logo

‘रअ’को नेपाल स्टेशनमा ठूलो उथलपुथल

काठमाडौं । नेपालमा वामपन्थीहरूको बर्चस्व बढेपछि छिमेकी राष्ट्र भारतले नेपालस्थित आफ्नो गुप्तचरी निकायमा ठूलो हेरफेर गरेको छ । नेपालको संविधान निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्न खोजेको भारतले आफू अनुकूलको निर्णयहरू गराउन नसकेको भनेर नेपालस्थित उसका निकायका प्रमुखहरूको आलोचना गर्दै आएको थियो ।

उच्च स्रोतका अनुसार भारतले लैनचौरस्थित राजदूतावासमा रहेको रिसर्च अफ एनलाइसिस वीङस् ‘रअ’का प्रमुखलाई हटाएको छ । चार वर्षका लागि नेपाल हेर्ने गरेर आएका ‘रअ’ प्रमुख विवेक जोहरी पुस २८ गते अर्थात जनावरी १२ मा स्वदेश फिर्ता हुँदैछन् ।

जोहरीको स्थानमा ‘रअ’को मुख्यालयले अभिजित हल्दरलाई पठाएको छ । स्रोतका अनुसार हल्दर पाँच दिन अघि नै नेपाल आइसकेका छन् । आफ्नो काममा दक्ष र कडक मानिने अभिजित हल्दरलाई भारतले ठूलो विश्वास गरेर पठाएको बुझिएको छ ।

जोहरीबाट भने अनुसारको काम हुन नसकेपछि दुई वर्ष कार्यकाल बाँकी रहँदै भारतले फिर्ता बोलाएको हो । त्यसैगरी भारतले भारतीय राजदूतावासका फस्ट सेक्रेटरी अर्थात पोल्टिकल चिफ गोपाल कृष्णन्लाई पनि फिर्ता बोलाएको छ ।

कृष्णन्को स्थानमा भारतको बिदेश मन्त्रालयले विप्रव पाण्डेलाई पठाएको छ । अब पाण्डेले राजदूतावासको सबै जिम्मेवारी लिने छन् ।
गोपाल कृष्णन्को कामबाट भारतले चित्त बुझाउन नसकेपनि ‘रअ’का प्रमुख विवेक जोहरीले भन्दा राम्रो काम गरेको मूल्यांकन गरेको स्रोतको भनाई छ । ‘पोल्टिकल चिफ कृष्णन्ले ‘रअ’ नेपाल स्टेसनका चिफ जोहरीले भन्दा राम्रो काम गरेका छन्’, स्रोतले दाबी गर्दै भन्यो–‘विवेक जोहरीले खासै काम गर्न सकेनन् ।

‘रअ’को मुख्यालय उनीसँग रिसाएको छ । त्यही भएर चार वर्ष कार्यकालका लागि आएका उनी दुई वर्ष अगाडि नै दिल्ली तानिएका छन् ।’
बंगाल घर भएका हल्दरले आउनेवित्तिकै आफ्नो गतिविधिलाई सक्रिय बनाएका छन् । हल्दरको काम वामपन्थीहरूको बढ्दो प्रभावलाई रोक्ने हुनेछ । त्यसैगरी आफ्नो मुलुकको सुरक्षालाई केन्द्रमा राखेर नेपालमा बसेर योजना बनाउने स्रोतको भनाई छ ।

घर फर्किन लागेका नेपालका ‘रअ’ प्रमुख जोहरीलाई कमाण्डिङ सम्हाल्न नसकेका कारण नेपालमा चीनको दबदवा बढेको, एमाले–माओवादी केन्द्रको बाम गठबन्धन बनेको, नेपाली कांग्रेस र माओवादीको गठबन्धन भत्किनबाट रोकन नसकेको, मधेस केन्द्रित दलहरूलाई राम्रोसँग परिचालन गर्न नसकेको, नेपालमा भारतविरोधी भावना बढाउन भूमिका खेलेको, केपी ओलीसँग पहिलाको सम्बन्ध विगारेको लगायतका आरोप लागेका छन् ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

Comments

Top