logo

सरकारको निर्णयविरुद्ध जनता : कतै कर्फ्यु, कतै बन्द

काठमाडौं । सरकारले बुधबार अस्थायी मुकाम तोकेलगत्तै सातै प्रदेशमा असन्तुष्टि चुलिएको छ । राजधानी माग गर्दै सुरु भएका आन्दोलनका कारण प्रदेश १, २, ५ र ७ का मुख्य सहर तनावग्रस्त छन् । प्रदर्शनकारीले राष्ट्रियसभा निर्वाचन प्रभावित पार्नेसम्मका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारले प्रदेशका अस्थायी मुकाम तोकेपछि त्यसको विरोधमा ठाउँठाउँमा प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा कतिपय स्थानमा प्रर्दशनकारी र प्रहरीबीच झडपसमेत भएको छ। सरकारले प्रतिपक्षी दलसँगको सहमतिमा प्रदेश मुकाम तोक्ने प्रयास गरे सहमति कायम हुन नसकेपछि बुधबार अस्थायी मुकाम तोकेको हो।

अस्थायी मुकामलाई प्रदेशसभाको दुई तिहाई मतले परिवर्तन गर्न सक्ने भए पनि आ–आफ्नो क्षेत्रमा मुकाम तोक्न दबाब दिँदै आएका स्थानीय भने सरकारको निर्णयप्रति आक्रोशित देखिएका छन्। मुकाम तोकिएका स्थानमा भने खुशीयाली मनाइएको छ।

सरकारले बुधबार अस्थायी मुकाम तोकेसँगै कतै कर्फ्यु लागेको छ भने कतै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन भएको छ । यता, डोटीमा प्रहरीसँंग झडप हुँदा १३ जना घाइते भएका छन् । प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकिएपछि डोटीमा आन्दोलन भड्किएको छ । बुधबार साँझदेखि आन्दोलनकारी उग्र बन्दै गएका छन्।

यसैक्रममा बिहीबार दिउँसो आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा ढुंगामुडा र आगजनीको प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार र लाठिचार्ज गरेको थियो । सोहीक्रममा आन्दोलनकारी पनि प्रतिकारमा उत्रिँदा आन्दोलनकारीको लाठी र ढुंगा लागेर ९ जना प्रहरी घाइते भएका छन्।

सरकारले ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा लगाएका छन् । पार्टीको झण्डा हटाएर कालोझण्डा लगाएका हुन ।

नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री भएको बेला दिपायल राजधानी नबनाएको आक्रोशमा कालोझण्डा राखेको आन्दोलनकारीले जनाएका छन् । यस्तै कार्यालय परिसरमै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र देउवापत्नि आरजुको पुतला बनाएर बजार परिक्रमा गर्दै दहन गरिएको छ । पहाडी सात जिल्लालाई उपेक्षित गर्दै प्रदेश ७ को अस्थायी राजधानी कैलाली तोकिएको एवं गणतन्त्र विरोधी पञ्चायती व्यवस्थाका अगुवालाई प्रदेश प्रमुख तोकिएको भन्दै डडेल्धुरामा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको थियो ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगन्ज नतोकिएको भन्दै बारा र पर्सामा बिहीबार दिनभरि नै बिरोध प्रदर्शन भयो। सरकारले बुधबार जनकपुरलाई अस्थायी राजधानी तोकिएपछि बारा र पर्सामा त्यसको बिरोधमा प्रर्दशन सुरु भएको हो।

वुधवार देखि अनिश्चितकालीन जिल्ला बन्द गरिएको दाङमा बिहीबार पनि यथावत रह्यो । प्रादेशिक राजधानी रूपन्देही घोषणा गरिएपछि आक्रोशित दंगालीले बिहीबार पनि जिल्ला ठप्प पारे । दिनभर जिल्लामा सवारी आवागमन ठप्प रह्यो ।

यता, प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि आक्रोशित धनकुटा जिल्लावासीले सरकारी कार्यालय, सवारीसाधन, बजारका पसलमा तोडफोड र आगजानी गर्दै प्रहरीसँग झडप गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगायो । यि स्थानहरुमा आज विहानै देखि पनि आन्दोलन भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

धनकुटामा निषेधाज्ञा जारी भएको छ। बिहीबार दिनभरी कर्फ्यू लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माइकिङ गरेर निषेधाज्ञा लगाएको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले कर्फ्यू हटाएर शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको बताए। निषेधाज्ञा जारी राख्ने वा हटाउने विषयमा राजनीतिक पार्टीका नेताहरुसँग शुक्रबार दिउँसो ११ बजे छलफल राखेको प्रजिअ उप्रेतीले बताए ।

प्रशासनले निषेधाज्ञा जारी गरेपछि स्थानीय बजारमा हिड्डुल गर्न दिएको छैन। हतियारधारी प्रहरीले सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरेका छन्। निषेधाज्ञाको कारण धनकुटाको बजार, यातायात, वित्तिय संस्था, शिक्षण संस्था बन्द रहेको छ। निषेधाज्ञा लागू भएको अवस्थामा ५ जनासम्मको समूहमा मात्र हिड्न र बजारमा किनमेल गर्न पाउने कानुनी व्यवस्था छ।

Comments

Top