logo

नेइमार आउने चर्चा चल्दा रियल छाड्न खोज्दै रोनाल्डो

काठमाडौं : बार्सिलोना छाडेर पिएसजी गएका ब्राजिलियन स्ट्राइकर नेइमार रियल मड्रिड आउने चर्चा चलिरहँदा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो भने रियल मड्रिड छाड्न तयार रहेको खबरले यतिबेला बजार तातेको छ । बेलायती पत्रिका डेलीरेकर्डका अनुसार रोनाल्डोले रियल मड्रिडसँग आफूले क्लब छोड्न चाहेको र अरु क्लबमा जानका लागि आफ्नो मूल्य एक सय मिलियन युरो तोक्न आग्रह गरेकोसमेत जनाएको छ। रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) मध्ये एकमा जान इच्छा देखाएका छन्। उनले आवश्यक परेका खण्डमा दुई क्लबलाई आफ्नाबारेमा जानकारी दिनसमेत रियल मड्रिडलाई आग्रह गरेका छन्। एक बिलियन युरो रिलिज क्लबमा उनले सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौता गरेका थिए। रोनाल्डोका सहयोगी तथा एजेन्टले उनको अनुबन्ध मूल्य रिलिज क्लबको दश भागको एक भाग वा त्योभन्दा कम राख्न आग्रह गरेका छन्। पछिल्लो समय रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र रोनाल्डोको सम्बन्ध चिसिएकोसमेत पत्रिकाले दाबी गरेको छ। रोनाल्डोले बार्सिलोनाका लियोनल मेसी तथा पिएसजीका नेइमारभन्दा कम पारिश्रमिक पाउने गरेका छन्। त्यसैले उनले आफ्नो पारिश्रमिक बढाउन आग्रह गर्दा पनि क्लबले बढाएको छैन। यसअघि क्लबमा नेइमारलाई भित्र्याउने हल्ला चलेसँगै निराश भएका रोलान्डो आफू क्लब छोड्न तयार रहेको बताएका हुन्।

Comments

Top