प्रयोगकर्ताको संख्या जालो जसरी फैलिएको यस क्षेत्रमा काम गर्नेहरूले निक्र्यौल गरेका छन् । सन् २०१२ मा नेपालका मुख्य शहरहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, सुनसरी र मोरङमा गरिएको सर्वेक्षणमा रहेका न्यून संख्याका लागुऔषध प्रयोगकर्ताको संख्या अहिले दोब्बरले नै बढेको दृष्टि नेपालकी अध्यक्ष करिना सुब्बा लिम्बुको दावी छ । भरतपुर महानगरपालिकामा शनिबार एकता नेपाल चितवनले आयोजना गरेको लागुऔषध दुर्व्यसनी महिलाको पुनस्र्थापन र दुर्व्यसन नियन्त्रणमा संस्थाको भूमिकाबारे अन्तरक्रियामा लिम्बुले समाजले नै महिलाका अन्य मुद्दालाई जस्तै दुर्व्यसनलाई पनि ओझेलमा पार्दा समस्या झन् बढेको बताइन् । महिलाले मदिरा, चुरोट लागुऔषध छुन समेत पाप सोच्ने समाजमा नजानिँदो किसिमले दुरुपयोग मौलाउँदा पनि नजरअन्दाज गरेर इज्जत जोगाउन खोज्नु नै परिवारको कमजोरी भएको उनले बताइन् । पारिवारिक समस्या, सम्बन्ध विच्छेद, साथीसंगतको देखासिकी र तनावका कारण पनि दुर्व्यसनमा फस्ने महिलाको संख्या बढ्दै गएको उनको ठम्याई छ । नेपालभर महिला लागुऔषध दुर्व्यसनीको उपचारका लागि १० वटा पुनस्र्थापन गृह सञ्चालनमा रहेका छन् । एकता नेपाल चितवनको एकमात्र महिला पुनस्र्थापन गृहका रुपमा रहेको छ । स्थापनाको दश वर्षमा एकता नेपालले चितवनमा मात्रै ५ सय ५० जनालाई पहुँचमा आएकालाई मात्र उपचार सम्भव रहेपनि अझै थुप्रै लागुऔषध दुरुपयोगी महिला समाजमा रहेको एकता नेपाल चितवनकी अध्यक्ष शान्ता घलेले बताएकी छिन् । १४ वर्षका किशोरीदेखि ४२ वर्षसम्मका महिला दुर्व्यसनीको संख्या निकै रहेको उनको दावी छ । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले लागुऔषधको दुर्व्यसनीले युवाहरूलाई नोक्सानी गर्दै आएको बताइन् । उनले भनिन्, ‘लागुऔषध दुर्व्यसनीबाट युवापुस्तालाई बचाउनुपर्ने दायित्व र चुनौती छ । त्यसलाई रोक्न लाग्नुपर्छ ।’ अन्तरक्रियामा एकता नेपालको सम्पर्कमा आएर पुनर्जीवन पाएका पूर्वलागुऔषध प्रयोगकर्ताले आफ्नो अनुभव सुनाए । लागुऔषध प्रयोगकर्ताका रुपमा उपचारका लागि केन्द्रमा आइपुगेकी विष्णु सिलवाल अहिले आफ्नो परिवारमा खुशीसाथ रहेकी छिन् । केन्द्रमा रहँदै गर्दा उनको विवाह समेत गराइदिएर परिवारको सुःख दिएको भन्दै सिलवालले शान्ता घलेलाई धन्यवाद दिइन् । उनका दुई सन्तान रहेका छन् । यस्तै अनुभव विन्दु कार्कीले सुनाइन् । तर, संस्थामा आएर पुनर्जीवन प्राप्त गरेपनि फेरि समाजमा पुनःस्थापित हुन नसकेको उनको गुनासो छ । केन्द्रमा रहेर काम गरेपनि समाजले स्वीकार नै नगर्दा केन्द्र छाडेर परिवारमा जान समेत नसकेको अवस्था पीडादायी रहेको कार्कीले बताइन् । दुर्व्यसनका कारण पढाइ छुटेकाले अब पुनःस्थापित हुँदै गर्दा रोजगारका लागि सिपमुलक तालिम, स्वरोजगारका लागि सहयोग आवश्यक पर्ने भन्दै उनले ध्यानाकर्षण समेत गराइन् । समाजमा महिला लागुऔषध दुरुप्रयोगकर्ताहरू जीवनमा फर्कन चाहँदा सहज वातावरण नरहेकाले यसतर्फ ध्यान दिनुपर्ने आफूजस्ता थुपै्रको आग्रह रहेको कार्कीले बताइन् । कार्यक्रमका वक्ता विनय खकुरेलले महिलामा हुने लागुऔषध समस्याको निवारणका लागि समाजले नै सचेत भएर ध्यान दिनुपर्ने बताए । ‘राज्यले लागुऔषध नियन्त्रण गर्न पहलहरू गरिरहेको छ’, खकुरेलले भने, ‘तपाई हामीबाटै लागुऔषध नियन्त्रण गर्न लाग्नुपर्छ ।’ कार्यक्रमको संयोजक युवा समाजसेवी सुरेश जोशीले गरेका थिए । उनले भने, ‘यो संस्थासँग मेरो कुनै संलग्नता छैन । तर, लागुऔषध दुर्व्यसनीबाट कसैलाई बचाउन सकिन्छ भने मेरो पनि भूमिका रहन्छ । त्यसैका लागि मैले कार्यक्रम आयोजना गर्न संयोजन गरेको हुँ ।’

Comments

Top