देउवासँग भिड्दै प्रकाशमान

काठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्ने भएका छन् । तर कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल समूहका धेरै नेता विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद् छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ । समाचार अनुसार बन्द सूचीको प्राथमिकताका आधारमा सांसद् छनोट भएमा देउवाको पक्षमा ३७ र पौडेलको पक्षमा २२ सांसद् हुनेछन् ।

नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनको खेमाबाट महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष सीतादेवी यादव संसदीय दलको दाबेदार हुन् । संसदीय दलमा जित्ने अवस्था नभए महामन्त्री कोइराला उम्मेदवार नबन्ने मनस्थितिमा छन् । तर सिंह भने देउवाको प्रतिष्पर्धीका रुपमा आफूलाई उभ्याउनकै लागि भए पनि उम्मेदवार बन्ने सोचमा छन् ।

निर्वाचनअघि एमालेबाट कांग्रेस प्रवेश गरेका उद्योगपति विनोद चौधरी भने कतै पनि खुलेका छैनन् । कांग्रेसभित्र उनले कुन पक्ष लेलान् भनेर चासोका साथ हेरिएको खबर आजको नयाँ पत्रिकामा छ ।

Comments

Top