logo

सभापति देउवाले किन झपारे वरिष्ठ नेता पौडेललाई ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको छ । पार्टीको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति विघटन गरी विधानसम्मत ढंगले पुनर्गठनको माग गर्न महामन्त्री शशांक कोइरालासहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका पौडेललाई सभापति देउवाले उल्टै झपारेको बताइएको छ ।

पौडेलले सभापति देउवासमक्ष निर्वाचनको समिक्षा र राष्ट्रियसभा निर्वाचनको विषयमा छलफलका लागि तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन समेत माग गरेका छन् ।

संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिमा सभापति देउवाले विधानले तोकिएभन्दा बढी सदस्य राखेको भन्दै नेता पौडेलले असन्तुष्टि जनाउँदा उक्त समितिहरु ठूलो बन्नुमा पौडेल नै कारक रहेको बताएका थिए । देउवाले ‘तपाईंले यसलाई पनि राखिदे, अर्कोलाई पनि राखिदे भन्ने अनि मलाई ठूलो भयो भन्ने ?’ भन्दै पौडेललाई झपाएको बताईएको छ ।

राष्ट्रिय सभाको निर्वाचनबारे देउवाले पौडेल र कोइरालासहित पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई समेत छलफलका लागि बोलाएका थिए । पौडेलले केन्द्रीय कार्यसमिति बैठक बोलाउन आलटाल गरेको भन्दै देउवाप्रति असन्तुष्टी जनाएका थिए । बैठकमा राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि सामान्य छलफल भएको नेता निधिले बताए ।

Comments

Top